भर्खरै :

निर्वाचन निष्पक्ष र शान्तिपूर्ण होस्

निर्वाचन आयोगले आज हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि सबै तयारी गरिसकेको सम्बन्धित स्रोतले जनाएको छ । निर्वाचनको निम्ति आवश्यक निर्वाचन अधिकृत, कर्मचारी, सुरक्षाकर्मी, मतपत्र, मतपत्र खसाल्ने बाकस आदिको व्यवस्था गरिसकेको छ । मतदाताहरू पनि आ–आफ्नो स्थानमा मतदान गर्न गइसकेका छन् । मतदान केन्द्र तयार गरिसकेको छ । नयाँ मतदाताहरूको लागि पनि मतदाता परिचय पत्र वितरण भइरहेको छ । मतदाताहरू पनि निर्वाचनमा मतदान गर्न आतुर छन् । आफूलाई मन परेको उम्मेदवार छान्न उनीहरू उत्सुक छन् । हो, हामीले पाएको राजनीतिक अधिकार उपयोग गर्नुपर्छ ।
निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आयोगको आचारसंहिता सबैले पालन गर्नुपर्छ । निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्छ । निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन निर्वाचनमा खटिएका निर्वाचन अधिकृतदेखि सबै कर्मचारीहरू इमानदार हुनुपर्छ । आस्थाको आधारमा कहीँकतै भेदभाव गर्नुहुँदैन । त्यसरी नै राजनीतिक दल, निर्वाचनमा खटाइएका कार्यकर्ता, स्वयम्सेवकहरूले आ–आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ । राजनीतिक मतभेद, रिसइविको कारण निर्वाचन बिथोल्नुहुँदैन, निर्वाचन बिथोल्ने प्रयास गर्नुहुँदैन । निर्वाचन स्थलमा हुलहुज्जत गर्ने, मतदाताहरूलाई तर्साउने, दबाब दिएर, लोभ देखाएर या पैसा बाँडेर आफूतिर तान्ने काम कसैले गरेमा त्यो आचारसंहिताविपरीत हुन्छ । यसले निर्वाचनमा असर पु¥याउँछ ।
निर्वाचनको अघिल्लो दिन पैसा बाँड्दा बाँड्दै पक्राउ गरेको, साडी बाँडिरहेको साडीको पोको फेला परेको र पैसा बाँडफाँटमा घटीबढी भएर झगडा भएको जानकारी प्रकाशमा आएको छ । यसरी सामान र पैसा बाँडेर उम्मेदवार जित्ने या जिताउने प्रयास उचित होइन । पैसा र पद पाउनकै निम्ति कति कार्यकर्ताले दल बदलेको जानकारी उहिल्यै प्रकाशमा आएको हो । निर्वाचनको बेलामा दल बदल्नुको कारण पनि पद र पैसा नै हो । पहिलेको तुलनामा यो वर्ष अर्कै जिल्लामा बसेर स–साना पसल या तरकारी पसल थापेका व्यक्तिहरू पनि पैसा, सामान र यातायात भाडा पाउने लोभमा आ–आफ्नो जिल्लामा फर्केका छन् । मतदानको निम्ति जानु सकारात्मक पक्ष हो । तर, आ–आफ्नो घर जानुको कारणमा नेता तथा कार्यकर्ताहरूको लोभलालच पनि परेको छ । तिनीहरूले आफ्नो मताधिकारभन्दा पैसा, सामान नै ठूलो हुन्छ ठाने ।
कुनै मतदाता पशुसरह बिक्नु ठीक होइन । आफ्नो आत्मा बेच्नुहुँदैन । पद, पैसा र सामानमा बिकेर जितेको उम्मेदवार जनताका सच्चा प्रतिनिधि हुँदैन । मत आफूतिर तान्न पैसा बाँड्ने कुनै पनि नेता, कार्यकर्ता या उम्मेदवार सबभन्दा बढी दोषी हुन् । पैसामा बिकिने मतदाता पनि दोषी हुन् । सचेत मतदाताले दिएको पैसा लिन्छन् तर मत हाल्दैनन् । मतदाताले गर्नुपर्ने यस्तै हो । यसकारण, देशभरिकै निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल, निर्वाचन आयोग, निर्वाचनमा खटेका कर्मचारी सुरक्षाकर्मी, मतदाता र अन्य सरोकारवाला व्यक्तिहरू इमानदार हुनुपर्छ, आ–आफ्नो जिम्मा इमानदारीपूर्वक सम्हाल्नुपर्छ । निर्वाचन शान्तिपूर्णरूपमा सफल होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *