भर्खरै :

म, तिमी र हामी !

  • बैशाख ३१, २०७९
  • जनकवि चन्द्रबहादुर उलक
  • साहित्य

हिजो,
शान्ति, सुव्यवस्था र सुखको लागि
भोलिको उज्यालो दिन कुर्दै
म, तिमी र हामी
चौबाटोमा उभिएका थियौँ
एक त्यान्द्रो आशा बोकेर ।
हाम्रो इच्छा हाम्रो आशा
विशाल थिएन,
मात्र दुई छाक डुकु र भात,
बिरामी पर्दा अलिकति ओखती,
आँखाबाट छर्लङ्ग हेर्न
मात्र अलिकति शिक्षा मागेका थियौँ ।
त्यो कुनै अपराध थिएन/बेइमानी थिएन
त्यसबेला हामीमा थाम्नै नसकिने
उत्साह थियो/उमङ्ग थियो
त्याग थियो/समर्पण थियो
अतः हामीले
एक हातले हँसिया हथौडा
अर्को हातले ४ तारे झन्डा
कस्सेर उठाएका थियौँ,
एउटै गर्भका सन्तान सम्झी
विरोधका आवाज बुलन्द पारेका थियौँ,
मात्र पदार्थबाट निस्केको चेतनालाई
व्यवहारमा उतार्न पाउने अधिकार खोजेका थियौँ ।
समयको परिवर्तनपछि–
म, तिमी र हामीलाई
आश्वासनको लामो नदी तर्न
बाध्य पारिएको छ,
पुनः हामीले
भोलिको लागि यो ज्यानलाई
चौबाटोमा उभ्याउनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *