भर्खरै :

छोराछोरी विदेसिंदा अन्त्येष्टिमा समेत ढिलाइ

छोराछोरी विदेसिंदा अन्त्येष्टिमा समेत ढिलाइ

मानिस मरणशील प्राणी हो । यो स्वाभाविक प्रक्रिया हो । आज मृत्युपछिको दाह संस्कार गर्न भने हप्ता दिनसम्म आफ्नो छोरा, छोरी आफन्तहरूलाई मृत लासले कुर्नुपर्ने बेला आएको छ । धेरै नेपालीहरू रोजगारीको सिलसिलामा विदेसिएका छन् भने कतिपय मानिसहरू अध्ययन गर्न भनी देश बाहिर जान्छन् । जे होस्, धेरै नेपालीहरू घर परिवारबाट टाढा रहेका छन् । विदेसिने नेपालीहरू दिनप्रतिदिन बढ्दो छ । जसको कारण सामान्य मानिसको लासदेखि ठूला भनाउँदा मानिसहरूको लासले अन्तिम दाहसंस्कारको निम्ति आफ्नो आफन्त कुर्नुपर्ने दिन आएको हो ।
पहिले गाउँघरमा रोजगारी र शिक्षाको अवसर नहुँदा मानिसहरू सहर, बजार झर्थे । आजभोलि विदेसिएका छन् । समय बितेसँगै आफ्नै ठाउँमा अवसर, सेवा सुविधा, विज्ञान प्रविधिको विकास हुन नसक्दा नागरिक विदेसिनु परेको हो । आजसम्म देशको नेतृत्व गरेका राजनीतिक दल र नेताहरूले यो विषयमा सोच्न सकेको छैन । धेरै नेता, मन्त्री र सरकारी ओहोदाका कर्मचारीका छोराछोरीहरू आज देश बाहिर छन् । आफ्नै देशलाई नै विज्ञान र प्रविधिमा अघि बढाउनुपर्छ, विकास गर्नुपर्छ भनेर यी नेताहरूमा कहिल्यै बुद्धि आएन । बरु देशमा भएको स्रोत, साधनको दोहोन गरेर विदेशमा लगेर कालो धन थुपार्ने थुप्रै नेताहरू भएको जनताको अभिमत छ ।
आज गाउँघरमा वृद्ध र स–साना बालबालिकाहरूमात्र धेरै भएको देख्छौँ, पाउछौँ । युवा पुस्ता नहुँदा अशक्त, बिरामी पर्दा बिरामी बोक्ने, अस्पतालसम्म लैजानको लागि पनि समस्या पर्न थालेका छन् । अशक्त अवस्थामा छोराछोरी आफन्तबाट टाढा हुनुपर्दाको पीडा भोग्नेलाई थाहा हुन्छ । विशेषतः नेपालका धेरै युवाहरू रोजगारीको सिलसिलामा विदेसिनु परेका छन् । रोजगारी अभावको कारण गाउँ, दक्ष युवा पुस्ता विदेसिँदा समाजमा कारुणिक मानवीय सङ्कटहरू समाजले खेप्नु परिरहेको छ । आजसम्मका सत्तासीन राजनैतिक पार्टी र नेताहरूका कारण देशले यो दुर्दशा भोग्नुपरेको हो । बेलैमा सबैमा चेत आउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *