नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
नेमकिपाबाहेक, आफूलार्ई कम्युनिस्ट भन्नेहरूले ४० वर्षअघिदेखि नेपाली समाजमा जबरजस्त लाद्न थालेको कुरा धेरैले अनुभव नगरेका हुनसक्छन् । त्यस्ता कथित नेपालका कम्युनिस्टहरू विचार निर्माणमा यसरी धावा बोल्थे कि अरूले पनि उनीहरूकै सोचाइअनुसार सोच्नुपथ्र्यो । कसैले आफ्नो स्वच्छ ब्रह्म र उच्च विवेकबाट निकालेका निष्कर्षहरू सार्वजनिक गर्न पनि खुब डराउनुपथ्र्यो । नेपालमा आफूलाई कम्युनिस्ट भन्नेहरू कतिसम्म गर्थे भने कुनै पनि सिर्जना वा ग्रन्थ पढ्नसमेत निषेध गर्थे । जसले उनीहरूको कसौटीमा क्रान्तिको सेवा गर्ने नठहरियोस् । उनीहरूकै लहड र बुझाइमा, अधिकांश स्रष्टाहरूलार्ई ‘ब्ल्याक लिस्ट’ मा राखिहाल्थे । तिनका रचनाले सोझै क्रान्तिको सेवा गर्दैन भन्ने उनीहरूको ठहर थियो । त्यस क्रममा पारिजातको ‘शिरीषको फूल’ उपन्यासलार्ई ब्ल्याकलिस्टमा मात्र राखिएन, त्यसका विरुद्ध अभियान नै छेडिएको थियो । मदनमणि दीक्षितले लेख्नुभएको उपन्यास ‘माधवी’ लाई अछुत घोषणा गरियो । लक्ष्मीप्रसाद देवकोटालार्ई समेत क्रान्तिकारी कित्तामा राख्न नमिल्ने ठहर गरी ‘ब्ल्याक लिस्ट’ मै राखियो । १० वर्षअघि हेटौँडामा राष्ट्रिय स्तरको साहित्य सम्मेलन भएको थियो । त्यहाँ युग पाठकले पेश गरेको कार्यपत्रमा लक्ष्मीप्रसाद देवकोटाको विषयमा तथ्यहीन, अनर्गल, भ्रामक कुरा प्रस्तुत गर्दै उनलार्ई सत्ताको तावेदार भनिएको थियो । त्यतिमात्र होइन देवकोटालार्ई ‘सत्ताको पालनपोषण, संरक्षण र प्रवद्र्धनद्वारा जबरजस्ती उचालिएका’ समेत भनिएको थियो । त्यस्तो अनर्गल र भ्रामक कुरालार्ई सभाका सभापतिले र कवि मित्रलाल पंज्ञानीले तुरुन्त खण्डन गरेका थिए । कम्युनिस्ट जानकारहरूको मूल्याङ्कनमा, महात्मा गान्धीले केही सुधारका कुरासम्म गरेका हुन् । सुधारको कुराले क्रान्तिलार्ई अल्मल्याउने भएकोले त्यस्ता सुधारहरूलाई स्थान दिनुहुँदैन ।
उनीहरूले सर्वप्रथम वैदिक सभ्यताविरुद्ध अभियान छेडेको कुरा प्रायः सबैलार्ई थाहा हुनुपर्छ । कम्युनिस्टभित्रका पनि कडा मानिएका कथित स्वघोषित् माओवादीहरूले त वैदिक सभ्यतालार्ई एकैचोटि नष्टभ्रष्टै गर्न कुनै कसर बाँकी राखेका होइनन् । त्यो बेला कतैकतै, जनताका गोठबाट गाई लान्थे, मन्दिरमा लगेर काट्थे र शिवलिङ्गमा आन्द्रा बेरिदिन्थे । बीस वर्षसम्म दसैँको टीका–जमरा बहिष्कार गरे, तिहारको भाइटीका बहिष्कार गरे । ‘बाहुनवाद’ भनेर एउटा जातविशेषलार्ई खिसीट्युरी गर्ने अभियान चलाए र अहिलेसम्म त्यसको तार्किक र प्रस्ट कारण नबुझाइकन नै ‘माओवादी कार्यकर्ताले पुराण लाउन नपाउने’ भन्दै छन् । नेपालका जातजातिको सूची बनाउँदा बाहुन, क्षेत्री र दशनामीलाई ‘अन्य’ मा हालेका थिए । पछि चौतर्फी आलोचना भएर ठूलै दबाब परेपछि मात्र सच्याउन बाध्य भएका हुन् ।
नेपालका भुइँफुट्टा कम्युनिस्टहरू विश्वका अन्य सभ्यतासँग अन्तरक्रिया गर्नु त परको कुरा, आफ्नै देशका सांस्कृतिक परम्पराहरूसँग संवाद र छलफल गर्न पनि डराउँछन् । उनीहरूसँग एउटामात्र तर्क हुन्छ र निर्धारित ढाँचाभन्दा फरक पर्नासाथ ‘सामन्तवादी र पुँजीवादी वर्गको सेवा गर्ने’ भनेर गाली गर्न थालिहाल्छन् ।
यसरी विचारनिर्माण र विचारप्रवाहलार्ई अवरुद्ध गरिदिँदा यहाँ सभ्यताको स्वाभाविक गति अवरुद्ध भएर जीवनको लय नै भाँडिएको छ । आफैँबाहेक अरूसँग संसर्ग नै गर्न नहुने भएपछि यसले हाम्रो राष्ट्रिय बौद्धिक परम्परालार्ई पनि सङ्कीर्ण पारेको छ । पूर्वीय दर्शनले पश्चिमा सभ्यतासँग संवाद र मन्थन गर्न नसक्ने एकलकाटे वातावरण सिर्जना भएको छ । यो निश्चय नै अग्रगामी र सन्तोषजनक कुरा होइन ।
परिणामतः सित्तै पुस्ता यस्तो तयार भएको छ, जोसँग धैर्य छैन मात्र आवेग छ । विवेक छैन, हिंसातुर भावना छ । सामूहिकताको भावना हराएर एकलकाँटे बनेको छ । समय, सभ्यता र इतिहासका पुख्र्यौली गौरवसँग मतलब छैन बरु पूरै आत्मकेन्द्रित र अवसरवादी चारित्रिक वर्गको निर्माण हुँदै छ । जसलार्ई कथित क्रान्तिकारी देखिने सपाट उच्च महत्वाकाङ्क्षाले गाँजेको छ तर उसैमा अराजकता र क्रान्तिकारिताको भेद छुट्याउन सक्ने क्षमताको सा¥है अभाव छ । उसको विचार नै साङलो चुँडाएर उम्केको भोटेकुकुरजस्तो छाडा भएको छ, जसले हे¥यो उसैलार्ई टोकिहाल्ने !आलोचना र समालोचना छुट्याउन नसक्ने, गालीगलौज र व्यक्तिगत कटाक्षलार्ई नै क्रान्तिकारी हतियार ठान्ने ! तिनीहरू रचनात्मक, सिर्जनात्मक प्रो–एक्टिभ हुनै नसक्ने भएकोले रिएक्टिभ भएका छन् । रिएक्टिभ पनि यस्तो कि हरेक विषयमा रिएक्टिभ र हरपल रिएक्टिभ । कतिसम्म रिएक्टिभ भने, खाम नै नखोलीभित्र लेखेर राखिएको चिठीको व्यहोरा र भाषाशैली रिएक्ट गर्ने र कुनै पनि सामग्रीको शीर्षकमात्र हेरेर पनि रिएक्ट गरिहाल्ने ! तुरुन्त निष्कर्षमा पुगिहाल्ने !
माओवादीले नरसंहार मच्चाइरहँदा, त्यहाँ हिंसात्मक आतङ्कबाहेक केही पनि थिएन । तर त्योसँगैको बौद्धिक आतङ्क त्योभन्दा झन् भयावह छ । निरन्तर हिंसाको लागि माओवादीले विदेशी एजेन्डा बोकेर नेपाली समाजमा जातीय विद्वेषको जहर नै घोल्यो । राष्ट्र विखण्डन गर्नको लागि भारतीय एजेन्डा बोकेर प्रदेश संरचना लाद्यो । यसैको परिणाम आज नेपालमा भुइँफुट्टा वर्गको विकास भएको छ र ‘टपरटुईँया कल्चर’ स्थापित भएको छ । जसले लाजघीन पचाएको छ । कुनै संस्कार छैन, शिष्टाचार छैन, सभ्यता छैन र कसैको मर्यादा गर्दैन । मर्यादा गर्दैन मात्र हैन मर्यादा गर्नै जान्दैन । भावना छैन, शुष्क छ । दया, माया, करुणा र विवेकजस्ता मानवीय गुणको अवशेष छैन । राट्रियता र सदाचार हराएको छ । यसरी बिग्रिएको देश र समाजलार्ई सही बाटोमा ल्याउन हामीले तल्लो स्तरबाट नै धेरै काम गर्न बाँकी छ ।
Leave a Reply