भर्खरै :

पुस पन्ध्रः ल्होसार, उधौली र योमरी पूर्णे

 
पृष्ठभूमिः
नेपाललाई सुन्दर, शान्त र विशाल भन्ने गरिन्छ । भौगोलिक हिसाबले विश्व मानचित्रमा तिलको गेडा जत्रो भए पनि, जातीय र भाषिक हिसाबले भीमकाय देखिन्छ भन्नुमा अत्युक्ति नहोला । आँखाको नानी सानो भए पनि अनमोल हुन्छ । नेपाल १२५ जातजातिका मानिसहरूको साझा र अनुपम फूलबारी हो । त्यसैगरी १२३ वटा भाषा अस्तित्वमा रहनुको साथै कैयौँ धर्म, परम्परा, रीतिरिवाज, चालचलन विद्यमान छन् । धर्म, भाषा तथा जातिका भिन्नताको कारण हरेक जातिले, छुट्टै र फरक ढङ्गले चाडपर्व मनाउँछन् । त्यस्तै रहनसहन, भेषभूषा, जीवनशैली, आचार–व्यवहारमा पनि पृथकता पाइन्छ । बहुसांस्कृतिक मुलुक नेपालमा विविध चाडपर्व, उत्सव मनाउने र जगेर्ना गर्ने समुदायहरूको बसोबास रहेको छ । उत्तरी हिमाली भेगमा बसोबास गर्ने शेर्पा, भोटे, लामा र थकाली जातिहरू तथा मध्य पहाडी क्षेत्रमा छरिएर रहेका गुरुङ, तामाङ र मगर समुदायहरूले विशेष उत्साह र उमङ्गका साथ मनाउने पवित्र र महान पर्व हो ल्होसार । यसलाई लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य नेपालमा राष्ट्रिय पर्वको रूपमा मान्यता दिइएको छ । साथै, सोनाम, तमु, ग्याल्पो ल्होसारमा जातीय हिसाबले मनाउने कर्मचारीहरूलाई बिदा दिने प्रचलन रहेको छ ।
ऐतिहासिक पृष्ठभूमिः
सन् १९२१ मा मङ्गोल बादशाह चङ्गेज खाँले तिब्बतमाथि विजय हासिल गरेपश्चात् यो वर्ष नयाँ वर्षको रूपमा मनाउने परम्परा बसेको पाइन्छ ।
ल्होसारको परिभाषा र महत्वः
ल्होसारको तिब्बती भाषामा खास अर्थ हुन्छ वर्ष अर्थात् साल परिवर्तन । ‘ल्होे’ को अर्थ साल र ‘सार’ को अर्थ हो नयाँ वा परिवर्तन । हिन्दू धर्मावलम्बीहरूले विक्रम संवत्को वैशाख १ गते पर्ने नयाँ वर्ष, मुस्लिमहरूको इद र क्रिस्चियनहरूले क्रिसमस पर्व धूमधामसँग मनाएझैँ शेर्पा र तामाङ समुदायले सर्वाधिक रुचि र महत्वका साथ महान् पर्वको रूपमा ल्होसार मनाउने गर्छन् । खास गरेर हिमाली भेगमा बसोबास गर्ने खुम्बु र सोलुका प्रमुख गोल्पाहरू तथा शेर्पा बस्तीहरूमा यो चाडलाई बडो तामझामका साथ मनाउँछन् । ‘तोला ल्होसार’, ‘सोनम ल्होसार’ र ‘ग्याल्पो ल्होसार’ जस्ता साधारणतया तीन प्रकारका नयाँ वर्षलाई स्वागत–सत्कार गर्ने प्रचलन शेर्पा समाजका विधिहरूलाई औँल्याउन सकिन्छ । तमु ल्होसारलाई नेपालको विभिन्न ठाउँमा रहेका गुरुङ जातिले मनाउने महत्वपूर्ण चाडको रूपमा लिइन्छ । पूजा र नाचगान गरी रमाइलोसँग मनाइने यो पर्व, मङ्सिरको अन्त्य र पुसको शुभारम्भतिरै आउँछ । यो चाड, केही अल्पसङ्ख्यकले मात्र मनाउने गर्छन् । नेपाल–तिब्बत सिमानामा माघ महिनाको शुभारम्भमा मनाइने ‘सोनम ल्होसार’ पर्व फुर्सदमा किसानहरूले मनाउने गर्छन् । तेस्रो विधिअन्तर्गत पर्ने ‘ग्याल्पो ल्होसार’ शेर्पा समाजका सम्भ्रान्त वर्गले मनाउने गर्छन् । खास ल्होसारको संज्ञा त्यसलाई दिइन्छ, जुन फागुन शुक्ल पक्षको प्रतिपदाबाट मनाउन सुरुवात गरिन्छ ।
यो पर्व भव्य र मनोरञ्जनपूर्ण मनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ । तीन दिनसम्म तामझामका साथ मनाइने यो पर्वको पहिलो दिन पँधेरामा गई चोखो पानी ल्याएर सर्वप्रथम जलदेवको पूजा आराधना गरिन्छ । तत्पश्चात् देवीदेवताको पूजा गरेर स्वादिष्ट खाना तयार गरी खाइन्छ । नजिकैको गुम्बामा गएर भक्तालुहरूले बुद्धको दर्शन एवम् पूजाआजा गरी पहिलो दिन मीठो र स्वस्थकर खाना खाएमा वर्षैभरि तन्दुरुस्त भइन्छ भन्ने मान्यता रहिआएको छ । पर्वको दोस्रो दिन, एकआपसमा शुभकामना प्रदान गरी स्वादिष्ट भोजन गर्ने गरिन्छ । गुम्बास्थित लामाहरूले विशेष पूजाअर्चना गर्ने गर्छन् । सार्वजनिक स्थल, चोक, घर र बस्तीहरूमा सामूहिक नाचगान गर्नु यस पर्वको विशेषता र रोचक पक्ष मानिन्छ । यो पर्वमा पनि मान्यजनसँग भेटेर बौद्ध ग्रन्थहरूको पूजा पाठ गरी ग्रहदशाको साथै भूतप्रेत पन्छाउने उद्देश्य पनि यो पर्वको क्रियाकलापभित्रै पर्छ । पात्रअनुसार यो चाड फागुन महिनातिर परे पनि तिब्बती पात्रअनुसार तिब्बती वर्षको अन्तिम महिनातिर पर्दछ जसलाई ‘दावा चुङिवा’ भनिन्छ । त्यसै महिनाको पछिल्लो दुई दिनदेखि तिब्बती पात्रबमोजिम नयाँ वर्षको पहिलो महिना ‘दावा लङकका’ तीन दिन गरी जम्मा पाँच दिनसम्म यो पर्व मनाइन्छ ।
यो वर्ष पुस पन्ध्र गते ‘योमरि’ पूर्णिमाको दिनमा काठमाडौँस्थित ज्यापू समाजको आयोजनामा ‘योमरि’ प्रदर्शन गर्ने कार्यक्रम छ । असारमा मानो रोपेर मुरी उब्जाउने सपना बोकेका किसानी धर्तीपुत्रहरूले धान भित्र्याएपछि चीनबाट २०२६÷०२७ सालतिर आयातीत ताइचिन चामलको पिठोबाट ‘योमरि’ बनाउने परम्परा छ । यसको आकारप्रकार पनि विशेष खालको हुन्छ । यो दिनमा बिहानै पूजाआजा गरी योमरिभित्र चाकु पकाएको लेदो भएपछि तिल मिसाएर बनाइन्छ । आजकाल स्वेच्छानुसार खुवा, काजु, मधेसी बदाम, मरमसला आदि राखेर पनि बनाइन्छ । जाडो मौसममा चामलको पिठोमा चाकु मिलाएर बनाएको ‘योमरि’ वैज्ञानिक छ । यसले शरीरमा तापक्रम बढोत्तरी गर्छ । सुरुमा गणेश भगवानलाई चढाई भान्छामा प्रयोग हुने कुचो, नाङलो, चुल्हो, पानीको घडा आदिको पूजा गरी योमरि चढाइन्छ । स्थानीय रैथाने बीउ–बिजन पाथीमा राखेर पूजा गरिन्थ्यो । ८० प्रतिशत जनता कृषिमा आधारित छन् । कुनै बेला धान नपुगेपछि बासमती, जेठेबुढो खेतमै बसाउँथ्यो भने आज कृषि विज्ञहरूले स्वदेशी रैथाने बीउ–बिजन संरक्षण र प्रवद्र्धनको सट्टा विदेशी धानको बीउ नामकरण गरेर गर्व र पौरख देखाएकोमा दुःख लाग्छ ।
संयोगले पुस पन्ध्रमा राई जातिहरूले मान्ने पर्व उधौली परेको छ । यस पर्वमा नाक्छोङ वा पुजारीले चण्डी थान, मार्गाथान, माङ्खिम आदि ठाउँमा मुन्धुम भनेर पूजा गर्ने चलन छ । पितृको पूजा गर्ने, ढोल झ्याम्टा बजाएर नाचगान गर्ने र मीठा खानेकुरा खाएर यो पर्व मान्ने चलन छ । अरू जनजातिहरूले पनि यो पर्व उल्लासपूर्ण तवरले मान्दै आएका छन् ।
पुस पन्ध्र लोकप्रिय चाड हो । पुरानो जमानामा बैङ्क र वित्तीय संस्थाहरूको दुर्लभता, यातायातको कठिनाइ भई कष्टकर जीवनयापनमा पिल्सिन बाध्य भएका किसानहरूले घरव्यवहार, खरखाँचो र ऐचोपैँचो गर्जो टार्न हुने खाने साहुमहाजनसँग यही दिनको सरसापटी मौखिकरूपमा लिने र चुक्ता गर्ने ‘भाका’ राखेर आ–आफ्नो चरिघण्टी व्यवहार टार्थे । साथै, निष्ठावान मानिसहरूले आफ्नो वचनमा अडेर ऋण चुक्ता गरी सच्चरित्रवान र नैतिकताको परिचय प्रस्तुत गर्थे । यो दिनमा मध्य पहाडी खोलाखेत, बगरमा लेकाली भेगमा निगालो, बाँसबाट बुनेर ल्याइएका डोका, डाला, थुन्से, भकारी, मान्द्रा आदि घरेलु सामग्रीहरूको हाटबजारले खरीदबिक्री गर्ने दुवै पक्षहरू लाभान्वित हुन्थे । यस्ता कुटिर व्यवसायको प्रवद्र्धनले जनजीविकाको सवालमा ठूलो टेवा पुग्थ्यो र पिता पुर्खाले आर्जेको आत्मनिर्भरताको कदरस्वरूप नयाँ पुस्तामा सीप–हस्तान्तरण भई समृद्धितर्फको मूल कडी हो । अर्कोतर्फ ‘अनदी’ चामलको ‘लट्टे’ (चाम्रे) स्वादिष्ट अचार–तरकारीसँग चेलीबेटीका साथ भोजन गर्दा जिब्रोमै अड्कन्थ्यो ।
त्यसैले, यस्ता धनधान्य धार्मिक आस्था र मूल्यमान्यता बोकेका यी पर्व–परम्पराको संरक्षण र संवद्र्धन गर्नु सरकार र नागरिक दुवैको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *