भर्खरै :

भक्तपुरको बिस्केट जात्रा आजबाट सुरु हुँदैः जात्रा शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

भक्तपुर, २८ चैत्र । आजबाट सुरु हुने बिस्केट जात्रा शान्तिपूर्ण तरिकाले मनाऔं भन्ने सन्देश दिँदै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले विहान ‘बिस्केट जात्रा सद्भाव र्‍याली’को आयोजना गरेको छ । विशेषतः हरेक वर्ष नयाँ वर्षको सुभारम्भसंगै भक्तपुरमा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालयले सद्भाव र्‍यालीको आयोजना गरेको हो ।
र्‍यालीलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले ‘पूर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति’ भन्ने नाराकै भावना अनुरुप भक्तपुरलाई सफा, स्वच्छ, कला, संस्कृतिको धनी र शिक्षाको केन्द्रको रुपमा विकास गर्ने उद्देश्य भक्तपुरका जनताहरुको रहेको बताउनुभयो । उहाँले भक्तपुरको बिस्केट जात्रा नेपालमा मात्र नभई विश्वमै प्रख्यात रहेको उल्लेख गर्नुहुँदै बिस्केट जात्रालाई शान्तिपूर्ण बनाउन सम्पूर्णमा आग्रह गर्नुभयो । २०४६ सालमा प्राप्त प्रजातन्त्रपछि, २०५४ सालको भक्तपुर महोत्सव र ०६२/६३ सालको प्रतिगमनविरोधी आन्दोलनपछिको बिस्केट जात्रा ऐतिहासिक रुपमै शान्तिपूर्ण रहेको स्मरण गर्दै यस पटकको जात्रालाई पनि शान्तिपूर्ण बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । सांसद सुवालले बिस्केट जात्रासंगै आसन्न स्थानिय तहको निर्वाचन पनि शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
सद्भाव र्‍यालीमा सांसद रामेश्वर ढुंगेल, केदार संजेल, प्रजिअ द्रोण पोखरेल र उद्योग वाणिज्य संघका के.पी. अवालले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
भक्तपुरको नगर परिक्रमा गरेको सद्भाव र्‍यालीमा भक्तपुरका सरकारी, गैरसरकारी, सहकारी तथा सामाजिक संघ संस्थाहरुले पनि सहभागीता जनाएका थिए ।
जात्रा शान्तिपूर्ण बनाउन आज दिउँसो ३ः०० बजेबाट भैरवको रथ तानी जात्रा सुरु गर्ने तयारी रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभएको छ ।









Leave a Reply

Your email address will not be published. Required fields are marked *