राजनैतिक बन्दोबस्तबारे बुद्धिजीवी समुदाय सैद्धान्तिक र व्यावहारिक रूपले पहिले स्पष्ट होऔँ !
- जेष्ठ ४, २०८३
वर्गीय समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ । देशमा शोषण, दमन, अन्याय, अत्याचार, भ्रष्टाचार, पक्षपात, असमानता, विभेद रहेसम्म सङ्घर्ष भइरहन्छ । शोषक र सामन्त, प्रतिक्रियावादी, जालीफटाहा र जमिनदारहरू रहेसम्म सङ्घर्ष रोकिँदैन । बहुमत जनताको जीवनको सुनिश्चितता नभएसम्म या रोजीरोटीको व्यवस्था नभएसम्म सङ्घर्ष जारी हुन्छ । सबैको नाना, छाना र दानाको व्यवस्था नहोउञ्जेल सङ्घर्ष भइरहनेमा शङ्का छैन । तर, सत्ताधारी नेताहरू प्रजातान्त्रिक अधिकार छँदै छ, केको लागि किन सङ्घर्ष गर्ने भनी प्रश्न तेस्र्याउँछन् ।
सङ्घर्ष शोषक, सामन्त र जालीफटाहाविरुद्धमात्र होइन सिद्धान्तविहीन राजनीति र भ्रष्ट नेताहरूविरुद्ध पनि गर्नुपर्छ । सङ्घर्ष देशमा व्याप्त भ्रष्टाचार, बेथिति, तस्करी, कालाबजारी र महँगीविरुद्ध पनि गर्नुपर्छ । सङ्घर्ष शोषण, दमन, भेदभाव र पक्षपातविरुद्ध पनि गर्नुपर्छ । सङ्घर्ष जातीय राजनीति र साम्प्रदायिक राजनीतिविरुद्ध गर्नु आवश्यक छ । सङ्घर्ष असमान सन्धिसम्झौताविरुद्ध गर्नुपर्छ । सङ्घर्ष देशघाती नागरिकता विधेयक, देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउने, देश र जनतालाई दूरगामी असर पु¥याउने एमसीसी सम्झौताविरुद्ध पनि गर्नुपर्छ । माक्र्सवाद–लेनिनवादको नाउँमा सोही वादविपरीत सिद्धान्त र विचार आत्मसात गर्ने या कम्युनिस्टको नाउँमा कम्युनिस्टकै सिद्धान्त र विचार भुल्ने या विपरीत काम गर्ने दलविरुद्ध पनि सङ्घर्षको खाँचो हुन्छ । सङ्घर्ष बाढी पहिरो, डुवानमा पर्दा समयमै राहत नपु¥याउँदा र रोगको प्रकोप भए पनि स्वास्थ्योपचारमा ध्यान नपु¥याउने सरकारी बेवास्ताविरुद्ध पनि गर्नुपर्ने हुन्छ । सरकारले संविधान पालन नगर्दा र संविधानविपरीत काम गर्दा पनि सङ्घर्ष नगरी हुन्न ।
अहिले सत्तासीन दलका भ्रातृ सङ्गठनहरू नै सडक आन्दोलनमा छन् । राष्ट्रपतिले नागरिकता विधेयकमा हस्ताक्षर नगरेको कारण सत्तासीन दलका जनवर्गीय सङ्गठनहरूले आन्दोलन गरे । एमाले छोडेर एकीकृत समाजवादी बनेका सांसदहरूलाई कारबाही गरिएन भनेर एमालेले सभामुखविरुद्ध आन्दोलन छेड्यो र महिनौँसम्म संसद् अवरोध ग¥यो । अरूलाई किन र केको आन्दोलन भनी पाठ सिकाउने दलका नेताहरूले नै आन्दोलन गर्न थाले । हरेक राजनीतिज्ञलाई देश बिग्रिएला र जनताले दुःख पाउलान् भन्ने चिन्ता हुन्छ । सत्तासीन दलका नेताहरूमा सत्ता स्वार्थ र भागबन्डाको लागि विदेशी शक्ति राष्ट्रको पक्षपोषण गर्ला, नेपाल र नेपालीको सेवा र स्वार्थभन्दा विदेशी शक्ति राष्ट्रको बढी सेवा गर्ला भन्ने चिन्ता देशभक्त दल र जनतालाई हुन्छ । यसकारण, हरेक राजनीतिक दल र समुदायका मानिसहरू देश हितको पक्षमा लाग्नुपर्छ । सामाजिक सेवामा लाग्नुपर्छ । देश बनाउने हो भने दूरदर्शी नेतृत्व चाहिन्छ । सक्षम नेतृत्व चाहिन्छ । जहाँ पुगे पनि बसे पनि शान्तिपूर्ण वातावरण चाहिन्छ । दलका नेताहरू जसरी भए पनि सत्तामा पुगेर कमाउधन्दामा लाग्ने होइन, देश र जनताको सेवामा जुट्नुपर्छ ।
Leave a Reply