भर्खरै :

सहिद ढोकामा त्रिभुवनको मूर्ति !

राजेश जोशी, भक्तपुर
अपठित व्यक्तिको मूर्खतालाई धेरैले सामान्य र सहजरूपमा लिन्छन् । तर, पठित व्यक्तिको मूर्खतालाई असामान्य र असहज ठान्दछन् । व्यवहारमा यस्ता थुप्रै घटना र स्थितिसँग हामी सहिद दिवसको सेरोफेरोमा सहिदको ढोकामा त्रिभुवनको सालिकलाई लिएर पठितहरूमात्र होइन पूर्वमन्त्री र प्रधानमन्त्रीहरूको मूर्खता पनि नबिराई प्रदर्शन हुने गरेको छ ।
गएको माघ १५ गते पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एक दैनिक पत्रिकामा त्यो विषय कोट्याएका छन् । सहिद ढोकामा अमर चार सहिदभन्दा माथि अर्थात् शीर्षस्थानमा त्रिभुवनको मूर्ति राखिनु युक्तिसङ्गत नभएको र सहिद स्मारक सहिदकै मात्र हुनुपर्छ कुनै राजा, महाराजा, नेता वा शासकको होइन भन्ने उनको जिकिर छ । तर, त्रिभुवनको मूर्ति झिक्ने वा सार्ने कसले ?
पूर्वप्रम भट्टराईमात्र होइन एमाले र माओवादीका थुपै्र नेता, पूर्वमन्त्री र केही पूर्वप्रमहरूले पनि त्रिभुवनको मूर्ति राखिनुहुन्न भनिसकेका छन् । तर, विडम्बना ! २०४७ सालदेखि मात्र होइन गणतन्त्र लागू भइसक्दा पनि त्यो यथावत छ ।
आफू सत्तामा हुँदा गर्नुपर्ने र गर्नैपर्ने काम नगरी पदमुक्त भइसकेपछि ‘उपदेश’ दिने पूर्वमन्त्री र पूर्वप्रमहरू अरू पनि धेरै छन् । पछिल्लो पटक डा. भट्टराई देखापरेका छन् ।
ती ‘उपदेशक’ टोपल्नेहरूले कतै हामी सत्तामा छँदा गर्नसकेनौँ, लौ जनता जनार्दन !  तपार्इँहरू आफैले त्यो ‘युक्तिसङ्गत’ नभएकोलाई ‘युक्तिसङ्गत’ बनाउनुस् भनी आह्वान गरेका वा उक्साएका त होइनन् ? जालीफटाहाहरूले आफू मरेपछि पनि मुखमा घोचो राख्न लगाएर जनतालाई दुःख दिएको कथा धेरैले पढेका छन् भन्ने तथ्य पूर्वमन्त्री र पूर्वप्रमहरूले हेक्का नराखेजस्तो छ । त्यसैले अब आइन्दा सहिद ढोकाको त्रिभुवनको सालिकबारे कुनै पनि पूर्वमन्त्री र पूर्वप्रमहरूको भनाइ कोट्याएर आफ्नो मूर्खता र नालायकी प्रदर्शन नगरून् भन्ने सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *