भर्खरै :

पर्यवेक्षकको आँखामा भक्तपुर नपाका केही गतिविधि

  • फाल्गुन ३०, २०७८
  • –टीकाप्रसाद पोखरेल, सुर्खेत
  • पाठक विचार

२०७४ असारमा छोरी सृजनाको एमबीबीएस अध्ययनको दीक्षान्त समारोहमा भाग लिन चीनको ज्युज्याङ विश्वविद्यालय पुग्दा चिनियाँ भाषामा चलाइएको कार्यक्रमको स्मरण २०७८ फागुन २७ गते दिउँसो भक्तपुरको दरबार स्क्वायरमा गरियो । पुर्खाद्वारा हस्तान्तरित सम्पत्ति कला र संस्कृतिलाई बचाउने, जगाउने र फस्टाउने प्रक्रियामा निरन्तर जुटेको भक्तपुर नपाले नेमकिपाको मार्गनिर्देशन एवम् चुनावी घोषणापत्रानुसार कार्ययोजना बनाई शुक्रबार आयोजना गरेको ‘पछिमा’ भनिने ठूलो मादल बजाउने प्रतियोगितात्मक कलाकौशल प्रस्तुतिका लागि स्थानीय कलाकारहरूलाई साङ्गठनिक एवम् सामूहिकरूपमा आह्वान गर्दै सुआवसर दिएको पाइयो ।
बिहान १० बजे दत्तात्रयबाट थालिएको प्रतियोगीहरूको ३३ वटा समूहगत ¥याली भक्तपुर नगर परिक्रमा गरी ११ बजेदेखि दरबार स्क्वायरको मञ्चमा क्रमशः उपस्थित भई ‘पछिमा बाजा’ बजाउन सामेल हुँदा दर्शकको हैसियतले श्रवण अवलोकन गर्ने साइत जु¥यो । छिटपुट नेपाली भाषा बोलिए पनि मूलतः नेपालभाषा (नेवारी) प्रयोगबाट सम्पन्न गरिएको कार्यक्रमले ज्युज्याङ विश्वविद्यालयको शैलीगत विशेषताको झल्को दिलायो ।
प्रतियोगितामा बालदेखि वृद्धसम्मको सहभागिता, युवादेखि प्रौढ हुँदै वृद्धसम्मका निर्णायकहरूको प्रतिनिधिमूलक व्यवस्था, महिला पुरुष मिश्रित समावेशी चरित्र र नयाँ–पुराना पुस्ताका कलाकर्मीहरूको सक्रिय भूमिका प्रदर्शनीबाट कला संस्कृतिका साधक पुराना पुस्ताले नछोडेको तथा नौला पुस्ताले अभिभावकहरूलाई पछ्याउँदै कलात्मक नाता जोडेको दृश्यावलोकन भयो । यसमा नेमकिपाका अगुवाइले समाजलाई सचेत तुल्याउँदै अभिप्रेरित गरेको, आधारभूत ऊर्जा थपेको र साझा सांस्कृतिक निधि संरक्षण संवद्र्धनका पक्षमा लाग्ने कलाप्रेमी विचार भरेको वास्तविकता भेटियो ।
पारदर्शी हिसाबकिताबमा आधारित आफ्नो जनपक्षीय मासिक प्रकाशनका अतिरिक्त सर्वसुलभ स्वास्थ्य–शिक्षा प्रदान, उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन, लोक संस्कृतिको जगेर्ना र खेलकुद विकासमा समेत तल्लीन भक्तपुर नपाले प्रतियोगी कलाकार टोलीहरूलाई ‘पछिमा’ र बाँसुरी वितरणबाट प्रचलित लोकबाजासँग पछिल्ला पुस्तालाई परिचित गराउँदै चासो दिएर पुख्र्यौली नासो सजाएर राख्न, त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउन, कलाकौशल एवम् सिप विकासमा टेवा पु¥याउन र राष्ट्रिय निधिमार्फत पर्यटकीय आकर्षण बढाउन उल्लेख्य कदम चालेको देखियो । कला संस्कृतिको धरोहर भक्तपुरको सांस्कृतिक विविधता उजागर र सम्मानमा डटेको पाइयो ।
जनताको श्रम लगानी तथा कर भुक्तानीलाई जनहितमै खर्चिने, प्रतिभा प्रस्फुटनका दिशामा अनुकूल वातावरण बनाउने, व्यक्तित्व नेतृत्व उत्थानमा समान अवसर दिने, भाषिक–सांस्कृतिक आक्रमणबाट स्थानीयदेखि केन्द्रीय सरकारसम्मको एकताबद्ध सामाजिक–सांस्कृतिक संरचनालाई जोगाउने र स्वदेशी आत्मनिर्भरताको पृष्ठभूमि तयार पार्दै समाजलाई समुन्नतिको बाटोमा डो¥याई आधारभूत परिवर्तन गर्ने लक्ष्यमा भक्तपुर नपा सफल रहेको र नमुना बन्न सकेको बोधानुभूति भयो ।
निःशुल्क प्रयोग गर्न पाइने सार्वजनिक शौचालय व्यवस्थापन, सरसफाइको चाँजोपाँजो, पर्यावरण सन्तुलन, वडाका जनप्रतिनिधिहरूको अथक प्रयास एवम् खटाइ, युवा शक्तिलगायत प्राविधिक कर्मचारी परिचालन, अनुशासन, पिउने पानी आपूर्तिसहितका स्थानीय सेवा सुविधा उपलब्धिका विभिन्न क्षेत्रगत कोणबाट केलाउँदा भक्तपुर नपाले समाजवादी बन्दोबस्त लागु गरेजस्तो लाग्यो । नेता कार्यकर्ता सबै मिलेर वर्गीय चेतनास्तर उठाउने, सामाजिक सेवामा टेवा पु¥याउने र कामदारहरूको जीवन उकास्ने अभियानमा भक्तपुर नपाको अग्रणी भूमिका प्रशंसनीय भएको कुरामा सायद कतै मत मतान्तर नहोला ।
कटिबद्ध एवम् इमानदार श्रमशक्तिबीच कार्य विभाजन गरी उपभोक्ता समितिमार्फत विकासका विभिन्न पूर्वाधार खडा गर्ने भक्तपुर नपाका बलिया अङ्ग अन्य वडाहरूजस्तै सामाजिक–आर्थिक दृष्टिले आवश्यक घाट तथा विश्रामस्थल तयार पारी आयव्यय हिसाब देखाई जनप्रतिनिधिबाटै उद्घाटन गराउने वडा नं ८ एवम् ५ वर्षसम्म जनसेवाको यात्रामा विविधरूपमा साथ दिनेहरूलाई धन्यवाद कार्यक्रममार्फत सम्झिने र समाजवादी रूपरेखाको खाजा भोजन प्रबन्ध मिलाउने वडा नं ९ को जिम्मेवारी पनि कल्याणकारी मानवीय भावनाले ओतप्रोत भएको बुझियो ।
उल्लिखित दुईदिने बसाइमा नजर परेका कार्य प्रगतिमूलक झलकले भक्तपुर नपा साँच्चिकै समाजवादी शैलीमा चलेको र जनतालाई केन्द्रबिन्दुका रूपमा हेर्न पछि नपरेको कर्तव्यनिष्ठ स्थानीय सरकार भएको महसुस गरायो । नेपालका सबै स्थानीय सरकारहरूले यसरी नै आ–आफ्नो प्रतिबद्धता पूरा गरेका भए देश बन्थ्यो अनि जनताले सुख शान्ति पाउँथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *