भर्खरै :

राजनीतिज्ञहरू दूरदर्शी हुनुपर्छ

राजनीतिज्ञहरू दूरदर्शी हुनैपर्छ । कुनै देशसँग सन्धि र सम्झौता गर्दा पछि हुने दूरगामी असरबारे सोच्नैपर्छ । हतारमा सम्झौता गर्ने र पछि पछुताउने काम गर्नु उचित होइन । कुनै देशसँग सम्झौता र सन्धि गर्दा हामी सचेत भएनौँ या पछिको नहेरी अहिलेको मात्र लाभ खोज्यौँ भने भोलि यसले दूरगामी असर पु¥याउँछ । नेका र एमालेका ओली पक्षधर नेताहरू एमसीसी पारित गर्न हतारिएका छन् । एमसीसी पारित गर्न हतारिएका ती नेताहरू एमसीसी सम्झौतामा सेना आउने कुरा कहाँ उल्लेख छ, अमेरिकी सेनाले चीनलाई घेर्ने कुरा कहाँ छ भनी केटाकेटी पाराले बोल्दै छन् । सम्झौतामा अमेरिकी सेनाले चीनलाई घेर्ने कुरा कहाँ छ भनी कुनै दूरदर्शी राजनीतिज्ञले अभिव्यक्ति दिँदैन, यस्तो कुरा उल्लेख हुँदैन । त्यो अवसरवादी र अदूरदर्शी चिन्तन हो । यस्तो अभिव्यक्ति कुनै पनि दलका नेता, मन्त्री र सांसदलाई सुहाउँदैन ।
एमसीसी सञ्चालन गर्ने कम्पनी अमेरिकी सेनासित सम्बन्धित छ । एमसीसी सम्झौता भएपछि सो योजना सञ्चालन गर्न अमेरिकी सेनाहरू बरोबर आइरहन्छन्, गइरहन्छन् । यो अमेरिकी सेना नेपालमा छिर्ने या घुस्ने एउटा माध्यम हो । एमसीसी सम्झौता भएपछि पाउने पैसा अमेरिकाको होला तर योजना उसको होइन । योजना नेपालको हो भने योजना सञ्चालन गर्ने, त्यसको हिसाब किताब राख्ने काम किन अमेरिकी कम्पनीले राख्नुप¥यो ? नेपालको योजना सञ्चालन गर्न भारतसँग स्वीकृति लिनुपर्ने प्रावधान किन राख्नुप¥यो ? अमेरिकी सामान प्रयोग गर्ने, अमेरिकी नै लेखा अधिकृत राख्ने, अमेरिकी मेनेजर राखेर प्राप्त सहयोगको ठुलो रकम अमेरिकामै लाने यो योजना विकासको नाउँमा अमेरिकीहरू पोस्ने र नेपाली भूमिलाई उपयोग गर्ने योजना हो ।
नेपाल विकासको निम्ति ल्याइएको योजना या आर्थिक सहयोगको सम्झौतामा नेपाल र नेपालीलाई नपच्ने, नेपालको ऐनकानुनले नछुने सर्त किन ? योजना लागू गर्न संसद्ले अनुमोदन गर्नुपर्ने काम अमेरिकी एक कम्पनीले नेपाललाई फसाउने योजना हो । योजनाभित्र विकासबाहेक अरू कुनै स्वार्थ छैन भने सर्तहरू राख्नु जरुरत छैन । वास्तवमा एमसीसी सम्झौता र नागरिकता अध्यादेश देशको निम्ति घातक छ । देशलाई घात गर्ने निर्णय आफूलाई कम्युनिस्ट भनिने एमाले र प्रजातान्त्रिक भनिने नेकालाई पटक्कै सुहाउँदैन । नेपाल ठुला शक्ति राष्ट्र अमेरिका र भारतको युद्ध मैदान नबनोस् । नेपाल द्वन्द्वभूमि नबनोस् । चीनले गरिरहेको प्रगति भारत र अमेरिकालाई मन नपरेको कुरा घामजत्तिकै छर्लङ्ग छ ।
अमेरिकाले अमेरिकामा व्यापार व्यवसाय गर्ने चिनियाँ कम्पनीहरूलाई उठाउने जाल बुनेकै हो, एक्कासि कर बढाएकै हो । अमेरिकाको दाँजोमा चीनलाई नपु¥याउने चलखेल अमेरिकाले गरेकै हो । विगतमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको सोभियत सङ्घलाई टुक्राटुक्रा पार्ने षड्यन्त्र र जालझेल अमेरिकाले गरकै थियो । अहिले अमेरिकाले जसरी भए पनि चीनलाई युद्धमा फसाउने, कमजोर बनाउने र प्रगति रोक्ने काम गरिरहेकोमा शङ्का छैन । कुनै पनि साम्राज्यवादी देशले यस्ता चलखेल गरिरहेकै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *