सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
युवा, विद्यार्थी, मजदुर, किसान, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यवसायी, महिला, ज्येष्ठ नागरिक तथा साथीहरू !
नेपाल मजदुर किसान पार्टीका प्रचारयन्त्र वा प्रकाशनहरू (‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक, मजदुर–किसान, अन्य वर्गीय सङ्गठनका प्रकाशनहरू) ले देशी र विदेशी आन्दोलन, सङ्घर्ष, क्रान्ति, पहिलो र दास्रो विश्वयुद्ध, अन्तर्राष्ट्रिय किसान र मजदुर आन्दोलनहरू, रुस, चीन, कोरिया, भियतनाम, लावस, कम्बोडिया, इन्डोनेसिया, क्युवा, अफ्रिका, ल्याटिन अमेरिकी देशहरू, अफगानिस्तान, इराक, इरान तथा युक्रेनसम्मका विषयहरूमा युद्धका कारण, त्यसका राजनैतिक पक्षहरू, तिनीहरूका सैद्धान्तिक पृष्ठभूमि र उद्देश्यबारे जानकारीहरू हाम्रा पाठक साथीहरू र जनतामा सूचना प्रवाह गर्दै आएको सर्वविदित छ ।
त्यसो गर्नुको मुख्य उद्देश्य नेमकिपा देशको स्वतन्त्रता, सार्वभौमिकता एवम् समाजवादको निम्ति सङ्घर्षमा नेपालको एक जिम्मेवार राजनैतिक दल हुनुको कारण हो । हाम्रो पार्टीको स्थापनाकालभन्दा पहिले र पछि, आजसम्म हामी देश र जनताप्रति नै समर्पित भई कार्यरत छौँ । हाम्रो संविधानले पनि देशलाई ‘समाजवाद’ उन्मुख समाज निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको हुँदा शारीरिक र बौद्धिक कामदार जनताकै भरमा नेमकिपा आफ्नो कर्तव्यप्रति सङ्घर्षरत छ ।
नेमकिपा वा हाम्रो प्रचार र हाम्रो गतिविधिले देश र जनताको किन, कसरी वैचारिक सहयोग पुग्यो र हाम्रो कर्तव्यले कसरी औचित्यता साबित हुन्छ भन्नेबारे केही उदाहरणहरू दिन चाहन्छु ।
१) सन् १९५७, १९६० र त्यसपछिका अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महत्वपूर्ण दस्तावेजका अनुवादहरू प्रकाशित गर्न हाम्रा कार्यकर्ता र जनतालाई सुसूचित गर्ने काम हुँदै आएको छ,
२) सोभियत सङ्घ, चीन र अन्य समाजवादी देशहरूको सङ्घर्षदेखि ती देशका आर्थिक उन्नति र त्यसमा योगदान गर्ने महत्वपूर्ण नेता, कार्यकर्ता, पार्टी र जनतालाई नेपालीमाझ परिचित गर्ने काम चालु छ ।
३) दोस्रो विश्वयुद्ध बेला चर्चित नेताहरू रुजवेल्ट चर्चिल, ट्रयुमेन, डेगाल, स्तालिन, अन्य धेरै नेता र व्यक्तिहरूको परिचय प्रकाशित हँुदै छ ।
४) भारत–चीनको सीमा विवादले भर्खर स्वतन्त्र, मुक्ति र प्रजातान्त्रिक अधिकार प्राप्त गर्ने तेस्रो विश्वका मुलुकहरूको साम्राज्यवाद र उपनिवेशवादविरोधी आन्दोलनमा ठूलो नकारात्मक प्रभाव पार्ने विषय थियो, भारत–चीन सीमा सङ्घर्ष । त्यो विवाद भारत र चिनियाँ जनताको मात्रै सरोकारको विषय नभई संसारमा साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षमा भाँजो हाल्ने काम गर्ने पश्चिमी शक्तिहरूको एक षड्यन्त्र थियो । यसकारण, नेमकिपाका साथीहरू, समर्थक र सहानुभूति राख्नेहरूको निम्ति मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई नै अवगत गराउने उद्देश्य राखेर त्यसबारे उचित जानकारी दिने आफ्नो कर्तव्य ठान्दै त्यसको निम्ति नेमकिपाले एसिया र अफ्रिकी मुलुकका नेता र राष्ट्र प्रमुखहरूलाई पत्र लेखेर चिनियाँ प्रधानमन्त्री चाउ एन–लाइले स्थितिलाई अवगत गराउनुभएको दस्तावेज र नक्सासमेत छापेर जनतामा पु¥यायो । त्यस्तै, ‘भारत–चीन सीमा विवादको प्रकाशनमा नेहरूको दर्शन’ भन्ने महत्वपूर्ण पुस्तिकालाई छाप्यो ।
त्यसपछि हालैका वर्षहरूमा ‘भारत–चीन सीमा युद्ध’, ‘हिमालयको महाभूल’ र ‘चीनको विश्वासघात’ जस्ता बेलायती र भारतीय सम्बन्धित सैनिकहरूको पुस्तकको सार नेमकिपाको प्रकाशनले छापेर जनतालाई सुसूचित ग¥यो ।
५) त्यस्तै नेपालमा पश्चिमी देश बेलायत, संरा अमेरिका र केही नाटो देशका सैनिक इतिहास र सम्बन्धित हातहतियार र प्रगतिको धेरै जानकारी र प्रभाव नेपाली जनतामा छ । तर, दोस्रो विश्वयुद्धको परिणामलाई पश्चिमी शक्तिको तुलनामा सोभियत सङ्घ र कम्युनिस्ट शक्तिको पनि योगदान कम महत्वपूर्ण छैन भन्नेबारे आवश्यक जानकारी दिन ‘श्रमिक’ ले धाराबाहिकरूपले तत्कालीन सोभियत मार्शल झुकोभको ‘संस्मरण’ प्रकाशित गर्दै छ । त्यसले पार्टी साथीहरू मात्रै होइनन् नेपाली सेना, प्रहरी, गुप्तचर विभाग र सारा नेपाली जनतालाई समेत सुसूचित गर्ने छ । नेपाल र नेपाली जनता सदा पश्चिमी सैन्य शक्तिको एकतर्फी प्रभावमा नपरून् र अन्य शक्तिहरूबारे पनि नेपालले जानकारी लिई देश र जनताको यथोचित सेवा होस् भन्ने उद्देश्यले एक जिम्मेवार राजनैतिक पक्षको हिसाबले नेमकिपाले आफ्नो कर्तव्य पूरा गर्दै छ भन्ने नेमकिपाको ठहर छ ।
६) दोस्रो विश्व युद्धदेखि नै पश्चिमी शक्तिले बेलामौकामा फासीवादीहरूसँग मिलेर मित्र शक्ति, समाजवादी शक्तिको विरोधमा षड्यन्त्र गरेको थियो । युक्रेनबारे त्यसै बेलादेखि पश्चिमी शक्तिले आफ्नै ‘मित्र शक्ति’ को विरोधमा षड्यन्त्र गरेको प्रस्ट छ । यसकारण, नेपाल पनि अन्तर्राष्ट्रिय जटील शक्ति सन्तुलनमा प्रयोग नहोस् भन्ने उद्देश्य लिएर नेमकिपाले युक्रेनको विषयलाई प्रचारको एउटा विषय बनाएको हो ।
७) त्यस्तै एमसीसीबारे तथा हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिका, बेलायत, अस्ट्रेलिया र जापान मिलेर गर्दै आएको युद्ध अभ्यास र सैन्य गुटबन्दीबारे पनि नेपाली जनतालाई नेमकिपाले प्रस्ट दृष्टिकोण अगाडि सार्दै देश र जनतालाई सचेत पार्ने कर्तव्य पूरा गर्दै छ ।
८) शुद्ध र सफा हावाको निम्ति जसरी मानिसले झ्याल–ढोका खोल्छन् र बाहिरी फेरा घुमफिर गर्छन् त्यस्तै नेमकिपाले आफ्ना पार्टी साथीहरू, समर्थक र नेपाली जनतालाई ल्याटिन अमेरिकी देशहरूको बारेमा यथार्थ जानकारी दिने उद्देश्यले क्युवा, चिली, पेरु, बोलिभिया, निकारागुआ, भेनेजुयला आदि देशहरूबारे र संरा अमेरिकाकै बारे पनि जानकारी प्रवाह गर्दै छ । यो पनि व्यापक जनतालाई शिक्षित गर्ने उद्देश्यबाटै प्रेरित विषय हो ।
९) त्यसबाहेक भारतमा बढ्दै गएको दक्षिणपन्थी शक्ति र संरा अमेरिकाको प्रतिगामी शक्ति बढ्दै गर्दा नेमकिपाले भारतीय जनताका केही राम्रा पक्षहरू १९५०–६० को दशकको साहित्यिक फाँटका व्यक्तिहरू रवीन्द्रनाथ ठाकुर, बलराज साहनी र अन्य कम्युनिस्ट नेताका जीवनीबारे पाठकहरूलाई जानकारी दिएको साथीलाई सम्झना होला । वर्तमान भारतीय फासीवादी विचारको विरोधमा भारतका प्रजातन्त्रवादी, प्रगतिशील लेखक र चिन्तकहरूको विचारका पुस्तक प्रकाशन गर्न र गराउन त्यो फाँट पछि परेको छैन । रवीन्द्रनाथ ठाकुरको ‘रुसको चिट्ठी’ ले भर्खरको सोभियत सङ्घको सफलता र समस्या, सहकारी संस्थाको जानकारी र बलराज साहनीप्रतिको प्रगतिशील साहित्यको निर्माणमा व्यक्ति र साहित्यिक संस्थाहरूका गतिविधिको कष्टसाध्य सङ्र्घषको दर्शन हुन्छ । त्यसकारण, ती पुस्तकहरूको प्रकाशनको विषयमा छलफल हुँदै छ ।
१०) माथिका नेमकिपाका प्रचार र साहित्यिक गतिविधि हुँदाहुँदै निश्चित केही व्यक्तिहरूमात्रै त्यसमा संलग्न हुँदा व्यवहारमा थकाइ अनुभव देखाउनु र कहीँ कतै समाजमा बढ्दै गएको पुँजीवादी प्रभाव पर्नु पनि त्यतिकै सत्य हो । (जिम्मा लिएको संस्थाले वर्षौँसम्म ग्राहकहरूसँग ‘श्रमिक’, ‘मजदुर’ र अन्य साहित्यको उठाउनुपर्ने ग्राहक शुल्क र मूल्यसमेत उठाउन चासो नदिनु र उठाउन जिम्मा दिएका व्यक्तिहरूले ‘प्रतिशत’ समेत मागेको जानकारीले साँच्चै आफैँभित्र बढ्दै गएको पुँजीवादी दृष्टिकोणबाट झस्किनुपर्नेे स्थितिमा पार्टीको कक्षा सञ्चालन नभएको हुँदा जिम्मेवार केन्द्रीय सदस्यहरूले समेत चासो र तडारुकता देखाउनुपर्ने विषय जानकारी प्राप्त भयो ।
हेर्दा सामान्य विषय भए पनि सैद्धान्तिक र व्यवहारको दृष्टिले अत्यन्त उदेकलाग्दो, कर्तव्यबाट पन्छिने र भित्रभित्र संस्थामा अनुशासनहीनता र अनुत्तरदायी व्यवहार प्रस्ट अनुभव गरियो । घुर्की र धम्कीको आभाष प्रस्ट हुँदै गयो । यसबारे पार्टीका सबै तहका सदस्य साथीहरू र समर्थकहरूसमेत चिन्तित र सचेत हुनुपर्ने स्थिति देखियो ।
विभिन्न क्षेत्रका कार्यकर्ताहरूलाई वर्ग शत्रुहरूबाट जोगाउनुपर्ने बेला र विषयलाई ‘प्रकाशमा आउने भित्री इच्छा’ व्यवस्थित गर्न नसक्दा परिणाम ठीक उल्टो देखिने वा सङ्घर्षको मैदानबाट पन्छिने र भाग्ने उपाय खोजिएको प्रस्ट अनुभव गरियो ।
११) पार्टीको प्रारम्भिक समिति (सेल) मा पनि बैठकहरू नियमित नहुनु र ती साथीहरूमा पनि सामूहिक जीवनभन्दा व्यक्तिगत जीवन र ‘शुभलाभ’ (पुँजीवादी) गतिविधिमा बढी ध्यान गएको चर्चाको विषय बन्दै छ । एमाले, एमाओवादी, जनमोर्चा, समाजवादी केन्द्र आदि कम्युनिस्ट भनिने दलहरूले ‘पुँजीवादको विकास नभई समाजवाद आउँदैन’ भन्ने गलत व्याख्या गरी आफूहरू र आफ्ना छोराछोरीलाई समेत देशी वा विदेशी कम्पनीका मालिक बनाएर अनेक काण्डहरू मच्चाएर ‘कम्युनिस्ट’ शब्दलाई नै जनतामा घृणित हुने स्थितिमा पु¥याए । ‘उद्योगधन्दाको विकास’ गर्नुपर्ने आवश्यकतालाई आफूहरू नै पुँजीपतिवर्गमा दर्ता हुने काम निश्चय पनि सर्वहारा दृृष्टिकोण बोक्ने राजनीतिक दललाई सुहाउँदैनथ्यो ।
१२) नेमकिपाका केही समर्थकहरूले अरूको वा नेमकिपाका समर्थक साथीहरूको घर–खेत वा सम्पत्तिलाई जालझेल गरी आफ्नो नाउँमा गर्ने उद्देश्यले नापी शाखा र माल कार्यालयलाई समेत अँध्यारोमा राखी अनेक जाली काम गर्दै गरेको जानकारीमा आएका छन् । त्यसबारे केही सेलका साथीहरू जालीफटाहासँग डराई वा नातागोता, आफन्तजन भाइ भनी सङ्घर्ष नगरी उदारवादी दृष्टिले लाचारी देखाउँदै छन् । अर्काको सम्पत्ति हस्तगत गर्ने वा आफ्नो नाममा पार्ने जालसाजीलाई नै समाजवाद सम्झने र त्यसैको निम्ति नेमकिपामा आउन खोज्नेहरूबाट सचेत हुने र विरोधसमेत गर्नुपर्ने हुन्छ ।
‘कम्युनिस्ट’ र ‘समाजवाद’ को नारामा अरूको सम्पत्ति चोर्ने वा डकैती गर्ने प्रवृत्तिलाई समर्थन गर्नु कम्युनिस्ट आन्दोलनको उद्देश्य नभई देश र व्यापक जनताको हित हुने कार्यमा अग्रसर हुने पार्टीको उद्देश्य हो, कुनै व्यक्तिको सम्पत्ति भाइ अरू जालीफटाहाको हातमा सुम्पन्ने पार्टीको उद्देश्य होइन । अहिले बदनाम र जनविरोधी घर–जग्गा व्यापारी र दलालहरूबाट नेमकिपाका सदस्य र समर्थकहरूलाई जोगाउनुपर्ने स्थिति देखिँदै छ ।
समाजवादी आन्दोलनमा सोभियत सङ्घमा ठूलठूला जग्गा धनी किसान वा ‘कुलाक’ हरूसँग पनि ठूलठूला सैद्धान्तिक सङ्घर्ष र लडाइँहरू लड्नु परेको थियो । पार्टीभित्रै त्यस्ता शोषक र गुप्तचरहरू गुप्तरूपले पार्टी फुटाउने काममा लागेका थिए । लेनिनको मृत्युपछि ख्रुश्चेभ गुट र त्रोत्स्की विश्वासघातीहरूसँग मिलेर क्रुप्स्कायालाई समेत हातमा लिएर समाजवाद र सर्वहारा वर्गलाई अहित गर्ने तथा समाजवादलाई कार्यान्वयन गर्न नदिने स्तालिनको विरोधमा षड्यन्त्र गरेका थिए । खराबी सुरु भएकै बेला साथीहरू सचेत हुनु आवश्यक छ, नत्र पछि गा¥हो हनु स्वाभाविक छ ।
यसकारण, सबै साथीहरूले सेल बैठकहरू राखेर सिद्धान्त र समसामयिक विषयमा अन्तरक्रिया र छलफल गर्ने परीपाटी चालु राख्नु आवश्यक छ र आलोचना एवम् आत्मआलोचनामार्फत आफ्ना दायाँबायाँका साथीहरूसँग छलफल गर्नु आवश्यक छ ।
Leave a Reply