भर्खरै :

छात्रवृत्तिका विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउन भक्तपुरका विद्यालयहरू सहमत

छात्रवृत्तिका विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउन भक्तपुरका विद्यालयहरू सहमत

भक्तपुर, ९ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा छात्रवृत्ति सिफारिस र छात्रवृत्ति छनोट परीक्षाको विषयमा सोमबार भक्तपुर नपाको सभाकक्षमा बैठक बस्यो ।
उक्त बैठकले भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालय तथा कलेजहरूमा गरिब, जेहेनदार तथा छात्रवृत्तिका लागि सिफारिस गरिएका विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउन सहमत गर्ने निर्णय गर्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षाको जग बलियो पार्दै सामुदायिक र संस्थागत विद्यालयहरूलाई समान ढङ्गले अगाडि बढाउन विविध शैक्षिक क्रियाकलापहरू गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरका विद्यार्थीहरूलाई २१ औँ शताब्दीका योग्य नागरिक बनाउन र आर्थिक कारण विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नदिन भक्तपुर नपाले २०७५ सालदेखि छात्रवृत्ति वितरण गर्दै आइरहेको बताउनुभयो ।
उहाँले विद्यालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे नगरपालिकालाई अवगत गराउनुपर्ने बताउँदै भक्तपुरलाई शैक्षिकरूपमा अझ परिष्कृत ढङ्गले अगाडि बढाउन विद्यालयहरूको क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले विद्यार्थीहरूलाई अध्ययनमा नियमितताको लागि छात्रवृत्तिले विशेष भूमिका खेलेको बताउँदै गरिब र जेहेनदार विद्यार्थीहरू छात्रवृत्तिबाट बढी लाभान्वित भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले विद्यालयका प्रअबिचको छलफलबाट प्राप्त सुझावहरू रचनात्मक भएको बताउँदै नपाबाट प्रदान गरिने छात्रवृत्तिको विषयमा विद्यार्थीहरूलाई समयमै सूचित गरिनुपर्ने बताउनुभयो ।
नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा विज्ञान विषयमा ३७० जना, व्यवस्थापनमा ३१५, मानविकीमा १३, शिक्षामा १९ र कानुनमा २६ गरी कुल ७४३ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी गराउनुभयो ।
बैठकमा उपस्थित संस्थागत र सामुदायिक विद्यालयका प्रअहरूले छात्रवृत्ति छनोट परीक्षा स्तरीय ढङ्गले सञ्चालन गरिनुपर्ने, अध्ययनशील र जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुपर्ने, विद्यालयमा ८० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई प्राथमिकतामा राख्नुपर्ने, छात्रवृत्तिबाट अध्ययनरत विद्यार्थीहरूलाई सङ्गठित गर्दै नपाबाट मार्गनिर्देश गर्नुपर्ने, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बौद्धिक र अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिनुपर्ने, विद्यालय स्वयम्ले विद्यार्थीको योग्यताको आधारमा १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको धारणा राख्नुभएको थियो ।
भक्तपुर नगरपालिकाले शैक्षिक वर्ष २०८०÷८१ को लागि छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि २०८० साउन १३ गते शनिबार भक्तपुरको देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा बिहान ८ बजे छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *