भर्खरै :

बादशाहको नयाँ लुगा (१)

बादशाहको नयाँ लुगा (१)

(डेनमार्कका कवि र लेखक ह्यान्स क्रिश्चियन एन्डरसन (Hans Chritians Andersen) द्वारा लिखित र सन् १८३७ मा प्रथम पटक प्रकाशित विश्व प्रसिद्ध कथा ।
एन्डरसनको जन्म सन् १८०५ अप्रिल २ र निधन ७० वर्षको उमेरमा सन् १८७५ अगस्त ४ मा भएको थियो । उनका दर्जनौँ कथा, कविता, नाटक, यात्रावर्णन र उपन्यास पनि प्रकाशित छन् । सं.)
उहिले एकजना बादशाह थिए । उनको नयाँ नयाँ लुगा लाउने शोख थियो । उनले सबै पैसा लुगामा खर्च गर्थे । राम्रो लुगा लाउनु नै उनको एकमात्र चाहना थियो । उनलाई आफ्ना सिपाहीँहरूको चासो थिएन न त उनलाई नाच हेर्दा रमाइलो लाग्थ्यो न त सङ्गीतले उनलाई खुसी पाथ्र्यो । कसरी राम्रो लुगा लाएर बाहिर निस्कने भन्ने मात्रै उनको ध्याउना थियो । उनी एक एक घण्टामा लुगा फेर्थे । अरू बादशाहका बारेमा भन्नु पर्दा मानिसहरू ‘बादशाह सभामा छन्’ भन्थे भने उनको बारेमा जसले पनि ‘बादशाह लुगा फेर्ने कोठामा छन्’ भन्ने गर्थे ।
बादशाह बस्ने सहर निकै रमाइलो थियो । संसारका विभिन्न देशका मानिसहरू यहाँ आइरहन्थे । एक दिन दुईजना ठगहरू सहरमा आए । उनीहरूले हामी कपडा बुन्ने जुलाहा हो भनेर ढाँटे । उनीहरूले हामीले कल्पनै गर्न नसकिने मिहीन कपडा बुन्न सक्छौँ भनेर सुनाए । “त्यो कपडाको रङ्ग र बट्टा अद्वितीय सुन्दर हुनुका साथै त्यसको एउटा विशेष गुण पनि छ । जो मानिस आफ्नो पदको लागि अयोग्य छ र जो सा¥है मूर्ख छ, त्यसले त्यो कपडा देख्न सक्तैन,” उनीहरूले भने ।
उनीहरूको कुरा सुनेर बादशाहले विचार गरे, “अहो त्यो कपडा त साँच्चै नै अचम्मको होला ! त्यो कपडाको लुगा लाएँ भने त मैले मेरो राज्यमा को मानिस आफ्नो पदमा अयोग्य छ भनी थाहा पाउन सक्नेछु । अनि मूर्ख र विद्वान् छुट्याउन पनि सजिलो हुनेछ । सकेसम्म चाँडो यस्तो कपडा बुन्न नलगाई भएन ।”
उनीहरूले सकेसम्म छिटो कपडा बुनून् भनेर बादशाहले ती ठगहरूलाई थुप्रै पैसा बैना दिए । उनीहरूले कपडा बुन्ने दुइटा तान बनाए र बडो मेहनत गरेर काम गरिरहेको स्वाङ पारे । तर, तानमा केही पनि थिएन । कपडा बुन्न उनीहरूले असल रेशमी र सुनको धागो मागे । मागेको कुरा सबै उनीहरूले पाए । उनीहरू रित्तो तानमा राति अबेलासम्म काम गर्ने ।
‘कपडा बुन्ने काम कस्तो भइरहेछ थाहा पाउनु प¥यो,’ बादशाहले विचार गरे । तर, आफ्नो पदमा अयोग्य मानिसले त्यो कपडा देख्न सक्तैन भन्ने सम्झेर उनलाई आफैँँ जान अप्ठ्यारो लाग्यो । हुन त आफू योग्य छु भन्ने कुरामा उनलाई कति पनि शङ्का थिएन । तैपनि, उनले पहिले आफू जानुभन्दा अरूलाई पठाउनु बेस ठाने । जुलाहाले अचम्मको गुण भएको कपडा बुन्दै छ भन्ने कुरा सहरमा सबैजनालाई थाहा थियो । यसैले सबैजना आफ्नो छिमेकी कति मूर्ख वा दुष्ट छ भनेर जाँच्ने मौका पर्खिरहेका थिए ।
‘जुलाहाकहाँ कपडा हेर्न मेरो विश्वासिलो र पुरानो मन्त्रीलाई पठाउनु प¥यो’, बादशाहले विचार गरे । ‘उनी बुद्धिमान छन् र आफ्नो कामको बारेमा उनलाई जतिको ज्ञान अरूलाई छैन । यसैले कपडा कस्तो देखिन्छ भनेर राम्ररी ठम्याउन उसले नै सक्छ ।”
बूढो मन्त्री जुलाहाहरूले काम गरिरहेको कोठामा जाँदा उनीहरू खाली तानको अगाडि बसिरहेका थिए । ‘हे भगवान मलाई बचाऊ !’ तानमा केही कपडा नदेखेपछि उनले मनमनै भने, “मैले त तानमा केही पनि देखिन्न त ।” तर, उनले मुखले त्यसो भनेनन् । दुवैजना ठगले उनलाई तानको नजिक आएर हेर्न अनुरोध गरे । रित्तो तानतिर देखाउँदै उनीहरूले मन्त्रीसँग सोधे, “हजुरलाई कपडाको रङ्ग र बुट्टा कस्तो लाग्यो ?” बूढो मन्त्रीले तानमा के छ भनेर सकेसम्म हेर्न खोजे । तर, केही पनि देखेनन्, किनकि त्यहाँ देखिने कुरा केही पनि थिएन । “हे भगवान्, के म यस्तो मूर्ख रहेछु ? मलाई त कहिले पनि त्यस्तो लागेको थिएन । यो कुरा कसैले चाल पाउनु हुँदैन । म मेरो पदको लागि अयोग्य हुनै सक्तिनँ । मैले कपडा देखिन भनेर भन्नै हुँदैन ।”
“हजुरले त केही पनि मर्जी भएन । केही त मर्जी होस् ।” एकजना ठगले कपडा बुन्न व्यस्त भएको स्वाङ पार्दै भन्यो ।
“हो, यो कपडा सा¥है राम्रो छ । अति सुन्दर छ । बूढो मन्त्रीले चस्माले तानमा हेर्दै जवाफ दिए । कस्तो राम्रो बुट्टा ! कस्तो चहकिलो रङ्ग ! मलाई कपडा निकै मन प¥यो । यो कुरा बादशाहलाई पनि भन्छु ।”
“हजुरको कुरा सुनेर हामीलाई सा¥है खुसी लाग्यो,” ती ठगहरूले भने । उनीहरूले कपडाको रङ्गको बारेमा बताए । अनौठा बुट्टाको व्याख्या गरे । बूढो मन्त्रीले बादशाहलाई सुनाउनको लागि उनीहरूको कुरा बडो ध्यान दिएर सुने । अनि फर्केर बादशाहलाई भने ।
त्यसपछि उनीहरूले कपडा बुन्नलाई भनेर थप धेरै पैसा अनि रेशम र सुनको धागो मागे । ती सबै कुरा उनीहरूले आफूले नै राखे । तानमा एक धर्को धागो पनि परेन । तर, उनीहरूले पहिलेजस्तै खाली तानमा काम गरिरहे ।
केही दिनपछि बादशाहले दरबारका अर्का इमानदार कर्मचारीलाई कपडा बुन्ने काम कस्तो भइरहेछ, कहिले सकिन्छ भनी बुझ्न पठाए । बूढो मन्त्रीले जस्तै उनले पनि तानमा बडो गहिरिएर हेरे । तर, जति हेरे पनि केही देखेनन् । देखिने कुरा तानमा केही पनि थिएन ।
“यो कपडा हजुरलाई राम्रो लागेन ?” त्यहाँ हुँदै नभएको कपडाको अनौठो बुट्टा र रङ्गको व्याख्या गर्दै ती ठगहरूले दरबारका कर्मचारीसँग सोधे ।
म पक्कै पनि मूर्ख छैन । उनले मनमनै भने, “त्यसो भए मेरो पदको लागि म अयोग्य हुनुपर्छ । यो त सा¥है अनौठो कुरा भयो । तर, यो कुरा कसैले पनि थाहा पाउनु हुँदैन ।” अनि उनले आफूले देख्दै नदेखेको कपडाको तारिफ गरे । राम्रो रङ्ग र अनौठो बुट्टा देखेर आफू दङ्ग परेको कुरा ती ठगहरूलाई भने । दरबारमा फर्केर उनले बादशाहलाई कपडा सा¥है राम्रो छ भनेर सुनाए ।
सहरका सबैजनाले दामी र अनौठो गुणा भएको कपडाको बारेमा कुरा गर्न थाले । अन्त्यमा बादशाह आफैँले कपडा तानमा छँदै हेर्न जाने विचार गरे । धेरैजना भारदारहरूलाई अघिपछि लाएर बादशाह ती धूर्त ठगहरूकहाँ गए । पहिले कपडा हेरिसकेका दुईजना पनि सँगै थिए । तानमा ती ठगहरू सकेसम्म मिहिनेत गरिरहेका थिए । तर, त्यहाँ एक धर्को धागो पनि थिएन ।
कस्तो राम्रो कपडा ! पहिले नै हेरिसकेका मन्त्री र कर्मचारी दुवैले बादशाहलाई भने, “सरकारलाई यसको रङ्ग र बुट्टा पक्कै पनि मनप¥यो होला ।” उनीहरूले रित्तो तानतिर देखाए । आफूले नदेखे पनि अरूले त्यो कपडा देखिरहेका छन् भन्ने उनीहरू दुवै जनालाई लागेको थियो ।
“यो के अनौठो भएको होला ?” बादशाहले सोचे, “मैले त केही पनि देखिन । कस्तो डरलाग्दो कुरा के म मूर्ख छु ? के म बादशाह बन्न अयोग्य छु ? यो त मेरो लागि सबैभन्दा भयानक कुरा हो ।”


बादशाहले जुलाहाहरूतिर फर्केर भने, “साँच्चै नै तिमीहरूले बुनेको कपडा हामीलाई सा¥है मनप¥यो ।” सन्तोषको भावले टाउको हल्लाउँदै उनले रित्तो तानतिर हेरे । आफूले केही पनि देखिन भनेर बादशाहले भन्न चाहेनन् । उनीसँगै आएका उनका भारदारहरू सबैले घुरीधुरी तानमा हेरे तर केही पनि देखेनन् । तैपनि, बादशाहले जस्तै उनीहरूले पनि ‘सा¥है राम्रो कपडा’ भन्दै कपडाको प्रशंसा गरे । उनीहरू सबैले बादशाहलाई केही दिनपछि मनाउन लागेको समारोहको विशाल शोभायात्रामा त्यही नयाँ र सानदार कपडाको लुगा लाउन सल्लाह दिए ।
सबैले नयाँ कपडा सानदार, सुन्दर र अभूतपूर्व छ भनेर प्रशंसा गरे । सबैजना दङ्ग परेका देखिन्थे । यसैले बादशाहले ती ठगहरूलाई ‘शाही दरबारिया जुलाहा’ पदमा नियुक्त गरेर सम्मान गरे ।
शोभायात्रा हुने दिनभन्दा एक दिनअघि ठगहरूले रातभरि काम गरेको स्वाङ पारे । उनीहरूले सो¥ह वटाभन्दा धेरै बत्ती बाले । बादशाहको नयाँ लुगा सिउन उनीहरू कति व्यस्त छन् भनेर अरूलाई देखाउनु थियो । उनीहरूले तानबाट कपडा झिकेको अभिनय गरे । ठूलाठूला कैचीले हावामा काटे, बिना धागोको सियोले कपडा लिए र आखिरमा भने, “बादशाहको नयाँ लुगा तयार भयो ।”
त्यसपछि बादशाह र उनका सबै दरबारियाहरू हलमा आए । ठगहरूले दामी वस्तु उचालेको स्वाङ पार्दै हात उचाल्दै भने, “यो सुरुवाल हो !”, “यो इस्टकोट हो !” अनि “यो कोट हो !” उनीहरूले भने, “यी लुगा माकुराको जालो जत्तिकै हलुका छन् । लुगा लाउँदा जिउमा केही पनि नलगाएजस्तो हलुका अनुभव हुन्छ । यी लुगाको विशेषता नै यही हो !”
“सरकार, निगाह गरेर जिउको लुगा काढेर नयाँ लुगा पहिरी बक्सिन्छ कि ?” ठगहरूले भने, “सरकारलाई सघाउन हामी सेवकहरू तयार छौँ । सरकार भित्ताको ठूलो ऐना अगाडि सवारी होइबक्सन्छ कि ?”
बादशाहले लुगा फुकाले । ठगहरूले एकएक वटा गरी बादशाहको आडमा नयाँ लुगा लाइदिएको अभिनय गरे । बादशाहले अगाडिपछाडि दायाँबायाँ फर्कीफर्की आफूलाई ऐनामा हेरे ।
“सरकारलाई नयाँ लुगा कस्तो सुहाएको !” कस्तो राम्ररी मिलेको !” सबैले एकै स्वरले भने, “कस्तो राम्रो बुट्टा ! कस्तो राम्रो र कस्तो सानदार लुगा ।”
समारोहका प्रमुखले आएर शोभायात्राको लागि चँदुवा बोक्नेहरू तयार छन् भन्ने घोषणा ग¥यो ।
“म पनि तयार छु ।” बादशाहले भने, “मेरो लुगा कस्तो लाग्यो ? कतिको मिल्यो ?” उनलाई नयाँ लुगा मन परेको छ भन्ने अरूले थाहा पाऊन् भनेर उनले फेरि ऐनातिर फर्केर हेरे ।
बादशाहको पछाडिको लत्रने लुगा उचाल्ने सुसारेहरूले भुइँमा हात पु¥याएर लुगा उचालेको र हातले समातिरहेको अभिनय गरे । उनीहरूले केही पनि देखेका छैनन् भन्ने अरूलाई थाहा दिन उनीहरू चाहन्नथे ।
राम्रो झल्लर भएको चँदुवामुनि बादशाह शोभायात्रामा प्रस्थान गरे । सडकको किनारामा उभिएर झ्यालमा बसेर उनलाई हेर्ने सबैले अचम्म मान्दै भने, “साँच्चै नै बादशाहको लुगा बेजोडको छ । कति लामो लत्रने लुगा । बादशाहलाई लुगा कति सुहाएको ।” आफूले केही नदेखेको कुरा अरूले थाहा नपाओस् भन्ने सबै चाहन्थे । कोही पनि आफ्नो पदको लागि अयोग्य वा मूर्ख देखिन चाहन्नथे । यसैले बादशाहको नयाँ लुगाको प्रशंसा यस पटकजस्तो पहिले कहिल्यै भएन ।
“तर, बादशाहले त केही पनि लगाएका छैनन् । उनी त नाङ्गै छन् ।” आखिरमा एउटा सानो बालकले भनिहाल्यो । “हे भगवान् ! त्यो निर्दोष बालकको कुरा सुन त के भन्छ” त्यो बालकको बाबुले भन्यो । बालकले भनेको कुरा एक कान दुई कान हुँदै सबैतिर फैलियो । आखिरमा सबै मानिसले भने, “बादशाह त एकदम नाङ्गै छन् ।” यसको प्रभाव बादशाहमाथि पनि प¥यो । जनताले सही कुरा बोलेजस्तो उनलाई पनि लाग्यो । तर, उनले के सोचे भने, “शोभायात्रा समाप्त नभएसम्म मैले यो अभिनय गर्नैपर्छ ।” यसैले शोभायात्रा रोकिएन । सुसारेहरू हुँदै नभएको बादशाहको पछाडिको लत्रने लुगा उचालेको स्वाङ पार्दै झन् फूर्तिसँग हिँडे ।
अनुवाद : प्रसाद बासुकला
– ‘पञ्चायत’ वर्ष २ अङ्क – ६ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *