भर्खरै :

एँगेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ बारे

माक्र्सवाद र माक्र्सवादी साहित्य अध्ययन र मनन यो युगमा अझ बढी आवश्यक अनुभव हुँदै छ । शोषण, अन्याय र दमनको साम्राज्यसँग जित्ने उपाय र मार्गचित्र माक्र्सवादले नै मात्र दिन सक्ने विश्वास अझ बलियो हुँदै छ । माक्र्सवादी साहित्य अध्ययनको सूचीमा फ्रेडरिक एँगेल्सको एउटा अमर कृति ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ पनि पर्दछ । माक्र्सवादको एउटा पृष्ठभूमि मानिने यस पुस्तकले माक्र्सवादको वैज्ञानिकता, व्यावहारिकता खुलाउँछ । मानव समाजको प्रादुर्भावसँगै सुरु हुने मानिसको सामाजिक, आर्थिक र उत्पादन सम्बन्धलाई पुस्तकमा असाध्यै मिहिन ढङ्गले केलाइएको छ । मानव समाजको विकासक्रमको इतिहासदेखि यो शताब्दीसम्म समाजलाई भौतिकवादी अझ भनौँ द्वन्द्वात्मक भौतिकवादी आँखाले विश्लेषण गरिएको छ । शोषण के हो ? मानवसमाज सँगसँगै शोषणका रूपहरू कसरी बदलिए ? परिवारको उत्पत्ति कहाँ कसरी भयो ? निजी स्वामित्वले शोषणलाई किन बढाउँछ ? राज्यसत्ता किन निर्मम हुन्छ ? भन्ने यावत प्रश्नहरूको गहिरो विश्लेषणात्मक तथ्यमा आधारित र ऐतिहासिक पृष्ठभूमिमा आधारित जवाफ पुस्तकमा भेटिन्छ । पुस्तकले इतिहासको भौतिकवादी धारणा प्रस्तुत गर्छ ।
यो पुस्तक एँगेल्सले सन् १८८४ मईको अन्त्यमा तयार पार्नुभयो । माक्र्सका पाण्डुलिपीहरूको अध्ययन गर्ने क्रममा एँगेल्सले अमेरिकी वैज्ञानिक लुइस हेनरी मोर्गनको ‘प्राचीन समाज’ पुस्तकसम्बन्धी विस्तृत टिप्पणीहरूको सङ्कलन फेला पार्नुभयो । ती टिप्पणीहरू माक्र्सले सन् १८८०–१८८१ मा तयार पार्नुभएको जानकारी पुस्तकमा छ । मोर्गनले आप्mनो पुस्तकमा प्रस्तुत गरेको निष्कर्ष र माक्र्सका टिप्पणीहरूलाई एकै ठाउँमा राखी थप अध्ययन र विश्लेषणको आवश्यकताबोध गरी यो कृति तयार पार्नुभयो । माक्र्सले प्रकाशन गर्न चाहनुभएको तर सम्भव नभएको यस कृतिलाई एँगेल्स माक्र्सको ‘अन्तिम अभिलाषाको पूर्ति’ भन्नुहुन्छ । पुस्तक लेख्ने क्रममा एँगेल्स युनान र रोम, प्राचीन आयरल्यान्ड र प्राचीन जर्मनीबारे आपूmले गरेको अनुसन्धानमा जुट्नुभएको प्रसङ्गले पुुस्तकको वस्तुनिष्ठता र वैज्ञानिकता झल्काउँछ ।
यस कृति पहिलोपटक सन् १८८४ मा जर्मन भाषामा, सन् १८८५ मा इटालियाली, सन् १८८६ मा रुमेनियाली, सन् १८८८ मा डेनिस र सन् १९०२ मा मात्र अङ्ग्रेजी भाषामा प्रकाशन गरियो । संस्कृतिका प्रागैतिहासिक चरणहरू शीर्षकमा जङ्गली युग, बर्बर युग र सभ्य युगका मानव जातिले गरेको विकासको चित्र प्रस्तुत छ । जङ्गली युगमा मुख्यतयाः प्रकृतिमा पाइने वस्तुहरू जस्ताको तस्तै प्रयोग हुन्थे । बर्बर युगमा आइपुग्दा पशुपालन र खेतीपातीको थालनी अवधि सुरु भयो । त्यो कालमा मानव क्रियाशिलताको उपलब्धिका रूपमा उत्पादनको वृद्धि गर्ने नयाँ तरिकाहरू सिकाइयो र अभ्यासमा ल्याइयो । सभ्ययुगमा पुग्दा प्राकृतिक वस्तुहरूको अरू बढी प्रशोधन गर्ने कलामा दक्षता प्राप्तिको अवधि सुरु भयो । सभ्ययुग वास्तवमै उद्योग तथा कलाको विकासको अवधि बन्यो भन्ने ऐतिहासिक अध्ययन र यथार्थ विश्लेषण पुस्तकमा छ । जङ्गली युगदेखि सभ्य युगसम्म आइपुग्दा परिवारको जन्म, विकासबारे एँगेल्सले ऐतिहासिक पृष्ठभूमिका आधारमा अत्यन्त गहन अनुसन्धानपछि केस्रा – केस्रा केलाउनुभएको छ ।
पुस्तकमा मानिसको जाति, यौन–जीवन, विवाहबारे युग सापेक्ष विचार र विश्लेषण प्रस्तुत छ । हाडनाताको सम्बन्धमा आधारित परिवार, पुना लुआ परिवार, युगल परिवार, एकनिष्ठ परिवारबारे विस्तृत र गहिरो अध्ययन पस्कँदै पुस्तकले युग परिवर्तनका चरणहरू अवगत गराउँछ । आदिम समाज हँुदै मातृसत्तात्मक समाजबाट पितृसत्तात्मक समाजमा पदार्पण पछाडि युगल विवाहदेखि एकनिष्ठ विवाहसम्मको उत्पादन सम्बन्ध र श्रमविभाजनले भूमिका खेलेको देखिन्छ । जङ्गली युगमा समूह विवाह, बर्बर युगमा युगल र सभ्य युगमा एकनिष्ठ विवाह प्रचलित भयो ।
एँगेल्सले बुर्जुवा परिवारको कडा आलोचना गर्नुभयो । निजी स्वामित्वको प्रभुत्व कायम रहेको अवस्थामा हुने नारीहरूको असमान स्थितिका आर्थिक कारण प्रस्ट्याउनुभयो । नारी पनि किनबेचको सामग्री जस्तै बनाइने समाज चिनाउनुभयो । विवाह सम्बन्धको यो रूप पुँजीवादी उत्पादन सम्बन्धका लागि सबभन्दा अनुकूल प्रणाली हो । सब कुरालाई वस्तुमा परिणत गरेर, सम्पत्ति र नाफा नोक्सानसँग दाँजेर पुँजीवादी उत्पादन सम्बन्धले परापूर्वकालदेखि संरक्षित रहँदै आएका सबै प्राचीन सम्बन्धलाई नष्ट गरिदियो । परम्परागत रीति–रिवाज तथा ऐतिहासिक अधिकारको स्थानमा क्रयविक्रय र स्वतन्त्र सम्झौताको स्थापना गरिदियो । पुस्तकमा लेखिएको छ – “पुँजीवादी धारणाअनुसार विवाह एक सम्झौता हो र अझ त्यसमाथि सबभन्दा महत्वपूर्ण कानुनी लेनदेन पनि हो” यस धारणाले महिला पहिलेभन्दा बढी शोषणमा परेको तथ्य प्रस्तुत गर्छ ।
पुँजीवादी उत्पादन प्रणालीको उन्मूलन भएपछि मात्र महिलाले वास्तविक स्वतन्त्रता प्राप्त गर्नसक्ने एँगेल्स प्रस्ट पार्नुहुन्छ । उहाँ जोड दिनुहुन्छ– “समाजवादी समाजमा मात्रै जहाँ सामाजिक उत्पादनमा महिलाको सहभागिता रहन्छ, सामाजिक जीवनमा समस्त क्षेत्रमा महिला र पुरुषका बीचमा पूर्ण समानता हुन्छ, महिला घरधन्दाको बोझबाट मुक्त हुन्छन् र त्यो बोझ बढ्दो मात्रामा समाजले बोक्दै जान्छ, पुरुष र महिलाको पूर्ण समानता, एक अर्काप्रति आदरको भावना र सच्चा प्रेममा आधारित परिवारको नयाँ उत्कृष्ट रूपको प्रादुर्भाव हुन्छ ।”
पुस्तकमा गोत्र प्रथाको नालीबेली उजागर गरिएको छ । इरोक्बा गोत्र, युनानी गोत्रमा प्राचीन गोत्रीय सङ्गठनको उत्थान, विकास र पतनसँगै राज्यको उत्पत्ति भएको हो । यस कृतिका अधिकांश खण्डमा स्वामित्वको उत्पत्ति र विभिन्न रूपहरूको विकासको विश्लेषण गरिएको छ । एँगेल्सले निजी स्वामित्वमा आधारित व्यवस्था नित्य होइन भनी तथ्यसङ्गत विश्लेषण गर्नुभएको छ । आदिम इतिहासको एक लामो अवधिसम्म उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्व रहेको थियो भन्ने कुरा अकाट्यरूपमा प्रमाणित गर्नुभयो । उत्पादन शक्तिहरूको विकास एवम् श्रम उत्पादनशीलतामा वृद्धि भएसँगै अरूको श्रमको फल अर्थात् आम्दानी हत्याउने सम्भावना पैदा हुन्छ फलस्वरूप निजी स्वामित्व र मानवद्वारा मानवको शोषणको प्रादुर्भाव हुन्छ । त्यसैगरी समाज परस्पर विरोधीवर्गहरूमा विभाजित हुने तथ्यलाई एँगेल्सले मिहिन विवेचना गर्नुभएको छ ।
राज्यको उत्पत्ति र सारतत्व नै एँगेल्सको कृतिको प्रमुख विषय या मेरुदण्ड हो भनिएको छ । एथेन्स राज्यको उत्पत्ति, रोममा गोत्र तथा राज्यको उत्पत्ति, केल्ट तथा जर्मन गोत्रको विकासले राज्यसत्ताको अभ्यूदयका लागि अनुकूल स्थिति खडा गरेको इतिहास पुस्तकमा उजागर भएको छ । गोत्र प्रणाली ध्वस्त भएपछि त्यसको स्थान राज्यले लिएको बुझिन्छ । जर्मनहरूमा राज्यको उत्पत्तिले रोमन साम्राज्यमा जर्मन आक्रमणकारीहरूले प्रवेश गरेको बुभ्mन सकिन्छ । जर्मन उदयसँगै प्राचीन युनानी तथा रोमन सभ्यताको शैशवकाल खत्तम हुन्छ, रोमन राज्य एक विराट एवम् जटिल यन्त्रको रूपमा परिणत भएको इतिहास छ । कर, राजकीय सेवाहरू र विभिन्न शुल्कहरूले आम जनसमुदायलाई आधिकारिक गरिबीमा पारिदियो । शोषणको एउटा प्रणाली स्थापित भयो । प्राचिनकालमा दासप्रथा कायम थियो । हरेक युगमा शोषणको रूप सामाजिक श्रम विभाजन र उत्पादन सम्बन्धसँग जोडिएको हुन्छ । पुस्तकमा लेखिएको छ – “श्रमको सामाजिक विभाजनबाट नै दुई वर्गहरू अर्थात् शोषक र शोषितहरूमा समाजको विभाजन सुरु भयो ।” कृषि, उद्योगलगायत अन्य श्रममा पनि यही प्रक्रिया लागु हुन्छ । पुस्तकमा लेखिएको छ – “सेनानायक, परिषद्, जनसभाहरू, गोत्रीय समाजका त्यस्ता निकायहरूको रूपमा देखापर्छन्, जसबाट सैनिक जनवादको विकास हुन्छ ।” साथै, पुस्तकमा बुर्जुवा प्रजातान्त्रिक गणराज्यको चर्चा छ जसले सदा पुँजीवादको पक्षपोषण ग¥यो । बर्बर युगमा लुटको धन बढी सरल र सम्मानजनक लाग्ने हुन्छ । श्रम विभाजनमा एक नौलो पाइला अर्थात् व्यापार, विनिमयले सभ्य युगको श्रीगणेश गर्छ भनिएको छ ।
राज्यको जन्म प्रत्यक्षरूपमा वर्गीय अन्तरविरोधहरूबाट हुन्छ अर्थात् राज्य सामाजिक विकासको निश्चित चरणको उपज हो । राज्य साम्झौताविहीन प्रतिपक्षताहरूमा विभाजित भएको हुन्छ जसबाट मुक्त हुन राज्य असमर्थ हुन्छ । पुस्तकमा लेखिएको छ – “यस्ता प्रतिपक्षताहरू, परस्परविरोधी आर्थिक स्वार्थ भएका वर्गहरूले एक निरर्थक सङ्घर्षमा एक अर्कालाई ननिलून् भन्नका लागि एउटा शक्तिको आवश्यकताबोध भयो । जो समाजभन्दा माथि अवस्थित देखिन्छ, त्यस्तो शक्ति, जसले त्यस अन्तरद्वन्द्वलाई मत्थर पारोस् र त्यसलाई ‘सुव्यवस्था’ को परिधिभित्र नियन्त्रित राखोस् । अनि समाजबाटै उत्पन्न भएको तर समाजभन्दा माथि रहेको र त्यसबाट आपूmलाई झन्–झन् अलग्याउँदै लगिरहेको यो शक्ति नै राज्य हो ।”
यसरी प्राचीन युनान, प्राचीन रोम तथा जर्मनीमा राज्यको उत्पत्तिको उदाहरणमा एँगेल्सले स्पष्ट तथा तर्कयुक्त ढङ्गले देखाउनुभएको छ कि उत्पत्तिकालदेखि नै राज्य सदा ती वर्गहरूको आधिपत्य कायम राख्ने हतियार बन्दै आएको छ, जसले उत्पादनका साधनहरूमाथि आप्mनो प्रभुत्व कायम राखेका हुन्छन् । तर, सत्य के हो भने राज्य अनादिकालदेखि नै अस्तित्वमा थिएन आदिम समाज त्यसको उदाहरण हो । यसरी राज्यसत्ताविहीन साम्यवादी समाज, सर्वहारा अधिनायकवादी समाजको शब्ददृश्य पनि यसै कृतिमा छ । सर्वहारा क्रान्तिको अनिवार्यता र साम्यवादी समाजको निर्माण कृतिको निहित मर्म हो ।
यसरी आदिम समाजदेखि सभ्य युगसम्म मानवजातिको विकास, परिवार, निजी सम्पत्ति र राज्यको विकास एवम् मानिसमाथिको शोषणका रूपहरूको विश्लेषणले समाजलाई वर्गविहीन, राज्यसत्ताविहीन समाजको स्थापना गर्ने बलियो आधार अनि विचार यस कृतिले प्रदान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *