भर्खरै :

प्राणीशास्त्री चालिसेको जीवनका कुइनेटा

एउटा नेपाली जीव वैज्ञानिकको जीवन कस्तो हुनसक्छ ? एउटा प्राणीशास्त्रीको निरन्तर अनुसन्धानको ऊर्जा कहाँबाट आउँदो रहेछ ? उसको जीवन दर्शन कस्तो होला ? मेहनत र लगन भनेको के हुँदो रहेछ ? शालीन व्यक्तित्व कसरी निर्माण हुँदो रहेछ ? धैर्य र मनोबल भन्या के रहेछ ? प्रा. डा. मुकेशकुमार चालिसेको ‘मैले छिचोलेका कुइनेटा (आत्मकथन)’ शीर्षकको पुस्तक हात पर्नेबित्तिकै मेरो मनमा आएका केही जिज्ञास हुन् यी । यी प्रश्नहरूको उत्तर पाउने खुल्लदुली थियो । एकजना प्राणीशास्त्रको चेलाको नाताले बेलाबेला उहाँसँग ज्ञानविज्ञानका प्रश्नहरू राख्दछु, टेलिफोन वा अन्य विद्युतीय माध्यमबाट घण्टौँ छलफल गर्छौँ । कुरा प्रस्ट नपारी कहिल्यै रोकिनुहुन्न, धाराप्रवाह बोल्ने क्षमता राख्नुहुन्छ उहाँ । तैपनि, डा. चालिसे एकजना रहस्यको पात्रजस्तो अनुभव हुन्थ्यो । हालै उहाँको पुुस्तक प्रकाशित भएको थाहा पाएपछि पढ्ने हुटहुटी जाग्यो ! उहाँकै हस्ताक्षरसहितको पुस्तक उपहार पाएपछि खुशी नलाग्ने कुरै भएन ।
विक्रम संवत्को ५० को दशकको अन्ततिर भक्तपुर नगरपालिकाले ख्वप उच्च माध्यमिक विद्यालय स्थापना गरेपछि अध्यापनको निम्ति आउनुभएको थाहा पाएदेखि नै डा. मुकेश चालिसेबारे अलिअलि सुनेको थिएँ । साथीहरू लामो परिचय नदिएर उहाँलाई ‘बाँदर विज्ञ’ पनि भन्थे । पछिपछि वातावरण संरक्षणका कार्यक्रमहरूमा भेट हुनथाल्यो । ख्वप कलेजका गेस्ट लेक्चर र बाह्य परीक्षक भई आउनुहुँदा धेरै कुराकानी भए । विभिन्न पत्रिकाहरूमा प्रकाशित बाँदर, पर्यावरण र समाजबारेका विचार तथा आलेखहरूको माध्यमबाट डा. चालिसेलाई थप चियाउने अवसर मिल्यो । त्यतिले मात्र उहाँको साङ्गोपाङ्गो जीवन दृष्टिकोण बुझिने कुरा थिएन । तर, उहाँको ‘आत्मकथन’ ले धेरै जिज्ञासा शान्त पारेको छ । मैले सुरुआतमा उठाएका केही प्रश्नको उत्तर पाएको अनुभव गरेको छु ।
आफ्नो कथा आफैले लेख्नु सजिलो मानिन्न । किनभने, सत्य बोल्न साहस चाहिन्छ । कतिपय सत्य तीता पनि हुन्छन् । सत्य नबोली पनि नहुने, बोल्दा सतहमा राम्रा देखिएका मानिस साँचो मानेमा झूटा पनि भइरहेका हुन्छन्, खराब हुनसक्छन् । पर्दाभित्रका कुरा खोलूँनखोलूँ भन्ने दोधारमा लेखक अलमलिन सक्छ । आफ्ना राम्रा वा असल गुणमात्र आए, कमजोरी लुकाइयो जस्ता आरोप वा गुनासा पनि आउने गर्छन् आत्मसंस्मरण लेख्दा ।
आफूले प्रत्यक्ष भोगेका र अरूले अनुभूत नगरेका कुरा लेख्नुको विशेष अर्थ हुन्छ । आफूसँग आफ्नो जीवनको अनुभव, सीप र दक्षता नामेट नहोस् भन्ने हो भने आत्मकथा लेख्नैपर्छ । किनभने, कुनै पनि व्यक्तिले एउटा युगकै प्रतिनिधित्व गरिरहेको हुन्छ । एउटा पुस्ताको इतिहास र संस्कृति त्यही पुस्ताले मात्र अनुभव गर्न सक्छ, अर्को पुस्ताले अन्दाजमात्र गर्न सक्छ । अनुभव गर्न नपाएपनि पुरानो युगको शब्दचित्र पढेर भएपनि विगतको मेहनत, त्याग र समर्पणको अन्दाज गर्न सजिलो बनाइदिन्छ आत्मवृत्तान्तले ।
‘मैले छिचोलेका कुइनेटा’ मा डा. चालिसेका जीवनका मूलतः तीनवटा पाटाहरू अगाडि आउँछन् – वैज्ञानिक अनुसन्धान तथा लेखन, प्राध्यापन र राजनीतिक कर्म ।
वैज्ञानिक अनुसन्धानको तीव्र आवेगको सुरुआत रोचक छ । जर्मनीको जर्ज अगस्त युनिभर्सिटीबाट नेपाल आएका प्रोफेसर फोगेलले नेपालका बाँदरका विषयमा विद्यावारिधी गर्न उत्साहित गर्दै यसो भनेका रहेछन्, “नेपालका बाँदरहरू अनौठा छन् । बाँदरहरूका बारेमा अध्ययन गरे हुन्छ ।” नेपालका माहुरीबारे विद्यावारिधी गर्न तम्सिुनभएका डा चालिसेले बाँदरको विषयमा पीएचडी गर्ने कुरा गर्दा मानिसहरू हाँस्नु स्वाभाविकै होला ! तर, उहाँले ‘लङ्गुर बाँदरको खानामा लैङ्गिक भिन्नता’ विषयमा विद्यावारिधीको शोध गर्नुभयो । भाले बाँदर किन ठूला र स्त्री बाँदर किन साना हुन्छन् भन्ने विषयमा अध्ययन गर्न उहाँले चितवनको रामनगरको जङ्गलमा डेढ वर्ष बिताउनुभयो । बाँदरलाई नै ‘नातेदार’ बनाउनुभयो । आफ्नो बच्चा अरूलाई नछोड्ने बाँदरले डा. चालिसेलाई बच्चा छोड्नेसम्मको सम्बन्ध बनेछ ! सन् १९९४ मा जर्मनी जाँदा उहाँले बाँदरले खाने जङ्गलका दुई सय ८६ प्रकारका पात, डाँठ, फलफुल, च्याउ, कीराको गुलियो विष्टा, धमिराको गोलो पत्ता लगाउनुभयो । उहाँको विद्यावारिधी ‘सानो दुःखले आज्र्याको’ होइन भन्ने प्रस्ट देखिन्छ । ‘जर्मन साथीहरूलाई बाँदर रत्याउन एक महिना र बोटबिरुवा चिन्न तीन महिना लागेको रहेछ ! तर, मैले बाँदरलाई पन्ध्र दिनमा नै रत्याएँ र अधिकांश वनस्पतिचाहिँ मैले पहिल्यै चिनेकै थिएँ भने केहीकेही मात्र चिन्नुपर्ने थियो ।’ लगनविना सफलता कसरी प्राप्त हुँदो हो !
अध्ययनको सिलसिलामा जर्मनी बस्दाका सन्दर्भले उतिबेलाको युरोपबारे बुझ्न सहयोग गर्छ । सो पुस्तकमा उल्लिखित केही घटनाले उहाँको वामपन्थी चेत प्रस्ट पार्छ । डा. चालिसे जर्मनीमा सक्रिय टर्कीका कम्युनिस्ट समर्थक तथा कार्यकर्ताको नजिक रहनुभएको प्रसङ्गसमेत छ । यसै सन्दर्भमा उहाँ लेख्नुहुन्छ – “म तिनीहरूसँग नजिक भएँ । निरन्तरजसो नै भेटघाट हुनथाल्यो । उनीहरूले विभिन्न ठाउँमा प्रदर्शन गर्दा रहेछन् र प्रदर्शन गर्ने ठाउँमा किताबहरू बेच्न राख्दा रहेछन् । किताबहरू बेच्दा आएको रकम र चन्दासमेत उठाएर उनीहरूले आ–आफ्नो देशको कम्युनिस्ट पार्टीलाई आर्थिक सहयोग पु¥याउँदा रहेछन् ।” उहाँको वामपन्थी रुझान प्रस्ट पार्ने अर्को विश्लेषण यहाँ राखौँ – “पूर्वी जर्मनीका प्राध्यापकहरू अति सस्ता मूल्य पर्ने गाडी चढ्थे । उनीहरूको लवाइ अत्यन्तै सामान्य हुन्थ्यो । अधिकांशले आफ्नो काम आफै गर्थे, आफै खाना पकाउँथे । श्रमप्रति उनीहरूमा लगाव रहेको पाएँ ।”
डा. चालिसेको पुस्तकमा उल्लिखित सङ्खुवासभाको एउटा गाउँको ‘राँके भूत’ को रहस्य पत्ता लगाएको कुरा पढ्दा निकै रमाइलो लाग्छ । विज्ञान नपुगेको ठाउँमा अन्धविश्वासले ठाउँ पाउनु अस्वाभाविक भएन । मेलम्चीको पानी काठमाडौँमा कुन ठाउँबाट कसरी ल्याउने र त्यसबाट वन्यजन्तुमा कुनै नकारात्मक प्रभाव पर्छ कि पर्दैन भन्नेबारे अध्ययन गरेको प्रसङ्ग गौरव गर्न लायक मान्न सकिन्छ । पहरे बाँदर नेपालको रैथाने प्रजाति भएको प्रमाणित गर्न पाएको कुरा पनि छुटाउनुभएको छैन डा. चालिसेले । वन्यजन्तु, वन, पहाड र हिमालसम्बन्धी ८ वटा पुस्तक प्रकाशन गरेको प्रसङ्ग पनि सह्रानीय छ । दर्जनौँ अनुसन्धान कीर्तिहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्नुभएको छ उहाँले ।
एउटा प्राणीशास्त्रको रूपमा बढी परिचित चालिसेको राजनीतिक पृष्ठभूमि त्यति बलियो रहेछ भन्ने कुरा सो पुस्तक पढेरै बुझ्ने अवसर मिल्यो । युवावस्थामा देशको राजनीतिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनको हुरीमा आफै समाहित भई सक्रिय भएर पनि राजनीतिक नेतृत्वले सही र गलत छुट्याउन नसक्दा पाएको अपहेलना तथा आरोपबाट मर्माहत भएर वैज्ञानिक अनुसन्धानको बाटो समातेको कुरा पुस्तकमा छर्लङ्ग पारिएको छ । नेपालको राजनीतिक इतिहासमा ‘झापा काण्ड’ को सेरोफेरोमा राजनीतिक आन्दोलनमा समावेश भएका चालिसेले हालको एमालेको व्यक्तिहत्याको राजनीतिबारे भने उक्त पुस्तकमा स्पष्ट राखेको देखिन्न ।
जापानमा चिकित्साशास्त्र पढ्न जाने अवसर गुमेपछि सोभियत र चिनियाँ साहित्य पढ्दै राजनीतिक परिवर्तनको निम्ति सक्रियतापूर्वक लाग्ने मनसायसाथ ‘क्रान्तिकारी नेताहरू’ भेट्ने क्रममा ‘झापाली’ को सङ्गतमा परेपछि उहाँ ‘बुर्जुवा शिक्षा बहिष्कार’ गर्न लाग्नुभयो । अर्धभूमिगत भई पार्टीको निम्ति छापाखाना सञ्चालन गरी पुस्तक अनुवाद र छपाइलगायतका काममा पनि संलग्न हुनुभयो । बिनासूचना पार्टीको जिम्मेवारीबाट मुक्त भएपछि ‘आत्महत्या’ गर्ने चरणमा पुगेर पनि पढाइलाई निरन्तरता दिने बुबाको सुझावअनुसार ‘बुर्जुवा शिक्षा’ मा उच्च शिक्षा हासिल गर्ने धुनमा रातदिन खटिनुभयो । अन्ततः डा. चालिसेले प्रकृतिको खोजअनुसन्धान र अध्यापनमै जीवन केन्द्रित गर्नुभयो ।
जम्मा तीसवटा पाठहरूमा विभाजित सो पुस्तकका सुरुका चार पाठहरू आफ्नो पुर्खा र परिवारबारेमा लेखिएको छ । केही साहित्यकारहरू जस्तैः गोपालप्रसाद रिमाल, श्यामप्रसाद, युद्धप्रसाद मिश्र, केवलपुरे किसानजस्ताको व्यक्तित्वबारेमा पनि आफ्नो मसी खर्च गर्नुभएको छ डा. चालिसेले । ‘आत्मकथन’ मा उल्लिखित अनुसन्धानको क्रममा फिल्डमा खटिँदा धेरैपटक जीवनमरणको स्थिति आएका प्रसङ्गले आङ सिरिङ बनाउँछ ।
पुस्तकमा उहाँले आफ्नो राजनीतिक दृष्टिकोण धेरै स्पष्ट पार्न सक्नुहुन्थ्यो, किन गर्नुभएन भन्ने जिज्ञासा कायम नै छ । पार्टीले कारबाही किन गरेको भन्ने कुरा पनि स्पष्ट छैन । बुबा कम्युनिस्ट भएर पनि किन राजनीति छोड्न भन्नुहुन्थ्यो भन्ने उत्तर पनि चित्त बुझ्दो लाग्दैन । सो आत्मकथनको भूमिका लेख्नुहुने वरिष्ठ पत्रकार भैरव रिसालले भन्नुभएझैँ ‘विफलताको, गलत कामको कतै उल्लेख छैन । यस्ता कुरा हुँदै नभएको हो कि, लेख्न छुटेको ?’ यो समीक्षकको जिज्ञासा पनि अनुत्तरित छ ।
केही वर्षअगाडि मस्तिष्कघात भएपछि शारीरिक अस्वस्थता हुँदाहुँदै पनि यस्तो गम्मिर पुस्तक प्रकाशित गर्ने जोसजाँगर देखाउनु आफैमा प्रेरणादायी कुरा हो । २२० पृष्ठ (जम्मा २३६) को सो पुस्तकमा ३० पृष्ठजतिमा जीवनका महत्वपूर्ण पहलुका रङ्गिन तस्बिर छापिएका छन् । ‘भुँडीपुराण प्रकाशन’ द्वारा प्रकाशित सो पुस्तक सरल तथा पठनीय छ । मुल्य रु. ४५० ठिकै हो ।
लेखक वा उहाँका सन्ततिबाट थप पुस्तक प्रकाशित हुन सकोेस् ! साथै, लेखक डा. चालिसेको सुस्वास्थ्यको कामना !

One response to “प्राणीशास्त्री चालिसेको जीवनका कुइनेटा”

  1. Krishna Gautam says:

    एकचोटी भेट्नै पर्ने डा. चालिसे र पढ्नै पर्ने उहाँको किताब , गजब जीवन गजब योगदान समाजलाई 

Leave a Reply

Your email address will not be published. Required fields are marked *