उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
एमाले र माओवादी केन्द्रभित्रको आजको द्वन्द्वले नेपालको कम्युनिस्ट वा वामपन्थी आन्दोलनलाई अघि बढाउँछ वा पछि धकेल्छ ? हरेक द्वन्द्व र विभाजन खराब नै हुन्छ भन्ने हुँदैन । कवि हरिबहादुर श्रेष्ठको ‘आकाश बाँधिएको छैन’ कवितासङ्ग्रहमा समावेश एउटा कविताको शीर्षक छ– ‘चँुडिएको हरेक बन्धन स्वतन्त्रताको भूमिका बन्नेछ’ । अर्थात् कम्युनिस्ट आन्दोलनभित्रका सैद्धान्तिक द्वन्द्वले नकारात्मक प्रभाव नै पार्ने गर्दैन । उदाहरणको लागि नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव केशरजङ रायमाझीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै रूसी सामाजिक साम्राज्यवाद तथा पञ्चायती व्यवस्थाको पाउमा चढाउँदा कदाचित पुष्पलाल श्रेष्ठजस्ता नेताहरूले सैद्धान्तिक सङ्घर्ष र अलग पार्टी स्थापना नगर्नुभएको भए कम्युनिस्ट आन्दोलन नै बिसर्जनको बाटोमा जाने थियो । त्यस्तै नारायणमान बिजुक्छेँको नेतृत्वमा तत्कालीन पुष्पलाल समूहभित्र शोषक वर्गको प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेससँग पञ्चायतको विरोधमा कार्यगत एकता गर्ने नाममा वर्गसङ्घर्ष र किसान सङ्घर्षलाई प्राथमिकता नदिने नीतिविरुद्ध नउभिएको भए कम्युनिस्ट आन्दोलनको वैचारिक धार भुत्ते हुने थियो ।
इतिहासका ती सैद्धान्तिक सङ्घर्षसँग के आज एमालेभित्रको र एमाले–माओवादीबीचको झगडालाई तुलना गर्न सकिन्छ ? मिल्दैन । किनभने आज यी दलहरूभित्रको झगडा कम्युनिस्ट आन्दोलनलाई अग्रगति दिन भएको झगडा होइन, बरु कम्युनिस्ट आन्दोलनलाई उनीहरूको झगडाले बदनाम गरिरहेको छ । कम्युनिस्ट आन्दोलनलाई बदनाम गरेर नेपाली जनतामा कम्युनिस्ट विचारधाराप्रतिको बढ्दो आकर्षणलाई कमजोर बनाउन आज यी सबै गतिविधि भइरहेका छन् । विशेषतः भारतीय शासक वर्ग नेपाल कम्युनिस्टहरूको आधारक्षेत्र बन्न सक्नेमा सदैव सजग देखिन्छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नवोदित शासक वर्गले तत्कालै राणाशासनलाई बिदा गर्न चाहेको थिएन । बेलायतीहरूले जस्तै भारतीय शासकहरूले आफ्नो नुनको सोझो गरेसम्म नेपालको सत्तामा कुनै फेरबदल गर्ने विचार गरेका थिएनन् । तर, चिनियाँ जनमुक्ति सेनाले तिब्बती जनतालाई मुक्त गरेपछि त्यसको अवश्यम्भावी प्रभाव रोक्न भारतीय शासक वर्गले भारतमै बसेर आपसमा खिचातानी गरिरहेका नेपालका प्रजातन्त्रवादी शक्तिहरूलाई उचालेर ‘केही बारुद पटाका पड्काएर’ राणाशासनलाई तर्सायो । आपसी कलह, अति केन्द्रित या कमजोर पूर्वाधारको कारण राणाहरूलाई तर्साउन पटाकाको आवाज नै मनग्य भयो । यसप्रकार आफ्नो काखमा हुर्केका कथित प्रजातन्त्रवादी शक्ति र राणाशाहीहरूबीच सम्झौताबाट भारतले कम्युनिस्टको प्रवाहलाई रोक्न भारत सफल भयो । केआई सिंह काण्डलाई औँल्याएर पछि विसं २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थोपरेर कम्युनिस्ट आन्दोलनलाई अझ कमजोर बनाइयो ।
२०५२ सालमा भारतकै रणनीतिअनुसार नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङको नाम अघि सारेर माओवादी सशस्त्र विद्रोह गर्न लगाइयो । व्यक्तिहत्याको अराजकतावादी आन्दोलनको नियति असफलतामा टुङ्गिनु नै थियो । अन्ततः माओवादी उग्रवामपन्थ आज दक्षिणपन्थमा गएर बिर्सजन भयो । इतिहासको यो आरोहअवरोहबाट के स्पष्ट हुन्छ भने भारतीय शासक वर्ग, पश्चिमा शक्ति र नेपालकै प्रतिक्रियावादी शक्तिहरू नेपाल कम्युनिस्ट आन्दोलनको केन्द्र बन्न सक्नेमा सदैव सजग छन् । लडाकुहरूको देश नेपालमा कम्युनिस्ट विचारको प्रचार भए संसारभर प्रभाव पार्ने अर्को क्युवा जन्मिन सक्नेप्रति उनीहरू संवदेनशील छन् । आज कम्युनिस्ट नाम भिरेका दलहरूलाई घिनलाग्दो झगडामा फसाएर जनताबीच कम्युनिस्ट आन्दोलनबाट नेपाली जनतालाई टाढा राख्ने गतिविधिको मूल ध्येय यही हो । नक्कली कम्युनिस्टहरूको झगडा देखाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने चालबाजीदेखि सजग हुन जरुरी छ ।
Leave a Reply