भर्खरै :

शासकहरू गम्भीर नहुँदा सामन्तवादीहरू सक्रिय हुँदै

राजावादीहरू सरकारको कामकारबाही र गणतान्त्रिक व्यवस्थाविरुद्ध नै जुलुस प्रदर्शनमा उत्रिरहेका छन् । २०६२–६३ को जनआन्दोलनले फालिएका राजाको पक्षमा केही सामन्ती चिन्तन भएकाहरू बेलाबखत चलमलाउनु स्वाभाविक हो । मुख्य कुरा यस्तो वातावरण सिर्जना गर्ने को हुन् ? भन्ने विषय हो ।
देशमा वास्तवमा गणतन्त्र स्थापना भएको हो भने वर्षौँदेखि जनतालाई दबाउँदै आएका सामन्तीहरूलाई सलबलाउनै नसक्ने गरी निमिट्यान्न पार्नुपथ्र्याे । तर, राजासँगै कुम जोडेर सत्ताको बागडोर पालैपालो समाल्दै आएका नेपाली काङ्ग्रेस, एमालेलगायत शासक दलहरूले सामन्ती व्यवस्थालाई समूल नष्ट पार्न सकेनन् वा गर्न चाहेनन् । किनकि यी पार्टीहरू साँच्चै लोकतन्त्रवादी र प्रजातन्त्रवादी थिएनन् ।
आज सामन्तीहरूले आफ्नो भाग गणतन्त्रवादी भनाउँदाहरूले बाँडीचँुडी खाएको मन पराएनन् । तिनीहरू आफ्नो सत्ता पुनः स्थापित गर्न चाहन्छन् । तर, त्यो व्यवस्था बिउँतिन असम्भव छ । जनतामा चेतना भइसकेको छ ।
गणतन्त्रवादी भनाउँदा शासकहरू थप भ्रष्ट भएको साँचो हो । यिनीहरू भ्रष्टमात्र भएनन् पञ्चायतकालमा स्थापना भएका सार्वजनिक उद्योग, कलकारखाना, देशका ठूलठूला नदी–नलाहरू विदेशीलाई बेचेर खाए । उनीहरू दलाल पुँजीवादको रूपमा विकास भए । जातजाति, भाषा, धर्म, व्यापार व्यवसायलगायत विभिन्न बहानामा उनीहरूले देशलाई खोक्रो पारिसकेका छन् । देश परनिर्भरतर्फ धकेलियो । शासक दलका नेताहरू आज पनि पद र पैसाको निम्ति कुकुरझगडामा व्यस्त छन् । पुँजीवादी व्यवस्थाको कुरूप चरित्रबाट मौका छोपी सामन्ती अंशियारहरूले उछाल्ने काम गर्नु स्वाभाविक हो । सचेत जनता थुकेको थुकलाई चाट्दैनन् बरु सभ्य राजनैतिक व्यवस्थातर्फ उन्मुख हुन्छन् । माक्र्सको सिद्धान्तअनुरूप सुसंस्कृत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनातर्फ सङ्घर्ष गर्नु नै आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *