मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
– नम्रता श्रेष्ठ
विश्वव्यापी कोरोना भाइरस महामारीको कारण अन्य धेरै देशझैँ नेपाल पनि यतिबेला बन्दाबन्दीमा छ । नेपाली समाज पनि नितान्त फरक तथा नयाँ अनुभव हासिल गर्दै छ । यो असहजता, सन्त्रास र कठिनाइबीच समयको सही उपयोग र रचनात्मकतामा जोड दिनुपर्ने आवश्यकतातर्फ संवेदनशील समुदायले ध्यानाकर्षण गराउँदै छ । विशेषगरी यतिखेर बालबालिका र नवजवानहरूलाई के काम–कुरामा व्यस्त राख्ने र सिकाइ प्रक्रिया कसरी चालू राख्ने भन्नेबारे चिन्ता र चासो व्यक्त गरिएको पाइन्छ । केही नयाँ उपाय तथा अभ्यासको थालनीसमेत हुँदै छ । यो सकारात्मक पक्ष हो । समाजका नयाँ पुस्तालाई अहिलेको फुर्सदको समयमा शिक्षित–दीक्षित बनाउने, ज्ञानको दायरा फराकिलो पार्न अभिप्रेरित गर्ने र व्यावहारिक ज्ञान, सीप तथा क्षमताले युक्त बनाउनेबारे अभिभावक, अगुवा, शिक्षक एवम् सामाजिक अभियन्ताहरूको यथोचित ध्यान पुर्याउनुपर्ने निर्विवाद छ । हाम्रा विद्यार्थी तथा युवाहरूलाई घरमै बसेर साहित्यको अध्ययन तथा लेखनमा उत्साहित गर्नसकेमा एक किसिमले यो बन्दाबन्दीको लाभ उठाएको ठहरिनेछ । गम्भीर विषयमा नयाँ पिँढीको अभिरूचि जगाउने कार्य आजको ‘डिजिटल’ जमानामा चुनौतीपूर्ण हुनु कुनै आश्चर्यको विषय अवश्य होइन ।
नेपाली साहित्यमा पनि विद्यार्थी र नवजवानहरूको निम्ति असङ्ख्य पुस्तक–पुस्तिका प्रकाशित भइसकेका छन् । केही विदेशी भाषाबाट अनुदित साहित्य छन् भने कुनै नेपाली स्रष्टाका मौलिक कृति छन् । यसरी नयाँ पुस्ताको निम्ति पढ्नयोग्य तथा उत्साहबर्द्धक एउटा पुस्तकको नाउँ हो – ‘शरद दिदी र चिनियाँ कथा’ । यो सत्य घटनामा आधारित पाँच वटा कथाहरूको सड्ढलन हो । यी कथाहरू एक समयमा चिनियाँ समाजमा मात्र होइन नेपालीहरूबीच पनि असाध्यै प्रिय र पढिएका कथाहरूमा पर्छन् ।
चिनियाँ समाज कुन धरातलबाट माथि उठ्यो ? जापानी उपनिवेशवादले कसरी चिनियाँ जनतालाई चरम शोषण गर्यो ? ती उपनिवेशवादी बर्बर शक्तिविरूद्ध चिनियाँ जनताले बहादुरीपूर्वक कसरी लडे ? चिनियाँ कम्युनिस्ट पार्टीले कसरी जनतालाई नेतृत्व प्रदान गर्यो ? कम्युनिस्ट कार्यकर्ता एवम् लडाकुहरू कुन भावनाले लड्थे ? यी सम्पूर्ण प्रश्नको सङ्क्षिप्त जवाफ यी पाँच कथा पढेपछि मिल्नेछ । जवाफ गहिरो तर सरल खालको छ । हरेक पाठकको निम्ति बोधगम्य हुनेछ । अझ ‘ल्यू हु लान’ को जीवनी, ‘चम्किलो रातो तारा’, ‘ओ याङ हाइको गीत’, ‘युवाहरूको गीत’ जस्ता नवजवान तथा युवाहरूका निम्ति प्रकाशित प्रेरणादायी पुस्तक पढिसकेका पाठकहरूको निम्ति यो पुस्तक पूरक या थप खुराकझैँ लाग्नेछ ।
यस पुस्तकको शीर्षकथा हो – शरद दिदी । तुलनात्मकरूपमा यो लामो तर हृदयस्पर्शी कथा हो । यस कथाले एक क्रान्तिकारी महिला शरद दिदीको साहस, योगदान तथा आत्मबलिदानको भावनाबारे मन छुने ढङ्गमा बताउँछ । शरद दिदी नै यस कथाकी नायिका हुन् । जापानी उपनिवेशवादविरोधी लडाइँमा शरद दिदीहरूको रगत, पसिना धेरै बगेको छ भन्ने यथार्थ यसले बताउँछ । पार्टीको निर्देशन शिरोधार्य गर्नु एक कार्यकर्ताको परम धर्म हो । खतरा मोल्ने साहस, निर्देशन कार्यान्वयन, पार्टीको विचारको प्रचार, शत्रुसँग मात्र होइन शत्रुद्वारा घुसाइएका या प्रयोग गरिएका सङ्गठनभित्रकै शत्रुसँग कसरी मुकाबिला गर्ने, छापाखाना र त्यससँग सम्बन्धित कार्य पार्टी जीवनमा कति महत्ववपूर्ण हुन्छ भन्नेबारे यस कथाले बुझिने गरी बताउँछ ।
भूमिगत कार्यशैली युद्धको बेलामात्र होइन शान्तिपूर्ण राजनीतिक परिस्थितिमा पनि आवश्यक हुन्छ भन्ने भाव यस कथाले प्रवाह गरिरहेको प्रतीत हुन्छ । युद्धको समयमा पार्टी साहित्यको प्रचार कार्य कति जोखिमपूर्ण हुन्छ र त्यहाँ नै शत्रुले किन प्रहार गर्छ ? यस कथाबाट बुझ्न सकिन्छ । शरद दिदीकी पतिले पार्टीको छापाखाना जोगाउन शत्रुसँग लड्दा–लड्दै प्राण आहुति दिन्छन् । आफ्नो पतिको अधूरा कार्य पूरा गर्न शरद दिदी अहोरात्र खट्छिन् । उनी पार्टीभित्रकै धोकेबाजलाई बदला लिनसमेत सफल हुन्छिन् । कथामा भनिएझैँ शरद दिदी, बुढो लियाङजस्ता प्रतिबद्ध कार्यकर्ताहरूको बलिदानबाट चीनको मुक्तिसङ्ग्राम सफल भएको हो ।
‘सोनाम डोल्माको आत्मकथा’ रक्तआँशुले लेखिएको कथा हो । चिनियाँ क्रान्तिको दर्दनाक सामाजिक पृष्ठभूमि र क्रान्तिको सफलतापश्चात् प्राप्त अभूतपूर्व उपलब्धिबारे बुझ्न यो कथाले सहयोग गर्छ । त्यसको निम्ति यो कथा एउटा वास्तविक दृष्टान्त या आधार मान्न सकिन्छ । क्रान्तिपूर्व चिनियाँ जनताले पशुतुल्य जीवन व्यक्त गरेको र जमिनदार या मालिकहरू अमानवीय व्यवहार गर्थे भन्ने यथार्थ डोल्माको जीवनकथाले प्रस्ट बताउँछ । डोल्माका बुबा–आमाले पेट भर्न मालिकको सेवा गर्दागर्दै रोग, भोक तथा शोकका कारण ज्यान गुमाए । बाँचुञ्जेल उनको परिवारले भरपेट खान पाएन । एकछिन पनि आनन्दको सास फेर्न पाएन । डोल्माले सुँगुरको खोरमा लुकेर मालिकबाट ज्यान जोगाउनुपर्यो । मालिकले पालेको कुकुर र भेँडाको भन्दा पनि कम मूल्यमा बाँच्नुपर्यो । मालिकबाट अकल्पनीय दुव्र्यवहार, यातना र कष्ट सहेर डोल्माले बाल्यकाल बिताइन् । बुबा–आमाको मृत्युपश्चात् केही डलरमा उनी बेचिइन् । धेरै वर्षसम्म नारकीय दासी जीवन बिताइन् । उनको कष्ट, दुःख, भोक, पीडाको वर्णनले जुनसुकै पाठकको मुटु नै चिमोट्ने छ र आँसुको धारा बग्नेछ ।
डोल्मा मालिकको घरबाट भाग्न सफल हुन्छिन् । सडकमा जीवन बिताउँछिन् र एकदिन एउटी बालिकाले स्कूलसम्म डोर्याउँछिन् । क्रमशः उनको जीवनले फरक मोड लिँदै जान्छ । उनी शैक्षिकरूपमा अगाडि बढ्छिन् । सन् १९६४ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता पाउन सफल हुन्छिन् । जीवनको अत्यन्त खुसीको दिनको रूपमा उनी सम्झन्छिन् । सोनाम डोल्मा अर्थात् भाग्यमानी परी नाम पाएर जीवन घोर अँधेरीमा बिताएकी बालिकाको यो कथा अन्तिममा सफलताको शिखरमा पुगेर टुङ्गिन्छ । तब पाठकहरू आनन्दको लामो श्वास फेर्न पुग्छन् । यो वास्तविक आत्मकथाले आजसम्म पनि ठूलो प्रेरणा प्रवाह गर्दै छ । क्रान्तिपश्चात् लाखौँ–लाख डोल्माहरूले नयाँ जीवन पाए ।
‘गुफा अस्पताल’ ले जापानविरोधी गुरिल्ला युद्धका कठिन मोडबारे मर्मस्पर्शी ढङ्गमा वर्णन गर्छ । गुरिल्लाहरू घाइते हुँदा अत्यन्त कठिन परिस्थितिमा उपचारको बन्दोबस्त गर्न दुर्गम गाउँ याओलोपिङको गुफाभित्र ‘अस्पताल’ सञ्चालन गर्दाको सङ्घर्षपूर्ण दिनहरूबारे कथाले शब्द–दृश्य प्रस्तुत गर्छ । महिला कार्यकर्ता सुइ–लियन दिदीले घाइते गुरिल्लाहरूको उपचारको निम्ति बुद्धिमत्तापूर्ण एवम् बहादुरीपूर्वक नेतृत्व गरिन् । जनताबीच ज्ञान, विज्ञानको कहिल्यै नसुक्ने स्रोत हुन्छ भन्ने उदाहरण यो कथाले प्रस्तुत गर्छ । स्थानीय उपचार पद्धति र जडिबुटीको प्रयोगबाट घाइते योद्धाहरूको सफलतापूर्वक उपचार गरिएको प्रसङ्गले त्यसको पुष्टि गर्छ । गुफाभित्रको कष्टकर जीवनले धैर्यको परीक्षा के हो भन्नेबारे बताउँछ ।
‘एर पाओ र चेन परिवार’ ले युद्ध कालमा लालसेना जनताको मन जित्न कसरी सफल भयो भन्नेबारे प्रस्ट पार्छ । यो कथाले कोमिन्ताङका हमलाकारी सेनाले भन्दा कसरी भिन्न व्यवहार गरी युद्ध र मन दुवै जिते भन्नेबारे बताउँछ । अध्यक्ष माओ त्सेतुङका निर्देशन लालसेनाले पालन गरी विजय हात पारेको निष्कर्ष यो कथा पढिसकेपछि मिल्छ । जनताको जीवन छाम्न, समय–परिस्थिति बुझ्न र जनताको मनमा बस्न राजनीतिक कार्यकता सक्षम हुनुपर्ने सन्देश यो कथाले दिन्छ । जनतासँग एकाकार नभई क्रान्तिको विजय असम्भव हुने यो कथाले बताउँछ ।
मुक्ति अगाडिको चीनको सामन्ती व्यवस्था र शोषणको घृणित रूप उजागर गर्छ ‘राति बास्ने कुखुरा’ ले । जमिनदारहरू किसानहरूलाई कसरीसम्म ठग्छन् र चुस्छन् भन्ने घटना प्रस्तुत गरिएको छ । आफ्नै खेतमा काम गर्नेलाई समेत खान नदिने, सुत्न नदिने र पटक्कै आराम गर्न नदिने जमिनदारको अत्याचारको विरोधमा ज्यालादारी काम गर्ने बँधुवा किसानहरू असह्य भई जागी उठेको घटनाले चिनियाँ समाजको परिवर्तनको रूप तथा चरणबारे अनुमान गर्न सहज बनाउँछ । किसानहरूलाई सुत्नसमेत नदिई आफैँ कुखुराको खोरमा पुगी कुखुरा बनी बास्ने र गाउँभरिका कुखुराले बास्नेसम्मको स्थिति तयार गर्ने जमिनदारलाई सर–सल्लाहबमोजिम किसानहरूले एक दिन राती कुखुराको खोरमा पुगी बास्न खोज्दा कुखुरा चोरको अभियोगमा कुटपिट गर्छन् र त्यस्तो कुकर्म या अत्याचार दोहोरिन नसक्ने गरी कारबाही गर्छन् ।
मुक्तिभन्दा अगाडिको चिनियाँ सामन्ती समाजको सजीव चित्रण गर्न यी कथा सफल छन् । त्यतिखेरको सामाजिक यथार्थ परिवेश आज प्रस्तुत गर्दा अपत्यारिलो लाग्नु स्वाभाविक हो । जापानी उपनिवेशवादीहरूले चीनलाई कुन स्थितिमा पुर्यायो र तीविरूद्ध जनताले कसरी लडे भन्ने बुझ्न यस पुस्तकमा प्रस्तुत गरिएका कथा सहयोगीसिद्ध हुनेछन् । यी कथा विशेषगरी विद्यार्थी तथा नवजवानहरूको निम्ति जानकारीमूलक, शिक्षाप्रद तथा रोचक लाग्नेछ । सङ्कट, दुःख र चुनौती सामना गर्दै आमूल परिवर्तनको निम्ति योगदान पुर्याउन कसरी अविचलित ढ·मा सङ्घर्षलाई जारी राख्ने भन्ने शिक्षा यो पुस्तकले दिन्छ । चिनियाँ बहुसङ्ख्यक जनताको हिजोको दयनीय अवस्था र आजको अगाडि बढिसकेको अवस्थाबीच तुलनात्मक अध्ययन गर्न पनि यो पुस्तकको अध्ययन आवश्यक छ । आमूल परिवर्तनको निम्ति समाजवादी क्रान्तिको बाटो नै मात्र सर्वोत्तम उपाय हो भन्ने निष्कर्षमा पाठकहरू पुग्ने पनि निश्चितप्रायः छ । आजको फुर्सदको घडीमा यो पुस्तक अध्ययन सान्दर्भिक तथा फलदायी नै होला ।
Leave a Reply