भर्खरै :

पढाइ, परीक्षा अनि इन्टरनेटको लत

गत वर्ष कोभिड १९ को कारण सरकारले एसईई परीक्षा स्थगित गरेकोे थियो । यसको कारण लाखौँ परीक्षार्थी र तिनका अभिभावक प्रभावित भए । विद्यालयहरूले विद्यार्थीको मूल्याङ्कन गरी एसईईमा अधिकांश परीक्षार्थीहरूलाई राम्रै ग्रेडमा उत्तीर्ण गराए । यसले गर्दा परीक्षार्थीहरू उत्साहित भए भने मेहनती परीक्षार्थीहरूले आफूलाई ‘कोरोना ब्याच’ को बिल्ला लाग्ने हो कि भन्ने चिन्ता व्यक्त गरे । यस वर्ष सरकारले जेठ १३ देखि एसईई परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरिसकेको छ । परीक्षाकोे तालिका सार्वजनिक भएलगत्तै विद्यालय सञ्चालकहरू, शिक्षक, अभिभावक र विद्यार्थीहरू तातिन थालेका छन् । कति विद्यालयहरूले अभिभावक बैठक र भेलाहरू गरी परीक्षाको तयारीबारे छलफल गर्न थालेका छन् भने केही अभिभावकहरू आफूले नानीबाबुको पढाइका लागि जति खर्च गरे पनि सन्तानले परीक्षामा राम्रो नतिजा ल्याउन नसकेको गुनासो गरिरहेका छन्् । आफ््ना छोराछोरीले पढाइमा राम्रो गर्न नसक्दा कतिपय अभिभावकले विद्यालयलाई दोष दिने र कतिले शिक्षक–शिक्षिकालाई आरोप लगाउने गरेका छन् ।
पाठ्यक्रम समायोजन गर्ने सरकारको योजनाको कारण शिक्षक–विद्यार्थीहरूमा दुविधा उत्पन्न भएको अवस्थामा अभिभावकहरू थप चिन्तित छन् । वास्तवमा अभिभावकले आफ्ना नानीहरूको पढाइको लागि पैसा खर्च गरेरमात्र हुँदैेन, सोहीअनुसार नानीहरूको लागि समय दिन आवश्यक छ । अभिभावकहरूको काँधमा थुप्रै जिम्मेवारी छ । आफ्नो रोजीरोटीको लागि निरन्तर मरिमेट्ने, अर्थोपार्जन गर्ने र समाजमा इज्जत प्रतिष्ठाका साथ जिउन आधारभूत कुराहरू प्रााप्तिका लागि निरन्तर काममा अभ्यस्त रहनुपर्ने बाध्यताले सन्तानको पढाइमा ठोेस ध्यान दिन सकिरहेका छैनन् । आफ्नो लगानीअनुसारको प्रतिफल खोज्ने आधुनिक समयमा पढाइ, वृत्ति विकास गर्ने होडबाजीमा खरो उत्रनु प्रत्येक परीक्षार्थी र तिनका अभिभावकको निम्ति अत्यन्तै चुनौतीपूर्ण छ । विशेषगरी अभिभावकहरू यतिबेला आफ्ना सन्तानलाई मोबाइलको लतबाट कसरी छुटाउने र शारीरिक व्यायाम हुने खेल खेल्न वा अन्य गतिविधि गर्न कसरी रोक लगाउनेजस्ता कुराहरूमै चिन्तित देखिन्छन् । सामाजिक सञ्जालका थुप्रै सकारात्मक पक्षहरू भएजस्तै यसका नकारात्मक पक्ष पनि उत्तिकै छन् । मानिसको दैनिक जीवनमा सामाजिक सञ्जालकोे बढ्दो लोकप्रियताले गर्दा मोबाइल प्रयोगकर्ताहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ ।
कोभिड १९ को कारण देशमा बन्दाबन्दीको बेला विद्यालय–कलेजहरूले चलाएका अनलाइन तथा भर्चुअल कक्षाहरूको असरको रूपमा अहिले पनि विद्यार्थीहरूबीच मोबाइल प्रयोग बढ्दो छ । स्रोत–साधनको अभाव र सन्दर्भ सामग्रीको अपर्याप्ततामा अहिलेका विद्यार्थीहरूमा मोबाइल, नेट र गुगल खोजीमार्फत सजिलै प्रश्नउत्तर गर्ने बानी विकास भएको छ । हुन त सूचना प्रविधि र सञ्चारको युगमा मोबाइल प्रयोगलाई नकारात्मकरूपमा चर्चा गर्नु उपयुक्त नहोला । आफूलाई थाहा नभएको शब्दार्थ, शिक्षक वा साथीले पठाएको नोट हेर्न मोबाइलको प्रयोग उचित हो तर घण्टौँ फ्रि फायर, पब्जीजस्ता गेम खेलेर वा साथीसित अनावश्यक च्याट गरेर बस्नु अर्थहीन लाग्दछ । यसले समयको बर्बादी वा मन बहलाउनेबाहेक अरू केही अर्थ राख्दैन । बरु, सामाजिक सञ्जाल, मोबाइल नेटको अत्यधिक प्रयोगले विद्यार्थीहरूमा रचनात्मकताको कमी देखिएको अनुभव प्रायः ले गरिरहेका छन् । अर्कोतर्फ तिनीहरूमा आत्मविश्वासमा कमी, मानसिक शक्तिमा ¥हास, अल्छीपना, अटेरीपनाजस्ता अवगुण देखिन्छ । हुन त नानी बाबुहरूले परीक्षामा पाएको ग्रेड वा अङ्कले मात्र तिनीहरूको चरित्र निर्माणमा सघाउँछ भने होइन । मनोवैज्ञानिकहरूका अनुसार प्रत्येक बालबालिकासित कुनै न कुनै किसिमको बौद्धिक, शारीरिक तथा मानसिक क्षमता हुन्छ । शिक्षक–अभिभावकहरूले ती गुणहरूलाई पहिचान गरी सोहीअनुरूपको वातावरण प्रदान गर्न सहयोग गर्नुपर्दछ । विद्यार्थीहरूलाई २४ सै घण्टा पढ पढ भनेर हुँदैन, बरु निश्चित समय पढ्न लगाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा तिनको सर्वाङ्गीण विकासमा ठूलो टेवा पुग्नेछ । अतः पढाइमा आशातीत नतिजा प्राप्तिका लागि विद्यार्थीलाई उचित वातावरण हुनु अपरिहार्य छ ।
शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएको खण्डमा असल र नैतिकवान नागरिक तयार हुने हुनाले विद्यार्थीका प्रत्येक गतिविधिलाई निगरानीमा राख्नुपर्दछ । त्यस्तै हरेक विद्यार्थीलाई आफ्नो पढाइको उद्देश्य वा लक्ष्य थाहा हुनुपर्दछ । पढाइका साथै जीवनमा अगाडि बढ्न सही र गलत छुट्याउन सक्ने क्षमताको विकास गर्नु जरुरी छ । तर, अभिभावकले आफ्ना छोराछोरीलार्ई भविष्यमा डाक्टर, इन्जिनियर, विमानचालक बन्नुपर्ने भनी जतिबेला पनि पढ्न दबाब दिइरहने प्रवृत्तिले नकारात्मक परिणामतर्फ लग्ने हुनाले तिनीहरूको मनोविज्ञान, आवश्यकता बुुझेर प्राथमिकता क्रमानुसार व्यवहार गर्ने आदत बसाल्नु राम्रो हुन्छ । तिनका गल्तीमा गाली नगरी, रिस नदेखाई संयमित हुने, बरु गल्ती सच्याउन लगाउने, अध्ययन र सिकाइमा उत्प्रेरणा जगाउने, परिस्थिति हेरी सदा यथोचित सहयोग गर्न तत्पर रहने हो भने कुनै पनि परीक्षामा परीक्षार्थीहरूले सहजै सफलता हासिल गर्नसक्नेछन् । कतिपय परीक्षामा पढाइमा राम्रा विद्यार्थीहरूसमेत विभिन्न कारण असफल हुन्छन् । विद्यालय, घर, परिवार समाजमा गरिने व्यवहार र विद्यार्थीले पाउँदै आएको वातावरणले तिनीहरूकोे पढाइमा अहम् भूमिका खेल्दछ । निश्चित समय तालिका बनाई अध्ययन गर्ने बानी बसाल्ने, खानपिन, उचित शारीरिक व्यायाम, अध्ययनमा नियमितता, कुसङ्गत र कुलतबाट टाढा रहने विद्यार्थीहरूले कुनै पनि परीक्षामा सहजै सफलता हासिल गरी आमाबुबा, गुरु वर्ग तथा समाजको सपनालाई साकार पार्नसक्ने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *