भर्खरै :

खतरा र खर्चिलो तिहार !

लाउने कुराको उपभोग अवधि केही लामो हुन्छ । त्यसैले त्यस्ता समय लामो हुने भएकोले त्यस्ता सामान थन्क्याएर फेरि फेरि पनि लाउन सकिन्छ तर खानेकुराको उपभोग अवधिचाहिँ छोटो भएकोले र चाडकै बेलामा आवश्यकताभन्दा बढी उपभोग गरिने भएकोले, हाम्रा कुनै पनि चाडपर्व आउनासाथ फजुल खर्चको ग्राफ ह्वात्तै बढ्छ ।
हामीकहाँ सबैभन्दा बढी आयात गरिने वस्तु पेट्रोलियम पदार्थ हो । यो बाध्यता हो, यसको विकल्प छैन । तर, प्रत्येक चाडपर्व आउनासाथ त्यसलाई भव्यताका साथ मनाउने नाममा विदेशबाट सामान आयात गरिनु बाध्यता नभएर हाम्रो फजुलखर्ची र विलासी स्वभाव हो । दसैँमा मासुका लागि तिब्बतबाट भेँडा च्याङ्ग्रा आयात नगर्दा पनि चल्थ्यो । आखिर मासु नै खानु छ भने स्वादिलो र महँगो किन खाने ? यतै पनि पाइने ‘गुनिलो र पोसिलो’ (हो भने) ब्रोइलर, कालिज, बट्टाइ, राँगा, सुँगुर इत्यादिको खाए हुनुपर्ने हो । तर धनीमानी, स्वादे र फजुलखर्चीलाई भनेको के लाग्थ्यो !
एक तथ्याङ्कअनुसार, यो दसैँमा रु. ७५ अर्ब बराबरको त मासु नै खाइयो रे ! त्योसँगसँगै मसला र मदिराको हिसाब छैन होला ।
दसैँमा पशुपन्छी मारिन्छ तर तिहारमा तिनलाई माया गरेर पूजा गरिने भएकोले दसँैभन्दा तिहार प्यारो छ भनिन्छ । यसलाई फूलैफूलको तिहार पनि भनिन्छ । तर, यो तिहार पनि कम खर्चिलो छैन । यही चाडलाई लक्षित गरेर झिलिमिली सामान बजारमा आइसकेका छन् । वास्तवमा तिहारका लागि हामीकहाँ नपाइने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, सप्तरङ्गी नै चाहिन्छ भन्ने छैन । यहाँ जे उपलब्ध हुन्छ त्यसैको प्रयोग गरेर मनाउँदामात्रै चाडको स्वाभाविकता र मौलिकता रहन्छ । तर, विगत एक वर्षमा २८ करोडको त तास आयात गरेको तथ्याङ्क आएको छ । तिहारका लागि भनेर कति कौडा भित्रियो, पछि थाहा हुन्छ । यत्रो वनजङ्गल भएको कृषिप्रधान देशमा तिहारलाई पुग्ने फूल पनि उब्जिंदैन र आयात गर्नुपर्छ !
तिहारको अर्को पिर आतसबाजी र पटाका हो । यी अग्निजन्य वस्तु हुन् । बेलाबेलामा श्रवणशक्ति नै गुमाउने गरी बड्याङ कि बड्याङ गरी पड्केका पटाकाले दिक्कै लगाउँछ । कतिपय अवस्थामा पटाका र आतसबाजीमा रमाएका बाबुनानीहरू दुर्घटनाको सिकार बन्दा तिहार फूलमय नभई बारुदमय र दुर्घटनामय बन्छ । त्यस्ता वस्तु रमाइलोका लागि किनिदिने अभिभावक पनि कस्ता होलान् ! पसलेलाई त मौकामा नाफा कमाउनु छ । लुकीचोरी आयात गर्न सकिने वातावरण मिलाउने ‘अभिभावक सरकार’ कस्तो होला ! तासजुवा खेल्नेलाई जहिले पनि पक्राउ गरिने तर छिनछिनमा पटका पड्काएर आतङ्कित बनाउनेलाई चाहिँ रमाइलो गरेको ठानिने !
तिहारमा देउसी भैलो, भाइमसला र दक्षिणाको ढर्रा र विकृति पनि निकै बोझिलो छ ।
सरकारले चाडपर्वलाई मितव्ययी बनाउने हेतुले अनिवार्यबाहेक यसपटक पर्वलक्षित कुनै पनि सामग्री नल्याउने आह्वान व्यापारी वर्गलाई गर्न सकेको भए, बेलैदेखि वैकल्पिक वस्तुहरूको खोजी गर्न पनि थालिन्थ्यो होला । बढ्ता जान्ने हुने र ढर्रा पार्न खोज्ने त हामी नै हौँ नि ! महँगा मदिरा, सुख्खा फलफूललगायत अन्य अनेक सामानका साथै, चीनबाट झिलझिले बत्ती ल्याएर र विद्युतीय लोड बढी हुने गरी रातभरि बालेर लक्ष्मी खुसी पार्ने तरिका नै बेठीक छ । यसरी त, रेमिट्यान्सले चलेको मुलुकमा झन् व्यापार घाटा बढाउन सहयोग गर्ने ‘नागरिक नियत’ पो भयो त ! सहज, मितव्ययी र आत्मनिर्भर जीवनयापन गर्ने गराउनेतर्फ सरकार र हामी आम नागरिकको बुद्धि कहिले आउला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *