भर्खरै :

कम्युनिस्टहरू पुँजीवादी सत्तामा भुल्न नहुने

कम्युनिस्टहरू पुँजीवादी सत्तामा भुल्नु हुँदैन । तर, केही कम्युनिस्ट पार्टीहरू सत्तामा भुलेको भरमा नेपालका सबैजसो कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्त, विचार र नीति छोडे भन्नु उचित हुँदैन । पञ्चायत कालमा समेत जेल, नेलको वास्ता नगरी निरङ्कुश पञ्चायती व्यवस्था अन्त्यको निम्ति मात्र होइन देशमा कम्युनिस्टहरूको सरकार स्थापना गर्न वर्गसङ्घर्षलाई जोड दिँदै आएको पार्टी पनि छ । कम्युनिस्ट पार्टीभित्र बेलाबखत फुट र जुट हुनुको कारण पनि कम्युनिस्ट पार्टीभित्र देखिएको खोटो विचार नै हो । सिद्धान्त र विचारभन्दा पद र सत्ता प्यारो हुँदा, सिद्धान्त र विचारलाई बन्धक राखेर राजनीतिक गतिविधि गर्दा र कम्युनिस्ट पार्टीले क्रान्तिकारी बाटो छोडेर अवसरवादी र संशोधनवादी बाटो अपनाउँदा कम्युनिस्ट पार्टी भित्र विवाद भयो । विवाद उत्कर्षमा पुगेर फुट पनि भयो ।
ठूला भनिएका कम्युनिस्ट पार्टीहरू एक पनि भए । नेपाल कम्युनिस्ट पार्टी बनाई सरकारको नेतृत्व गरियो । त्यस दलले झन्डै दुईतिहाइ प्राप्त गरेको थियो । तर, त्यो सरकार वर्ष दिन नपुग्दै असफल भयो । त्यो पार्टी तीन टुक्रा भयो । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको यो हविगतलाई आधा मानेर अरू सबै कम्युनिस्टलाई त्यही दृष्टिले हेरे त्यो दृष्टिदोष हुनेछ । लेखक र राजनीतिक विश्लेषकहरूले ठूला दलको कमजोरी अर्को दललाई मानेर सबै दललाई उही आँखाले हेर्नु मनासिब हुँदैन । पार्टी स्थापनाकालदेखि कम्युनिस्ट सिद्धान्त र विचार बोकी लागिरहेको दलको स्मरण नगर्नु कतिपय लेखक र राजनीतिक विश्लेषकहरूको कमजोरी हो । सिद्धान्त र विचार ठीक बेठीक नहेरी ठूला दलको पछि लाग्नु र ठूला दलको कमजोरी सबै दलको अरु पनि सम्झनु ठीक होइन ।
राजनीतिक विश्लेषक र लेखकहरूले यथार्थ कुरा प्रकाशमा ल्याउनुपर्छ । साना दलहरूको सिद्धान्त र विचार ठीक भए पनि, सिद्धान्त र विचारअनुसार राजनीति गरिरहे पनि त्यसले देशमा केही गर्ने होइन, त्यस दलले निर्वाचनमा धेरै सीट जित्दैन भनी वास्तविकता छोप्ने काम विश्लेषक र लेखकहरूलाई सुहाउदैन । सहीको सही मूल्याङ्कन नहुँदा आज देशविरोधी र जनविरोधीहरूले देशमा दाइँ गरिरहेका छन् । कति लेखक र देशभक्त नागरिकले त ठूला दलका नेताहरूको पदमुखी राजनीति, भागबन्डा र देशघाती कदमको कारण नेका एमाले र माओवादी दललाई बाहेक अन्य दललाई अर्को निर्वाचनमा मतदान गर्न सामाजिक सञ्जालमार्फत आग्रह गर्न थालेका छन् ।
नेपाल मजदुर किसान पार्टी कम्युनिस्ट पार्टी भएरै २०४५ सालमा पञ्चायती शासकहरूले राज्यस्तरबाटै षड्यन्त्र गरेर नेमकिपालाई समूल नस्ट गर्ने योजना बनाएका थिए; सयौँ नेता कार्यकर्तालाई पक्राउ गरेका थिए । त्यही षड्यन्त्रको कारण पञ्चायती व्यवस्थाको बदनाम भयो र अन्ततः अन्त्य भयो । त्यसबेला जुलुस गर्न पाइँदैनथ्यो, कुनै नेताहरूको जन्मोत्सव पनि मनाउन पाइँदैनथ्यो । हरेक गतिविधि गोप्य हुन्थ्यो । कहीँ कतै जुलुस भए प्रहरी आइपुग्थ्यो र दमन हुन्थ्यो, कार्यकर्ताहरू पक्राउ पर्थे । त्यसबेला पञ्चायत समर्थक पत्रिका र सञ्चारकर्मीले राजा महाराजाको गुणगान गर्थे, गलत काम पनि छोप्थे । कति साहित्यकारहरूमा यस्तै प्रभाव परेको थियो । राजाको गुणगान गर्ने र प्रगतिशील साहित्य लेख्ने साहित्यहरू देखिए । यसरी हरेक क्षेत्र र पक्षमा वर्ग विभाजित भएको हामी पाउँछौँ । विश्लेषकहरूले बुझ्नुपर्छ, स्वतन्त्र शासकहरूले दिशा निर्देश गर्न सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *