“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
लघु कथा
आकासमा बादल मडारिरहेको छ । पाइलटले काठमाडौँमा विमान अवतरण गर्न पटकपटक प्रयास गर्दा पनि मौसमले साथ नदिएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षितका साथ अवतरण गरियो । होटलमा पुगेपछि भने यात्रुहरूको मनमा डर र त्रास भए पनि सबैले आफूलाई सुुरक्षित महसुस गर्न थाले ।
साँझपख होटलमा कोही चिया त कोही कफी, कोही ह्वीस्की त कोही वियरको चुस्की लिँदै आ–आफ्नो धुनमा गफ गर्दै थिए । यसै सिलसिलामा एउटा टेबुलमा विभिन्न देशबाट स्वदेश फर्केका नेपालीहरूको आ–आफ्नो दुःखसुखका क्षणहरू प्रकट गर्ने कार्य सुरु भयो ।
मलेसियामा सात वर्ष बिताएका रामेले भने, “सात वर्ष मलेसियामा काम गरे पनि मैले खासै कमाउन सकेन । थोरै तलब, धेरै काम हुन्थ्यो, कहिलेकाहीँ बिरामी हुन्थ्यो । मैले त जम्मा सात लाखमात्र बचाउन सकँे ।” मीठो कफीको चुस्की लिँदै कैलाशले आफ्नो मनको कुरा राखे, “ म त अष्टे«लियामा पढ्न गएको हो, मलाई कमाएको पैसा खान, बस्न, पढ्नमात्र ठीक छ । मैले चार वर्षमा एमबीएको डिग्रीको एउटा प्रमाणपत्र ल्याएको छु । अब म नेपालमै काम गर्ने विचारमा छु ।”
अमेरिकाको डीभी परेपछि खुसी भएर अमेरिका गएका विपिनले पनि आफ्नो दुःखेसो पोखे, “के गर्ने ? अमेरिकामा केके न पाइन्छ भनेर यहाँको स्थायी जागिर छोडेर गइहालेँ । तर, यहाँ मेरो शिक्षण पेसा नै रमाइलो लाग्छ । यहाँ मेरो इज्जत थियो, प्रतिष्ठा थियो । त्यहाँ को को नि ! हातखुट्टा चलाउन सकेन भने मुखमा पनि ताला लगाउनुपर्ने स्थिति छ । पाँच वर्षपछि नयाँ वर्ष २०८० साल मनाउन आफ्नो जन्मभूमि फर्कदै छु ।” साथीहरूको कुरा सुनेपछि सागरले पनि आफ्नो अनुभव बताए, “नेपालमा पढेर पनि काम पाएन भने पैसा कमाउने आशामा कतार गएँ । यहाँ सम्झौता एउटामा उता काम अर्कैमा । लेखापालमा काम गर्ने भनेर गएको उता मजदुरी काम गर्नुप¥यो । उता पुगेपछि खाउँ भने कान्छा बाबुको अनुहार, नखाउँ भने दिनभरिको शिकार भयो । यद्यपि, खाइनखाई ६ वर्षमा पाँच लाख कमाएर मातृभूमि फर्केँ ।”
परदेशबाट आफ्नो देश फर्केका नेपालीहरूको तीता मीठा कुरा सुनिरहेका जर्मन नागरिक माइक कोहलले सबैलाई अभिवादन गर्दै आफ्नो धारणा व्यक्त गरे, “तपार्इँहरूले मलाई चिन्नुहुन्न होला । म नेपालको संस्कृतिमा पीएचडी गर्न आएको ४ वर्ष भयो । मेरो अनुसन्धान र अध्ययन गर्ने काम सकाएर आफ्नो जन्मभूमि फर्कदै छु । हरेक दिन सयौँ जना नेपालीहरू विदेशमा जान्छन् । कोही कमाउने, कोही पढ्ने त कोही भिजिट भिसा, कोही………. वहाना । तपाईँहरू आफ्नो देशमा किन पसिना बगाउनुहुन्न ? तपाईँहरूको देशमा के छैन ? अपार जलस्रोत, ऊर्वर कृषि भूमि, कला र संस्कृति तथा प्राकृतिक सौन्दर्यता, वनजङ्गल आदि सबथोक छ । यद्यपि, तपाईँहरूको सरकार यतिका विकासको सम्भावना भएर पनि विदेशको भरमा बाँच्छ । सरकारले उद्योग, कलकारखाना सञ्चालन गरी आत्मनिर्भर बन्ने त सोच नै राखेन । मान्छेले मागेर खाने पल्केपछि काम गरेर खान मन पराउँदैन । मलाई त लाग्छ, कतै नेपाल सुनको कचौरामा भिक्षा त माग्दै छैन ?”
Leave a Reply