भर्खरै :

सार्वजनिक सम्पत्ति

साँझको ५ बजेको थियो, छोरी सीता केही लेखपढ गर्दै थिइन् “छोरी ! पोखरीबाट दुई – चार बाल्टिन पानी लिएर बारीमा हाल त !” – आमा मङ्गली बुइँगलबाट कराइन् । – “आमा ! पोखरीमा पानी सुकिसकेको छ । माछालाई पानी पुग्दैन । टोल–छिमेकमा केही गरी आगो लाग्यो भने दमकलको लागि पनि त पानी चाहिन्छ । अहिले पानी नलिऊँ आमा !” सीताले जवाफ फर्काइन् ।
यति सुन्नासाथै आमा मङ्गली रिसाउँदै तल झरिन् र छोरीलाई झपारिन् – “दुई चार अक्षर के पढी, पोखरीको पानी आफ्नो बारीमा हाल्न मान्दिन यो सीता !”
सीताले आमालाई सम्झाउने पाराले भनिन् – “होइन आमा, हाम्री शिक्षिकाले विभिन्न गाउँ र जिल्लामा आगो लाग्दा नजिकै पानीको मुहान नहुँदा सारा गाउँ खरानी भएको सुनाउनुभएको थियो ।”
मङ्गली फेरि ठूलो स्वरले कराइन् – “हाम्रो बारीमा तरकारी रोपिएको छ । बिनापानीले तरकारी सप्रिँदैन भन्ने कुरा तिम्री शिक्षिकालाई के थाहा ! पानी नहालिकन के तिम्रो बारीको तरकारी सप्रिन्छ ?”
मङ्गली रिसाएको देख्दा सीता एकैछिन चुप लागिन् र आफ्नो पढाइलाई निरन्तरता दिन खोजिन् ।
मङ्गली भने फेरि बुइँगलतिर उक्लिन् ।
अँध्यारो हुन थालेको थियो । सीताका बुबा आसबहादुर “भात पाक्यो ?” भन्दै बुइँगल पुगे ।
घरको नजिकै एउटा ठूलो पोखरी थियो । सार्वजनिक ऐतिहासिक पोखरीका डिलहरू चौडा थिए । पोखरीको चारै कुनामा ठूलठूला पीपलका रुख थिए । गर्मी याममा साँझ र बिहान टोल र नगरका केटाकेटीदेखि ज्येष्ठ नागरिकसम्म घुमफिर गर्न आउँथे । डिलको छेउछाउमा नेपाली मौलिक शैलीका पाटीहरू थिए । पोखरीको उत्तर–पूर्वी डिलमा एउटा सानो मन्दिर पनि थियो । मन्दिरमा बिहान र बेलुका पूजा गर्न आउने तीर्थालुहरूले माछालाई मस्यौरा र गोलफुकी खुवाउने गर्थे । पोखरीमा रङ्गी–बिरङ्गी माछा पौडिरहेका हुन्थे । जाडोमा पोखरी वरपर घाम झुल्किसकेपछि वा दिउँसो मानिस घाम तापिरहेका हुन्थे । बीचबीचमा केही फूलका बिरुवाले पोखरी बगैँचाजस्तै देखिन्थ्यो । पोखरीको चारै कुनामा पिपलको रुखमुनि खानेकुरा बेच्ने पसलहरू थिए । स्कुल र कलेजका विद्यार्थी पोलेको मकै, पानीपुरी, फलफुल, मः मः, चनाचट्पटे, भुटेका मकै, चना केराऊ, चकलेट र चुइङ्गम आदि किन्थे र खान्थे ।
मङ्गलीले खाना पस्किन् । आसबहादुर र छोरी सीता खाना खान पिर्कामा बसे । खानाको थाली आफूतिर तान्दै आसबहादुरले भने – “आज टोलमा पोखरीको संरक्षणबारे बैठक भएको थियो । भोलि बिहान टोलवासी मिलेर पोखरीको डिल मिलाउने, खुड्किलाहरू बनाउने, बिरुवा जोगाउने र सरसफाइ गर्ने निर्णय भएको छ । बाल्टिन, पाइप र अरू भाँडाहरू लगी पोखरीको पानी नलिन केटाकेटीहरू प्रचारमा लाग्दै छन् ।”
आफ्नो बुबातिर हेरेर सीताले सोधिन् – “बुबा, के त्यसो भए हामीले पनि आफ्नो बारीको निम्ति पोखरीको पानी ओसार्न नहुने भो ?”
“हो त छोरी, टोलवासीको निर्णय राम्रो हो । पोखरीको माछा जनताको सम्पत्ति हो र पोखरीमा पानी कम भएमा माछा मर्नेछन् ! कतै आगो लागेमा पानीको अभावले टोलका घरहरू सबै सखाप हुनसक्छन् ।”
आसबहादुरको कुरा सुनेर मङ्गली झस्किन् र भनिन् – “ए ! अघि सीताले त भन्दै थिइन्, मैले केटाकेटीको कुरा भनेर पत्याएकी थिइनँ । त्यसो भए छोरी, अब हाम्रो बारीको निम्ति पोखरीको पानी नओसार्नू !”
खाना खाइसकेपछि आसबहादुर मटान ओर्ले । सीताले जुठो भाँडा माझ्न आमालाई सघाउँदै भनिन् – “आमा, म पनि भोलि टोल र छिमेकी साथीहरूसँग घरघरमा गई पोखरीको पानी नओसार्न सम्झाउन जान्छु हुन्न ?”
“हुन्छ सीता, सार्वजनिक सम्पत्ति जोगाउनुपर्छ र टोलछिमेकका सबैसँग मिलेर सार्वजनिक काममा सघाउनुपर्छ” – मङ्गलीले छोरीलाई भनिन् ।
मङ्गली र सीता काम सकाएर मटानमा झरे ।
(साहित्यकार हरिबहादुर श्रेष्ठको ‘एकादेशको कथा’ कथासङ्ग्रह (२०६७) बाट सम्पादनसहित–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *