भर्खरै :

क्रान्ति नगरी आमूल परिवर्तन असम्भव

माक्र्सवाद लेनिनवादको सिद्धान्त अन्तर्राष्ट्रिय कामदार वर्गको आन्दोलनको अनुभवको सँगालो हो । यो सर्वहारा वर्गीय क्रान्तिको विज्ञान हो । क्रान्तिको लागि क्रान्तिकारी सिद्धान्त आवश्यक छ । क्रान्ति नगरी आमूल परिवर्तन सम्भव छैन । आमूल परिवर्तन सच्चा कम्युनिस्टले मात्र गर्छ । तर, त्यस्तो आन्दोलन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तयार नभइकन सम्भव छैन । मानव जातिको मुक्तिको निम्ति नै परिवर्तनको आवश्यकता छ । अतः हरेक कम्युनिस्ट पार्टीले माक्र्सवाद, लेनिनवादको अध्ययन गरी नेपालको माटो सुहाउँदो परिवर्तनको निम्ति पूर्वाधार तयार गर्नुपर्छ । कामदारमाझ क्रान्तिकारी भावना जगाउन कम्युनिस्टको सिद्धान्त र विचारबारे सुसूचित गर्नुपर्छ । यो प्रत्येक कम्युनिस्ट पार्टीको दायित्व हो । यो दायित्व सबैले निर्वाह गर्नुपर्छ ।
वर्गीय समाजमा राजनीति पनि कुनै न कुनै वर्गमा विभाजित हुन्छ । कम्युनिस्टहरू शोषित पीडित वर्गको पक्षमा राजनीति गर्छन् । युगौँको फोहरमैलालाई सफा गर्न र नयाँ समाज निर्माण गर्न कम्युनिस्टहरू जुट्छन् । प्रतिक्रान्तिकारीहरूविरुद्ध लडेरै समाज फेर्ने उत्प्रेरक शक्ति नै कम्युनिस्ट पार्टी हो । कम्युनिस्टहरू आफू र अरूलाई साँचोमा ढाल्छन् र क्रान्तिकारी गुण र क्षमता बढाउन अग्रसर हुन्छन् । सबै खालका शोषण र थिचोमिचोको विरोध गर्छन् । श्रमजीवी वर्गलाई सङ्गठित, सिद्धान्तनिष्ठ र अनुशासित बनाउन कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू निरन्तर खटिरहन्छन् । कम्युनिस्टको सिद्धान्त र विचार गाउँ–ठाउँ र जनताको घर आँगनमा पु¥याउन खेत खलिहान, होटेल–रेष्टुरा, चौतारा, कल–कारखाना, उद्योग, सङ्घ–संस्था जहाँ पनि उनीहरू प्रचार गर्छन् ।
क्रान्तिको निम्ति सबभन्दा पहिले पार्टीले जनतालाई राजनीतिक र सैद्धान्तिकरूपले सुसूचित पार्छ, सङ्गठित गर्छ । जनतालाई देश विदेशका शत्रु र मित्रबारे जानकारी गराइन्छ । जनताको विचार र सांस्कृतिक स्तर उठाउने काम हुन्छ । क्रान्तिकारी बाटो छोडेको कुनै कम्युनिस्ट पार्टी या सरकारले मानव जातिको मुक्ति गर्दैन । कम्युनिस्ट पार्टीको नाउँ राखेर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार भुल्ने दलले मुक्तिको बाटो खोज्दैन । कम्युनिस्टको खोल ओढेर कम्युनिस्टको सिद्धान्त र विचार तोडमरोड गर्ने दलले शोषित पीडित जनताको प्रतिनिधित्व गर्दैन । वर्गीय हित र वर्गीय विचारको मतलब राख्दैन । स्पष्ट दृष्टिकोण र विचार नहुने हुँदा उनीहरूको विचार पनि स्थिर हुँदैन । उनीहरू अवसरवादी र संशोधनवादी हुन्छन् । स–साना सुधार गरेर विकासको बाटो खन्छन् र भविष्यको ख्याल नगरी अहिलेको स्वार्थ या हितमात्र हेर्छन् ।
उनीहरूको चाहना र विचार दलगत र व्यक्तिगत स्वार्थमा आधारित हुन्छ । दलगत र व्यक्तिगत स्वार्थ पूरा हुने भए उनीहरू सिद्धान्तको ख्याल गर्दैनन् । सिद्धान्त र विचारको ख्याल नगरी स–साना स्वार्थ, प्रलोभनमा अल्झेर विदेशी शक्ति राष्ट्रसामु झुक्छन् या उनीहरूको पछि लागेर उठबस गर्छन् । नैतिकता र चरित्रको ख्याल गरिँदैन । उनीहरू सिद्धान्त, विचार, देश र जनताको सेवाभन्दा पद, पैसा र भागबन्डामा भुल्छन् । उनीहरू सिद्धान्तनिष्ठ र जवाफदेही हुँदैनन् । देश र जनताको मामिलामा दृढ अडान छोडेर विदेशी सहयोगकै पछि दगुर्छन् । एमसीसी सम्झौता लागू गर्ने नेकपाको चाहना यसकै सिलसिला हो । सत्तारुढ दल नेकपाले क्रान्तिकारी सिद्धान्त छोडेको छ, विचार भुलेको छ र पुँजीवादी राजनीतिमा हामफालेको छ । यसकारण सच्चा कम्युनिस्ट पार्टीहरू नक्कली कम्युनिस्ट पार्टी र पुँजीवादी, सङ्कीर्ण, क्षेत्रीय पार्टीविरुद्ध अघि बढ्छन् । त्यो काम नेमकिपाले पूरा गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *