भर्खरै :

संस्कार, इज्जत र पैसा

काष्ठकलामा आधारित विभिन्न परम्परागत नेवारी झ्याल, ढोका, खापा, मयुर झ्याललगायत अन्य धातुका पानस, सुकुन्दा, बुद्ध तथा देवी–देवताका मूर्ति र सजावटका सामानहरू बिक्री गर्दै आएका एक मित्रले चिनियाँ बजारमा नेपालमा उत्पादित ती वस्तुहरूको माग बढिरहेको जानकारी दिए । उत्तरी छिमेकी मित्र राष्ट्र जनवादी गणतन्त्र चीनमा आर्थिकलगायत अन्य कारोबारमा सरलता ल्याउन कुनै पनि विदेशी व्यापारीलाई चिनियाँ भाषाको सामान्य ज्ञान हुनु आवश्यक छ भन्ने पनि उनलाई बोध भएछ । यही वास्तविकता मनन गरी आफ्नो व्यापारको साँघुरो परिधिलाई अलि फराकिलो पार्न उनी चिनियाँ भाषाको अध्ययनमा तल्लीन भए । अङ्ग्रेजी भाषाको ज्ञान राम्रो नभए पनि केही महिनाको भाषा अध्ययनपश्चात् कारोबार गर्ने सिलसिलामा संवादमा प्रयोग हुने विभिन्न वाक्यांशहरू बोल्न सिके । आफूमा आत्मविश्वास बलियो भएपछि चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेवारी हस्तकलाले स्थान पाउने कुरामा पक्का भएपछि उनी गन्तव्यतिर लागे ।

मजदुरहरूका लागि वर्षायाममा पनि बिनाझुल मस्तनिद्राको आनन्द लिने सम्भावना हुने थिएन ।
कुनै क्षेत्र वा विषयमा विशिष्टता हासिल गरेका कारण विकसित मुलुकहरूले ठूलै मेहनत र अन्य थुप्रै सुविधासहित अध्ययन र अन्य कामका लागि दिइएको अवसरलाई लात मारी आफ्नै मुलुकमा परिश्रम गर्न मन पराउने देशभक्तहरूको योगदानलाई पनि इतिहासले सही मूल्याङ्कन गरेकै हुन्छ, जसले केवल पैसाका लागि आफ्नो बुद्धि र ज्ञान बिक्रीमा राख्दैन । त्यसो त विश्वविद्यालयबाट आफूले हासिल गरेको बुद्धि र ज्ञान भ्रष्ट नेताको चम्चे बनेका बौद्धिक दासहरू हाम्रो देशको हरेक जिल्लामा होलसेलमा भेटिन्छन् । त्यतिसम्म गिर्नु छ भने शैक्षिक योग्यता हासिल गर्न के खाँचो थियो र ?

घर जग्गा दलाली र इँटा भट्टामा पनि आफ्नो संलग्नताका कारण प्रतिफल राम्रो आएकोले कमै समयमा सोचेको भन्दा उनको आर्थिक हैसियत बढ्यो । सुन्दर प्राकृतिक छटाले सजिएको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण विभिन्न स्थानहरूमा उनले होटल या रिसोर्ट सञ्चालन गर्न थाले । साइकल, मोटरबाइक हुँदै चारपाङ्ग्रेमा गुड्न थालेपछि आफ्नो आर्थिक औकातको आधारमा टोल छिमेकले नवधनाढ्य भनी सम्बोधन गर्दा उनको खुट्टाले बिस्तारै भुइँ टेक्न छोड्यो । भक्तपुरका विद्यालयहरूबाट आफ्ना नानीहरूको साथसङ्गत ठूलावडाहरूका सन्तानहरूसँग कदापि नहुने निचोडमा पुगे । व्यक्ति घुस्याहा होस्, चाहे भ्रष्टाचारी या रक्तचन्दनको तस्करी वा गुण्डा होेस् उनलाई सरोकारको विषय नै भएन । पहुँचवालाका सन्तानहरूसँग आफ्ना छोराछारीहरूको मित्रताको डोरीले बेरिएको हेर्न उनी लालायित भए ।
सरकारी कार्यालयका सचिव, महानिर्देशक, भन्सारका हाकिम, नाम चलेका डाक्टर, मन्त्रीहरूसँग उठबस भएका ठेकेदारका छोराछोरी पढ्ने महँगा विद्यालयमा आफ्ना केटाकेटी भर्ना गर्न पाए आफ्नो पनि इज्जत र सामाजिक प्रतिष्ठा बढ्ने सपना उनले देख्न थाले । असल, इमानदार र सज्जन नागरिकहरूका बारेमा तिनको ध्यान गएन । सामान्य पेट दुखेको बेला निःशुल्क उपचारको बहानामा एउटा किड्नी झिकी गरिब सुकुमवासीमाथि अग्घोर पाप गर्ने चिकित्सक, आफ्ना र २१ औँ शताब्दीका बौद्धिक दासका छोराछोरी नातागोतालाई अध्ययनका लागि विदेश पठाउन देशको सार्वभौमलाई दाउमा राख्ने देशद्रोही नेतालगायत अति भ्रष्ट उच्चपदस्थ सरकारी कर्मचारी, ठूला पार्टीका हुक्के र चम्चे बनेर प्राकृतिक सन्तुलन बिगारी विद्यमान जैविक विविधता सत्यानाश पार्ने बिचौलिया र ठेकेदारहरूसँगै क्यासिनो अनि डिस्कोमा ब्ल्याक लेबलको चुस्की तान्दै बसिबियाँलो गर्न पाएकोमा उनी मख्ख थिए ।
ती अपराधीहरूको शरीर शिरदेखि पैतलासम्म पापले भरिएको वास्तविकता आफ्नो चासोको विषय हो भन्ने कुरा उनले सोच्नै छोडे । बौद्धिक र निःस्वार्थरूपले समाजलाई दिने सेवा र योगदानको हिसाबले आफू पत्रु भए पनि धन सम्पत्तिकै कारण नक्कली गन्यमान्यहरूसँगको उठबस गर्न सक्ने यो असामाजिक हैसियतमा उनले गौरव गरे । किनभने उनको सोचाइमा माटोसँग मितेरी लाउँदै अन्न उब्जनी गर्न सधैँ व्यस्त रहने आफ्ना वरिपरिका ‘किस्क्वार दाइहरू’लाई यस्ता ‘भीआईपीहरू’ को छेउसम्म पुग्नु पनि आकाशको फल हुन्छ । तर, अनैतिक र निम्नस्तरका मानिसहरू भए पनि त्यस्ताहरूको दायाँ–बाँयामा रहनु उनका लागि अण्डा फुटाउन जत्तिकै सहज छ । त्यसैमा उनी आफूलाई वरिष्ठ ठान्थे, कसैले तपाईँ नभने पनि आफै मपाईँ ¤ कठै बरा ¤ कहाँसम्मको तुच्छ विचार ! त्यो नवधनाढय्को सोच्नसक्ने क्षमता भनेकै त्यति नै हो, जुन सदैव घृणित हुन्छ । हातका विभिन्न औँलाहरूमा एक–दुई तोलाको सुनको औंठी, घाँटीमा मोटो सुनको सिक्री र नाडीमा सुनकै ब्रास्लेट लगाउन सक्ने मान्छे नै उनीहरूका लागि खान्दानी, भीआईपी र समाजका प्रतिष्ठित व्यक्तित्व हुन् । मित्र राष्ट्रबाट प्राप्त छात्रवृत्तिलाई त्यागेर देश र जनताको सेवामा आफूलाई समर्पित गर्ने, नैतिकतालाई प्राथमिकतामा राखेर समाज र दुःखीजनको निःस्वार्थरूपले योगदान गर्ने व्यक्तिहरूसामु शिर ठाडो गरी हिड्न ती खुरापातीहरूलाई हरबखत कठिन हुन्छन् । पाप गरी कमाएको अकुत सम्पत्तिको कारण हङकङ र बैङ्ककमा सपिङ गर्ने औकात भए तापनि भित्री मनले स्वयम्लाई सही मूल्याङ्कन गरिरहेको हुँदैन । तिनीहरूलाई मीठो निन्द्राका लागि औषधि या अन्य मादक पदार्थको सेवन अनिवार्य हुन्छ । सुख, शान्ति र मीठो निद्रा पैसाले किन्न पाइने भए गरिब किसान र मजदुरहरूका लागि वर्षायाममा पनि बिनाझुल मस्तनिद्राको आनन्द लिने सम्भावना हुने थिएन ।
कुनै क्षेत्र वा विषयमा विशिष्टता हासिल गरेका कारण विकसित मुलुकहरूले ठूलै मेहनत र अन्य थुप्रै सुविधासहित अध्ययन र अन्य कामका लागि दिइएको अवसरलाई लात मारी आफ्नै मुलुकमा परिश्रम गर्न मन पराउने देशभक्तहरूको योगदानलाई पनि इतिहासले सही मूल्याङ्कन गरेकै हुन्छ, जसले केवल पैसाका लागि आफ्नो बुद्धि र ज्ञान बिक्रीमा राख्दैन । त्यसो त विश्वविद्यालयबाट आफूले हासिल गरेको बुद्धि र ज्ञान भ्रष्ट नेताको चम्चे बनेका बौद्धिक दासहरू हाम्रो देशको हरेक जिल्लामा होलसेलमा भेटिन्छन् । त्यतिसम्म गिर्नु छ भने शैक्षिक योग्यता हासिल गर्न के खाँचो थियो र ? गरिमामय विश्वविद्यालयको प्रमाणपत्रको यतिविघ्न बेइज्जत हँुदैनथ्यो ।
अन्य समुदायमा जस्तै नेवार समुदायमा पनि टुप्पोबाट पलाएका नवधनाढ्यहरूका छोराछोरीले नेवारी भाषाको प्रयोग त परको कुरा, नेपाली बोल्दा पनि क्रियापदबाहेक प्रायः सबै शब्दहरू अङ्ग्रेजीमा बोलेको सुन्दा परिवारजन दङ्ग पर्छ । मनमनै भक्तपुरको यो पम्परागत समाजभन्दा उनीहरू धेरै माथिल्लो वर्ग वा सुसंस्कृत परिवारजस्तो लाग्छ तिनीहरूलाई । वरपरका छिमेकीहरू आफूसँग मेल नखाएको वा स्तर नमिलेको जस्तो भान पर्छ । असल खराब चरित्रसँग कुनै लेनादेना छैन, ७६ जिल्लाका मानिसहरू बसोबास गर्ने काठमाडौँमै घरजम गरौँ झंैँ लाग्छ । गा¥होसारो पर्दा र आर्थिक अवस्था जीर्ण भएको बेला मादल बजाएर सघाउने इष्टमित्र र साथीहरू अब उनको लागि पराई भए । “हामी त बिजिनेस म्यान हौँ, राजनीतिबाट टाढा हुनुपर्छ, त्यसउसले काङ्गे्रस, नेकपा, नेमकिपा र पञ्च सबैको साथ चाहिन्छ कसैसँग पनि तीतोपिरो हाम्रा लागि आर्थिक नोक्सान हुनसक्छ अन्यथा बिजिनेसमा सफल हुन गा¥हो हुन्छ”, यो उनीहरूको मुखमा झुन्डिएको वाक्य हो ।
SLC पछि A Level पढ्ने अधिकांश विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेशमै जाने हो किनभने ती विद्यार्थीका नवधनाढ्य अभिभावकहरूलाई नेपालको शिक्षाप्रति विश्वास छैन रे ! खेतमा पसिना बगाई धर्तीपुत्रका छोरा हुञ्जेल यस्तो विचार आएको थिएन, उर्वरा भूमिको बेचबिखनलगायत अन्य धन्दाबाट अकुत सम्पत्ति हात लागेपछि आफ्नै मुलुकको शिक्षा प्रणाली माथि विश्वास गुम्छ, आफ्नै समाज अब आएर तल्लो स्तरको लाग्न थाल्छ । हिजो गाउँबाट राजधानी झर्दा खुट्टामा चप्पलमात्र लगाउने हैसियत रहेका तर आज राजनीतिक व्यक्तित्वको आवरण ओढेर गर्नै नहुने कार्य गरी अकुत कालो धन जम्मा गर्ने नेताहरू जस्तै उनलाई अब ब्ल्याक लेबल र रेड लेबलको बानी लाग्यो रे ! उनी आफूलाई हाई प्रोफाइलको व्यक्तिमा आफूलाई पनि दर्ज गर्छन्, औँठा छाप भएर के भो ? “विश्वविद्यालयको प्रमाणपत्र बोकेर गोजीमा सुको नभएकाहरू कामको खोजीमा हामीलाई पुकार्न आउँछन्”, उनी फुर्ती गरेर भन्छन्, “महँगा विदेशी रक्सीको सेवन गर्नु ठूलाबडाका विभिन्न विशेषताहरूमध्येको एउटा हो ¤”
तर गौप्राणी सरिका मोहीलाई ललाइ फकाइ एक रोपनीको १ लाखमा खरिद गरी आनाको १० लाखमा बिक्री गर्नसकेको अवसरमा उत्सव बनाउन गरिएका जमघटमा दुर्योधन र कर्णको जस्तो प्रगाढ सम्बन्ध घोषणा गर्ने दलालीहरूबीच हुने आर्थिक कारोबारमा बेइमानी नियतको अत्यधिक हावी हुन्छ । शून्य पारदर्शिताका कारण क्षणभरमा त्यो मित्रता ध्वस्त भएका थुप्रै उदाहरणहरू छन् ।
शुभलाभ र नाफा नोक्सानसँग मात्र सरोकार राखी सिद्धान्त, सेवाभाव र इमानदारीतालाई प्रमुख प्राथमिकतामा नराखी गरिएको मित्रता पुँजीवादी दुनियाँमा लामो समयसम्म टिक्दैन, बदनाम हुनैपर्छ । भनिन्छ, पुँजीवादी समाजमा गोत्र र धर्म परित्याग गर्नु त सामान्य हो । किनभने आफ्नै आमा एकजनाबाहेक सबथोक बिक्रीमा राख्ने सम्भावना नकार्न गा¥हो हुन्छ त्यो समाजमा । न यी नेताहरूमा राजनीतिक संस्कार छ, न त अहिले गल्लीमा देखिने नवधनाढ्यहरूमा सामाजिक संस्कार नै । केबल छ त छक्कापञ्जा र बेइमानी गरी जोडेको अकुत सम्पत्तिको अहम् ¤ त्यसो त आयल निगम, भन्सार, कर, मालपोत कार्यालय र गृहमन्त्रालय मातहतका कार्यालयमा रही विनापरिश्रम अकुत सम्पत्ति जोड्न पल्केका कर्मचारीहरू पनि उस्तै हुन् । यी सबै भ्यालेन्टाइन डे, गुड फ्राई डे, न्यू एर क्रिस्मस डे इत्यादि नामका आयातीत संस्कारमा रमाई पैसा उडाउने होडमा छन् । रगत पसिना बगाई हड्डी खियाएर कमाएको सम्पत्ति भए पो नचाहिँदो फजुल खर्च गरी रवाफ देखाउने कार्यलाई घृणा गर्छ ।
नेवारी परम्परागत संस्कारअनुसार हरेक चाडपर्वपछि विवाहित छोरीचेलीलाई माइतमा भोजकै लागि निमन्त्रणा दिई गरिने रमाइलो पारिवारिक जमघट ‘नखात्या’ बोलाइन्छ । एकजना नवधनाढ्य मित्रले आफ्ना छोराका साथीहरूलाई पनि दसैँको नखात्यामा आउन निमन्त्रणा गरेछन् । बाहुन क्षेत्रीका छोराछोरी भए पनि नेवार समुदायमा हुर्केका कारण मासुलगायतका विभिन्न परिकारहरूको राम्रो पारखी भएका उनी उक्त समुदायको सामाजिक जमघटमा सरिक हुन असाध्यै मन पराए । ठूलाबडाका छोराछोरीहरूलाई पाहुनाको रूपमा सत्कार पाउँदा पारिवारजन दङ्ग थिए । टीभीमा प्रसारण भइरहेको फूटबल प्रतियोगिताको मज्जा लिँदै कोठामा खानाको विभिन्न परिकारको मीठो स्वादमा रमाउंँदै गरेका आफ्ना कलेजका साथीहरूसँग उनी पनि व्यस्तै थिए । यस्तो बेला छोरोले पनि अलि अघाइदिए पाहुना पासा र चेलीबेटीहरूको नजरमा राम्रो हुने सोचेर सत्कारमा व्यस्त बुबाले धेरैपल्ट बोलाउँदा पनि छोरोले अटेर गरी बस्दा बुबालाई खपिसक्नु भएन । मेहेफिल भइरहेको कोठाभित्र अलिकति आवेग र रिसमा एक्कासि कोठामा पसी छोराको हातबाट रिमोट खोसी टीभी निभाइदिने आफ्नो पिताको यो कार्य छोरालाई असामाजिक लाग्छ, तमासा लाग्छ । ‘हाइप्रोफाईल’ भएका साथीहरूको अगाडि पिताजीको क्रियाकलापले आफ्नो ‘इन्सल्ट’ थानी रिसलाई काबुमा राख्न नसक्ने छोरोले उत्तिनैखेर देवतातुल्य पिताजीमाथि एक मुक्का प्रहार गरे । ठूलाबडाको साथसङ्गत र अकुत सम्पत्तिले संस्कार र इज्जत किन्न पाइन्छ भन्ने सोच भएका नवधनाढ्य छोराको व्यवहारले आफू जिउँदो लासजस्तै भएको महसुस गर्न बाध्य भए । त्यसैले विश्व प्रसिद्ध एप्पल कम्पनीका कार्यकारी प्रमुख, सहसंस्थापक तथा संसारकै धनाढ्य व्यक्तिमा गनिने स्तिव जब्सले ५६ वर्षको उमेरमा शरीरभरि फैलिसकेको pancreatic cancer सँगको युद्धमा सन् २०११ मा हार खाए । परलोक हुनु एक वर्षअघि मात्र मानव जीवनबारे उनले केही अकाट्य वाक्यहरू भनेर गए ः
१. आफ्ना सन्तानलाई पैसा कमाउनेतर्फ कहिल्यै अभिप्रेरित नगर्ने, बरू सुखी मानिस बन्न सिकाउनुपर्छ ।
२. भोजनलाई औषधिको रूपमा खाने बानी बसाल्नुपर्छ अन्यथा औषधिलाई भोजनको रूपमा खानुपर्ने हुन्छ ।
३. जतिसुकै महँगो घडीले पनि सबभन्दा सस्तो घडीले जस्तै एउटै समय बताउँछ ।
४.सवार महँगा गाडीमा होस् या सस्तोमा बाटो, दूरी र गन्तव्य एउटै हुन्छ ।
५. बसाई चाहे महलमा होस् या झुपडीमा परिवारविनाको एक्लोपन उस्तै हुन्छ ।
६. भौतिक वस्तु हराए भने नयाँ पाइन्छ तर गुमेको जीवन पुनःप्राप्त गर्न सकिंदैन ।
यस्ता अन्य केही महत्वपूर्ण कुराहरू ढिलै भए पनि उनले स्टिब जब्सको कुरा व्यक्त गरे । हुन पनि आफ्नो विश्वव्यापी कम्पनीको थप आर्थिक उन्नतिको लागि थुप्रैलाई रोजगारी दिन सक्नेले धेरै सुविधा तथा भनेजतिको पारिश्रमिक स्वीकारेर आफ्नो व्यथा, रोग र छटपटी सापत लिनसक्ने कुनै एक व्यक्तिलाई यति ठूलो संसारमा खोजेर नियुक्ति गर्न सकेन । नौ वर्ष अगाडिसम्म संसारका सबभन्दा धनी व्यक्तिहरूमध्येका स्टिव जब्स एक थिए ।
त्यसैले खोला तरेपछि लौरो बिर्सनेले, उर्वर माटो नष्ट पारी इँट्टा भट्टा सञ्चालन गर्ने, प्राकृतिक वातावरण बिगारी जङ्गल मास्नेले, राजनीतिलाई व्यवसाय बनाउने दुष्ट राजनीतिक नेताले, पैसाकै लागि अपराध गर्नेले स्टिव जब्सको वास्तविक जीवनलाई अध्ययन गरे थाहा लाग्छ– धनदौलत वा भौतिक वस्तु नै सबथोक होइन । परिवार, साथीभाइ र समाजमा हांसीखुसी जिउन जान्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *