भर्खरै :

विदेशी पुँजी र यसका दलाललाई पाखा नलगाएसम्म देश समृद्ध हुँदैन

नेपालको अर्थतन्त्र ‘दलाल पुँजीवाद’ विना कस्तो हुन्थ्यो होला भनी परिकल्पना गर्दै १८ भदौ २०७७ को ‘नयाँ पत्रिका’मा पूर्वअर्थसचिव भनिएका शङ्कर अधिकारीले आफ्नो चर्चा गरे ।
दलाल पुँजीवाद राष्ट्रिय पुँजीको विरोधमा चलेको हुन्छ । प्रजातन्त्र, मानव अधिकार, आर्थिक समानता नारामा मात्र सिमित हुन्छ । आर्थिक समानतासहितको प्रजातन्त्र नै समाजवादी व्यवस्था हो । समाजवादी व्यवस्थामा धनी र गरिवबीचको खाडल कम हुन्छ । राज्यले नै सबै बन्दोवस्त गरेको हुन्छ ।
आफ्नै खुट्टामा उभिएको अर्थतन्त्रले मात्र देश सबल बन्छ भन्ने उदाहरण समाजवादी व्यवस्थाले देखाइसकेको छ । पुँजीवादी व्यवस्थाले तीन–चार सय वर्षमा गरेको विकास समाजवादी व्यवस्थाले साठी–सत्तरी वर्षमा गरेबाट पनि पुष्टि हुन्छ । नेपाल सरकारले सरकारी, निजी र सहकारीको तीन खम्बे अर्थनीति अवलम्बन गरेको छ । तर, सरकारको कार्यशैली दलाल पुँजीवादतर्फ उद्यत देखिन्छ ।
२०४८ सालयताका सरकारले कुनैपनि उद्योग, कलकारखाना स्थापना गरेका छैनन् । उल्टै मित्रराष्ट्रहरूले बनाइदिएका उद्योग कलकारखाना घाटाको बहानामा सरकारहरूले व्यक्तिलाई बेचे । भ्रष्टाचारकै कारण उद्योग घाटामा गएको हो । घाटाको बहानामा कमिसन खानकै लागि सरकारमा गएका पार्टी र माथिल्ला कर्मचारीहरूले निजीकरणलाई प्राथमिकता दिएका हुन् । भ्रष्टाचारकै कारण ती उद्योग सरकारले सञ्चालन गर्दा घाटामा गए तर व्यक्तिले चलाउँदा कसरी नाफा भयो ?
देशभक्त पुँजीपतिवर्गको पुँजीलाई खत्तम गर्न सरकार आफै लागेको उदाहरण लगानी बोर्ड हो । आफ्नै देशका स–साना पुँजीलाई जम्मा गरी आर्थिक स्थिति बलियो पार्नुको सट्टा लगानी बोर्डमार्फत ठूलो पुँजी भित्र्याउने र दलाली भाग खाने सरकारको दाउ हो । कम लागतमा तयार हुने माथिल्लो कर्णालीजस्ता जलविद्युत् आयोजना विदेशी कम्पनीलाई दिनु अर्को उदाहरण हो ।
उद्योगका लागि जलविद्युत् आवश्यक छ । कम लागतमा आफ्नै देशमा उत्पादन हुने विद्युत् विदेशी कम्पनीलाई सुम्पेर महँगोमा भारतसँग खरिद गर्नु दलाल पुँजीवादको अर्को रूप हो ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिने नेकपाको वर्तमान सरकार पनि नेपाली काङ्ग्रेस, राप्रपा, मधेसवादी पार्टीकै पदचिन्हमा हिँडेको छ । ‘कम्युनिस्ट’ भनिएको सरकार राष्ट्रिय पुँजीलाई विकास गर्नु र बढावा दिनुको सट्टा लगानी सम्मेलनका नाउँमा विदेशी पुँजी भित्र्याउने र दलाली भाग खाने दाउमा छ । साठी–पैसठ्ठी वर्षको नाकाबन्दीमा पनि प्रजग कोरिया र क्युवाले आफ्नै देशको पुँजीलाई विकास गरी देश समृद्ध बनाए । के नेपाल सरकारले यसबाट सिक्नु पर्दैन ?
पुँजीवादी सोचका दलाल नेता र माथिल्ला कर्मचारीहरूले दलाल पुँजीवादविना देशको अर्थतन्त्र चल्न सक्दैन भनी सोच्नु ‘कुवाको भ्यागुताले संसार कुवा जत्रै देख्नु’ जस्तै हो ।
प्रजग कोरियाले विदेशी सहयोगविना ढुङ्गाबाट कपास बनाएर कपडा कारखानाको विकास गरेको उदाहरण हुँदाहुँदै विदेशी पुँजीविना देशको उद्योग कलकारखाना सञ्चालन हुँदैन भनी भन्नु ‘सूर्यलाई हत्केलाले छेक्ने प्रयास’ जस्तै हो । विदेशी लगानी नेपाललाई समृद्ध बनाउन होइन, नेपालको प्राकृतिक स्रोत दोहन गरी नाफा कमाउन हो । अमेरिकी र पश्चिमा साम्राज्यवादीहरूले लगानी गरका धेरै देशहरूको स्थिति हामीले पढेका छौँ । त्यस्तो स्थिति देख्दादेख्दै विदेशी पुँजीकै पछाडि कुद्नु द्रव्यमोहबाहेक अरू होइन ।
नेपाल सरकारले विदेशी मित्रराष्ट्रहरूसँग पुँजी होइन प्रविधि र जनशक्ति लिन सक्नुपर्छ । दुःखजिलो गरेर आफ्नै देशमा पुँजी सङ्कलन गर्न सकिन्छ । विदेशी दलालविनाको समाज सरकारले तयार गर्ने हो । उच्च प्रविधि भित्र्याएर आफ्नै देशमा सामान उत्पादन गर्नुको सट्टा विदेशमा तयार भएको सामानलाई उद्योगको लेबल लगाएर दलाली भाग खाने विदेशी पुँजीका दलालहरूकै कारण देशको अर्थतन्त्र बलियो नभएको हो ।
नेपालको अपार जडीबुटी नेपालमै प्रशोधन गरी औषधी बनाइएको छैन । कौडीको भाउमा भारत लगेर महँगोमा औषधी किन्नु परेको छ । हाम्रो अपार जलसम्पदा वा नदीजन्य वस्तु भारतमा चोरी निकासी भएका छन् । आम्दानीको ठूलो स्रोत भएका यस्ता विषयमा खोइ सरकारको ध्यान गएको ! विदेशी पुँजीविना केही हुन सक्दैन भन्नेहरूले जलसम्पदा वा नदीजन्य वस्तु दोहन रोक्न के गरेका छन् ?
विदेशमा कामदार पठाउनु पनि विदेशी दलाल पुँजीवादकै नोकर हुनु हो भन्ने कुरा थाहा भएका विद्वान् लेखकले अर्थमन्त्रालय सम्हाल्दा स्वरोजगार हुने शिक्षा प्रणालीलाई कत्तिपनि रकम लगानी गरेनन् । हालसम्मका शासक र प्रशासकहरू विदेशी पुँजीका दलाल भएकै कारण विदेशी कम्पनीहरूका लागि सस्तो ज्यामी तयार हुने शिक्षा नीति अङ्गाले । रेमिटेन्सबाट दलाली भाग खाने सोच भएका हाम्रा शासकहरूले देशका सत्तरी लाख युवालाई विदेश पठाए ।
दलाल पुँजीले देशको राजनीति, प्रशासन, अर्थतन्त्र, विकास प्रशासन, शिक्षा, संस्कृति आदि सबै क्षेत्र खत्तम गरेको छ । यस्ता विकृतिको मुख्य दुश्मन राजतन्त्र यदि हो भने राजतन्त्र समाप्त भएर प्रजातन्त्र हुँदै गणतन्त्र आएको डेढ दशकमा पनि देश किन समृद्ध हुन नसकेको ? हाम्रो मुख्य दुश्मन विदेशी पुँजी र तिनका दलाल नै हुन् । जनतामा चेतना नहुँदासम्म विदेशी पुँजीका दलालहरूले शासन गर्नेछन् । भकुन्डोलाई जति जोडले प्रहार गरिन्छ त्यति धेरै माथि उफ्रेजस्तै दलालहरूले जति बढी शोषण गर्छन् । त्यसको विरोधमा बढ्ता जनमत सृजना हुन्छ । चेतनशील जनताको बलले नै त्यस्ता दलाललाई पाखा लगाउनेछ नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *