भर्खरै :

कृषि कार्य र धान्यपूर्णिमाको सम्बन्ध

 

नेपाल कृषिप्रधान देश हो । यहाँका ६४ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् । कृषि र चाडपर्वबीच गहन सम्बन्ध छ । प्रायशः चाडपर्व कृषि कार्यबाट फुर्सद हुने बेलामा पर्दछ । कृषि कार्य सकिएपछि चाडपर्व मनाउनलाई आर्थिकरूपमा पनि सहज हुने भएकोले यस्तो चलन चलाएको हुनुपर्दछ । यदि खेतीपातीको काम र चाडपर्व एकै समय परेमा न खेतीको काम राम्रो गर्न सकिन्छ न चाड मनाउन नै । त्यसैले पनि यस्तो चलन चलेको हुनुपर्दछ । धान रोपाइँ सकी त्यसको गोडमेल पूरा भएपछि दसैँ–तिहार र छठ सुरु हुन्छ । त्यस्तै धान बाली भित्राएपछि धान्यपूर्णिमा, माघे सङ्क्रान्ति इत्यादि पर्व हुन्छ । मानिस मानसिकरूपमा पनि स्वस्थ हुनु जरुरी छ । यसका लागि बेला–बेलामा आउने यस्ता चाडपर्वले मानिसहरूमा स्फूर्ति प्रदान गर्दछ । चाडपर्वले मानसिकरूपमा मानिसलाई स्वस्थ राख्न सहयोग गर्दछ । मानिस खुसी हुनु भनेको समाजमा सामाजिक समस्याहरू कम हुनु हो । हिमाल, पहाड, तराई जुनसुकै भौगोलिक क्षेत्र भए पनि त्यही परिवेशअनुसार चाडपर्व र जात्रा चलनचल्तीमा छन् ।
नेपालका विभिन्न जनजातिहरूमध्ये नेवार समुदाय पनि एक हो । नेवारी समुदायमा मनाइने विभिन्न पर्वहरूमध्ये धान्यपूर्णिमा पनि एक हो । यसलाई योमरी पूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेषगरी अन्नपूर्ण माताको पूजा गरिन्छ । अन्नपूर्ण मातालाई धर्ती माता पनि भनिन्छ । यसै दिन धनका देवता मानिने कुबेरको पनि पूजा गर्ने गरिन्छ । नेवारी समुदायमा योमरी एक विशेष परिकारको मानिन्छ । कृषिप्रधान देश भएको कारणले गर्दा बाली लगाउँदा र बाली भिœयाउँदाका समयलाई महत्वपूर्ण अवसरको रूपमा मनाउने चलन विभिन्न जातजातिमा छ । नेवार समुदायले धान बाली भिœयाएपछि योमरी पूर्णिमा मनाउँदछन् । धान एक मुख्य बाली भएको कारणले पनि किसानहरूले यसलाई विशेष प्राथमिकता दिने गर्दछन् । सामान्यतया धान बाली भिœयाएपछि नयाँ धान कुटेर त्यसको चामलको पिठोबाट परिकार बनाइन्छ । यसमा चाकु र तिललाई पकाएर लेदो बनाई राखिन्छ । हाल आएर चाकुको सट्टामा खुवा ,चिनी, मासुको किमा राखी बनाउने चलन बढ्दै छ । योमरीमा चाकुको प्रयोग गर्नुको कारण चिसो मौसममा चाकुले हाम्रो शरीरलाई न्यानो बनाउनुका साथै तागत पनि दिने भएकोले प्रायशः चाकु प्रयोग बढी हुने कुरा बुढापाकाहरू बताउँछन् । योमरी पूर्णिमा विशेषगरी मङ्सिर महिनामा पर्ने हुनाले त्यत्तिबेला चिसो बढेको हुन्छ र यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउने गर्दछ । पहिला विशेष अवसरमा मात्र बनाइने योमरी हाल आएर व्यापारिक हिसाबले पनि बनाएर बेच्ने गरिन्छ ।
योमरी पूर्णिमाको अवसरमा घरका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भई योमरी बनाउने गर्दछन् । साना बालबालिका र युवाहरू घर–घरमा गएर गीत गाउँदै योेमरी माग्ने पनि चलन छ । यसलाई नेवारीमा ‘योमरी फोनेगु’ भनिन्छ । हाल यस्तो चलन हराउँदै गएको छ । आजकल त बालबालिकाहरू पनि घरबाहिर निस्किएर रमाइलो गर्नेभन्दा विभिन्न आधुनिक ग्याजेटहरूमा कार्टुन ,गेम खेल्न, मुभी हेर्न व्यस्त हुन्छन् । हाल त कोभिड १९ को कारणले पनि हाम्रा विभिन्न जात्रा–पर्व औपचारिकतामा सीमित बनाइनुपर्ने अवस्था छ ।
आफ्नो संस्कृतिको संरक्षण हरेक जातजातिले आफैले गर्नुपर्छ । त्यसैको प्रतीकको रूपमा नेवार समुदायमा उनीहरू योमरी पूर्णिमा मनाउने गर्छन् । वास्तवमै हाम्रा चाडपर्व, जात्रा, भाषा, भेषभूषा रहेमात्र हाम्रो पहिचान रहन्छ । त्यसैले भनिन्छ, ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ ।
योमरी पूर्णिमाको बारेमा विभिन्न कथाहरू सुन्न पाइन्छ । यस पर्वको सुरुआत कहिलेदेखि भयो भनेर इतिहास खोतल्ने हो भने क्यअष्ब िज्ष्कतयचथ या ल्भउब िका अनुसार, भाषा वंशावलीका अनुसार काठमाडौँमा छैठौँ शताब्दीमा अंशुवर्माको पालादेखि योमरी बनाउने चलनको सुरुआत भएको कुरा उल्लेख गरिएको छ । यस्तै गरेर योमरी बनाउने चलनको सुरुआत कसै–कसैले यो प्रचलनको सुरुआत पाञ्चाल नगर हालको पनौतीबाट भएको मान्दछन् । यसैअनुसार त्यहाँ पहिले सुचन्द्र र कृता एक विवाहित जोडीले आफ्नो खेतबाट उत्पादन भएको नयाँ धानको चामलबाट चाकु हाली योमरी बनाए र अरू गाउँलेहरूलाई पनि बाँडिदिए । अरूहरूले पनि त्यो परिकारलाई सारै मनपराए । योमरी बनाउने प्रक्रियामा चामलको पिठोलाई मुछेर डल्लो बनाई त्यसभित्र चाकु हाली विभिन्न आकारको बनाइन्छ । प्रायःजसो त्रिभुज र गोलाकाररूपमा बनाउने गरिन्छ । कतिपयले त त्रिभुज आकार भनेको षट्कोणको आधा भाग हुने हुनाले यसले सरस्वती र बुद्धिमत्ताको सङ्केत गरेको भनी व्याख्या गर्ने गरिन्छ ।
वास्तवमै हाम्रा चाडपर्वहरू सामाजिक ,सांस्कृतिक, धार्मिक तथा वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । हाम्रो चालचलन र संस्कारहरूलाई कुरीति भन्नेहरू पनि विस्तारै हाम्रो संस्कृतिका राम्रा पक्षतिर आकर्षित हुँदै छन् । हाम्रो खानाका परिकारहरू विशेष प्रकारका साथै पौष्टिकताले भरिपूर्ण रहेका हुन्छन् । हाम्रो पुर्खाले बनाएका चाडपर्वले विशेष महत्व बोकेका छन् जसले गर्दा विश्वसामु हामी नेपाली भनी शिर ठाडो बनाउन हामी सफल भएका छौँ । चाडपर्व र आर्थिक क्रियाकलापबीच पनि अनौठो तादात्म्यता कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *