‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
नेपालको अर्थतन्त्र ‘दलाल पुँजीवाद’ विना कस्तो हुन्थ्यो होला भनी परिकल्पना गर्दै १८ भदौ २०७७ को ‘नयाँ पत्रिका’मा पूर्वअर्थसचिव भनिएका शङ्कर अधिकारीले आफ्नो चर्चा गरे ।
दलाल पुँजीवाद राष्ट्रिय पुँजीको विरोधमा चलेको हुन्छ । प्रजातन्त्र, मानव अधिकार, आर्थिक समानता नारामा मात्र सिमित हुन्छ । आर्थिक समानतासहितको प्रजातन्त्र नै समाजवादी व्यवस्था हो । समाजवादी व्यवस्थामा धनी र गरिवबीचको खाडल कम हुन्छ । राज्यले नै सबै बन्दोवस्त गरेको हुन्छ ।
आफ्नै खुट्टामा उभिएको अर्थतन्त्रले मात्र देश सबल बन्छ भन्ने उदाहरण समाजवादी व्यवस्थाले देखाइसकेको छ । पुँजीवादी व्यवस्थाले तीन–चार सय वर्षमा गरेको विकास समाजवादी व्यवस्थाले साठी–सत्तरी वर्षमा गरेबाट पनि पुष्टि हुन्छ । नेपाल सरकारले सरकारी, निजी र सहकारीको तीन खम्बे अर्थनीति अवलम्बन गरेको छ । तर, सरकारको कार्यशैली दलाल पुँजीवादतर्फ उद्यत देखिन्छ ।
२०४८ सालयताका सरकारले कुनैपनि उद्योग, कलकारखाना स्थापना गरेका छैनन् । उल्टै मित्रराष्ट्रहरूले बनाइदिएका उद्योग कलकारखाना घाटाको बहानामा सरकारहरूले व्यक्तिलाई बेचे । भ्रष्टाचारकै कारण उद्योग घाटामा गएको हो । घाटाको बहानामा कमिसन खानकै लागि सरकारमा गएका पार्टी र माथिल्ला कर्मचारीहरूले निजीकरणलाई प्राथमिकता दिएका हुन् । भ्रष्टाचारकै कारण ती उद्योग सरकारले सञ्चालन गर्दा घाटामा गए तर व्यक्तिले चलाउँदा कसरी नाफा भयो ?
देशभक्त पुँजीपतिवर्गको पुँजीलाई खत्तम गर्न सरकार आफै लागेको उदाहरण लगानी बोर्ड हो । आफ्नै देशका स–साना पुँजीलाई जम्मा गरी आर्थिक स्थिति बलियो पार्नुको सट्टा लगानी बोर्डमार्फत ठूलो पुँजी भित्र्याउने र दलाली भाग खाने सरकारको दाउ हो । कम लागतमा तयार हुने माथिल्लो कर्णालीजस्ता जलविद्युत् आयोजना विदेशी कम्पनीलाई दिनु अर्को उदाहरण हो ।
उद्योगका लागि जलविद्युत् आवश्यक छ । कम लागतमा आफ्नै देशमा उत्पादन हुने विद्युत् विदेशी कम्पनीलाई सुम्पेर महँगोमा भारतसँग खरिद गर्नु दलाल पुँजीवादको अर्को रूप हो ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिने नेकपाको वर्तमान सरकार पनि नेपाली काङ्ग्रेस, राप्रपा, मधेसवादी पार्टीकै पदचिन्हमा हिँडेको छ । ‘कम्युनिस्ट’ भनिएको सरकार राष्ट्रिय पुँजीलाई विकास गर्नु र बढावा दिनुको सट्टा लगानी सम्मेलनका नाउँमा विदेशी पुँजी भित्र्याउने र दलाली भाग खाने दाउमा छ । साठी–पैसठ्ठी वर्षको नाकाबन्दीमा पनि प्रजग कोरिया र क्युवाले आफ्नै देशको पुँजीलाई विकास गरी देश समृद्ध बनाए । के नेपाल सरकारले यसबाट सिक्नु पर्दैन ?
पुँजीवादी सोचका दलाल नेता र माथिल्ला कर्मचारीहरूले दलाल पुँजीवादविना देशको अर्थतन्त्र चल्न सक्दैन भनी सोच्नु ‘कुवाको भ्यागुताले संसार कुवा जत्रै देख्नु’ जस्तै हो ।
प्रजग कोरियाले विदेशी सहयोगविना ढुङ्गाबाट कपास बनाएर कपडा कारखानाको विकास गरेको उदाहरण हुँदाहुँदै विदेशी पुँजीविना देशको उद्योग कलकारखाना सञ्चालन हुँदैन भनी भन्नु ‘सूर्यलाई हत्केलाले छेक्ने प्रयास’ जस्तै हो । विदेशी लगानी नेपाललाई समृद्ध बनाउन होइन, नेपालको प्राकृतिक स्रोत दोहन गरी नाफा कमाउन हो । अमेरिकी र पश्चिमा साम्राज्यवादीहरूले लगानी गरका धेरै देशहरूको स्थिति हामीले पढेका छौँ । त्यस्तो स्थिति देख्दादेख्दै विदेशी पुँजीकै पछाडि कुद्नु द्रव्यमोहबाहेक अरू होइन ।
नेपाल सरकारले विदेशी मित्रराष्ट्रहरूसँग पुँजी होइन प्रविधि र जनशक्ति लिन सक्नुपर्छ । दुःखजिलो गरेर आफ्नै देशमा पुँजी सङ्कलन गर्न सकिन्छ । विदेशी दलालविनाको समाज सरकारले तयार गर्ने हो । उच्च प्रविधि भित्र्याएर आफ्नै देशमा सामान उत्पादन गर्नुको सट्टा विदेशमा तयार भएको सामानलाई उद्योगको लेबल लगाएर दलाली भाग खाने विदेशी पुँजीका दलालहरूकै कारण देशको अर्थतन्त्र बलियो नभएको हो ।
नेपालको अपार जडीबुटी नेपालमै प्रशोधन गरी औषधी बनाइएको छैन । कौडीको भाउमा भारत लगेर महँगोमा औषधी किन्नु परेको छ । हाम्रो अपार जलसम्पदा वा नदीजन्य वस्तु भारतमा चोरी निकासी भएका छन् । आम्दानीको ठूलो स्रोत भएका यस्ता विषयमा खोइ सरकारको ध्यान गएको ! विदेशी पुँजीविना केही हुन सक्दैन भन्नेहरूले जलसम्पदा वा नदीजन्य वस्तु दोहन रोक्न के गरेका छन् ?
विदेशमा कामदार पठाउनु पनि विदेशी दलाल पुँजीवादकै नोकर हुनु हो भन्ने कुरा थाहा भएका विद्वान् लेखकले अर्थमन्त्रालय सम्हाल्दा स्वरोजगार हुने शिक्षा प्रणालीलाई कत्तिपनि रकम लगानी गरेनन् । हालसम्मका शासक र प्रशासकहरू विदेशी पुँजीका दलाल भएकै कारण विदेशी कम्पनीहरूका लागि सस्तो ज्यामी तयार हुने शिक्षा नीति अङ्गाले । रेमिटेन्सबाट दलाली भाग खाने सोच भएका हाम्रा शासकहरूले देशका सत्तरी लाख युवालाई विदेश पठाए ।
दलाल पुँजीले देशको राजनीति, प्रशासन, अर्थतन्त्र, विकास प्रशासन, शिक्षा, संस्कृति आदि सबै क्षेत्र खत्तम गरेको छ । यस्ता विकृतिको मुख्य दुश्मन राजतन्त्र यदि हो भने राजतन्त्र समाप्त भएर प्रजातन्त्र हुँदै गणतन्त्र आएको डेढ दशकमा पनि देश किन समृद्ध हुन नसकेको ? हाम्रो मुख्य दुश्मन विदेशी पुँजी र तिनका दलाल नै हुन् । जनतामा चेतना नहुँदासम्म विदेशी पुँजीका दलालहरूले शासन गर्नेछन् । भकुन्डोलाई जति जोडले प्रहार गरिन्छ त्यति धेरै माथि उफ्रेजस्तै दलालहरूले जति बढी शोषण गर्छन् । त्यसको विरोधमा बढ्ता जनमत सृजना हुन्छ । चेतनशील जनताको बलले नै त्यस्ता दलाललाई पाखा लगाउनेछ नै ।
Leave a Reply