भर्खरै :

घुमफिर केही मन्दिरको

घुमफिर केही मन्दिरको

अचेल थुप्रै मानिसहरू घुमफिर गर्ने क्रममा देशका विभिन्न धार्मिक स्थलहरूमा पनि भ्रमण गर्छन् । ती सबै धर्मकै लागि वा देव–देवीको दर्शनकै लागि जाने गर्दैनन् कतिपय ती स्थानको प्राकृतिक दृश्यावलोकन, त्यहाँका सम्पदा अवलोकन, देशको भौगोलिक, जनजीवनबारे प्रत्यक्ष अनुभवको लागि जाने गर्छन् । यसै मेसोमा पङ्क्तिकारले केही दिन पहिले केही धार्मिकस्थलको भ्रमण गर्ने अवसर पाएको थियो ।

डोलेश्वर महादेव
भक्तपुरको सूर्यविनायक नपामा पर्ने डोलेश्वरमा झन्डै चार दशक पहिले साथीहरूसँग चुनाव प्रचारको क्रममा त्यस स्थानमा पुगेको थिएँ । एउटा कुवा र एउटा शिलालाई ‘महादेव’ भनेको मधुरो सम्झना छ ।
पछिल्लो समय भारतको ‘केदारनाथको शिर डोलेश्वर महादेव’को निकै चर्चा भएको थियो । त्यहाँको योजनाको प्रारूपको आकर्षक रङ्गीन चित्र देखेको थिएँ । चार दशकअघिको मधुरो सम्झना र प्रारूपको आकर्षक चित्रबिच तुलना गर्ने ठाउँ कतै थिएन, आकाश–पातालको फरक थियो ।
भक्तपुर तौमढीको भैरवनाथलाई काशीको भैरवनाथको शिर भनेको धेरै सुनेको थिएँ, अहिले डोलेश्वर पनि भारतकै केदारनाथको शिर भनिएबाट भारतका देवताहरूको शिर नेपालमा बढ्न थालेको देखिन्छ ।
साउन २७ गते त्यहाँ पुग्दा प्रारूपको चित्रको जस्तो चित्ताकर्षक दृश्य नभए पनि मन्दिर, टहराहरू, ढोका आदि थुप्रै निर्माण भइसकेको रहेछ । मन्दिरको निर्माण सिमेन्ट र कङ्क्रिटले र टहराहरूमा फलामै फलामको प्रयोग हुँदा नेपाली वास्तुशैलीले स्थान नपाएको अनुभव भयो । भुइँमा ठाउँ–ठाउँमा पानी जम्दा भ्रमण गर्नेहरूले केही असुविधा अनुभव गर्ने नै भए । धार्मिक स्थल भएकोले दर्शन–पूजा गर्नेहरूको घुइँचो लाग्नु, भजन–कीर्तनको वातावरण स्वाभाविक लाग्यो । मन्दिर परिसर बाहिर ठूलै बजार बनिसकेको छ । चार दशकअघि खेतैखेतमात्र देखेजस्तो लाग्छ ।

केदारनाथको शिर डोलेश्वरको तस्बिर खिच्न निषेध गरिएको छ तर ढोकाबाट पस्नासाथ बडेमाको डोलेश्वरको तस्बिर टाङ्गिएको छ । यसबाट मन्दिरमा पस्न नचाहनेलाई पनि महादेवको आकृति हेर्न सुविधा भएको छ । तस्बिर खिच्न निषेध गरिनुका केही कारण होला, तर जहाँतहीँ निषेध सूचना टाँस्नु कताकता ‘फेसन’ जस्तो लाग्यो किनभने तस्बिर त व्यवस्थापकहरूले नै खिचेर सार्वजनिकरूपमा पहिल्यै प्रदर्शन गरिसकेको छ ।
भजनकै बिचबिचमा भक्तजनलाई माइकबाट विभिन्न सूचनाहरू पनि दिइरहेको थियो । त्यसै क्रममा साउने पुरुषोत्तम महिनाको २७ गते मध्यान्ह १२ बजेसम्म रु. ४४ लाख रकम जम्मा भएको जानकारी दिइयो ।
पशुपतिनाथ, मनकामनालगायतका भक्तजनको ओइरो लाग्ने देवस्थलको आम्दानी ‘अज्ञात’ भइरहेको बेला डोलेश्वरमा आम्दानी पारदर्शी गरिएको छ । आशा छ, खर्च पनि पारदर्शी हुनेछ ।
पङ्क्तिकारजस्ता आन्तरिक पर्यटकले भेटी, दक्षिणा केही नचढाए पनि धेरैले गच्छेअनुसार चढाउने नै गर्छन् । पुण्य कमाउन धर्म गर्न जानेहरूलाई देव–देवीले धनी र गरिब भनी पक्षपात गर्छ गर्दैन थाहा छैन तर मन्दिरका पुजारी, व्यवस्थापकहरूले पक्षपात गर्दो रहेछ भन्ने त्यहाँ राखिएको सूचना पाटीले अनुभव गरायो । मोटो रकमको चन्दा, भेटी, दक्षिणा चढाउन सक्नेले लाइन बस्न नपर्ने कुराले चढाउन नसक्नेलाई ठेलमठेल, घचेटाघचेटको सामना गर्न बाध्य पार्नु के धार्मिकस्थल, तीर्थस्थललाई सुहाउने कुरा हो ? यसले देव–देवी पनि धन भएकाप्रति बढी अनुग्रहित हुन्छ भन्ने अव्यक्त सन्देश दिएको छ ।
धेरै वर्ष पहिले एक मित्र आप्mना मातापिताको सहयोगी बनेर भारतको तीर्थयात्रामा जाँदा पनि यस्तै कुरा सुनाएको थियो । सयदेखि हजार भारुको टिकट लिनेहरूले देव–देवीको दर्शन बिनालाइन गर्न दिइँदो रहेछ ।
केदारनाथको शिर डोलेश्वर महादेवमा पनि मोटो रकम चढाउन सक्नेले दर्शन पूजा लाइनमा नबसी गर्न पाइने रहेछ ।

पञ्चमहालक्ष्मी मन्दिर
डोलेश्वरबाट आशापुरी जाने घरसल्लाह गरेर गएका थियौँ तर, वर्षात्को कारण हामी तेलकोटबाट नगरकोटको पञ्चमहालक्ष्मी मन्दिर गयौँ ।
नगरकोट जाने बाटोको तेलकोटबाट उत्तर जाँदा बाटो त्यति नराम्रो थिएन – वर्षात्मा पनि सजिलै पुग्यौँ । त्यहाँ पुग्दा पारि साँखुको बस्ती देखियो । प्राकृतिक दृश्य रमाइलो थियो तर मन्दिरहरूको वास्तु भने अनौठो लाग्यो ।
मन्दिरभन्दा आधुनिक भवन लाग्यो । मन्दिरका वास्तुशैली धेरै प्रकारका छन् । पञ्चमहालक्ष्मी मन्दिर कुनै दृष्टिले पनि नेपाली मन्दिर लागेन । सायद हाम्रा देव–देवीहरू पनि आधुनिक भएछन् र आधुनिक शैलीको भवनमा विराजमान हुन थालेका छन् । त्यस मन्दिर परिसरमा पार्कहरूलगायत निर्माण गरिएका छन् – प्राकृतिक सौन्दर्यमा मानवनिर्मित संरचनाले रमणीय बनाएको छ । त्यहाँ रु. १०० को टिकट काटेर हेर्न पाइने एउटा शीश महल र अन्य भौतिक संरचनाहरू बनाइएका छन् ।
पञ्चमहालक्ष्मी मन्दिरको मूल कक्ष बन्द थियो । हाम्रो टोलीका केही सदस्यले भ्mयालको ऐनाबाट भित्र चियाए । पारिको भित्तानिर मूर्तिहरू थिए, बाँकी रित्तो थियो ।
यहाँ पनि तस्बिर खिच्न निषेध रहेछ तर इन्टरनेटमा तस्बिर उपलब्ध रहेछ ।
त्यस दिन त्यहाँ भजन–कीर्तन गर्नेहरू देखिएनन् तर कुनै नेपाली गीतको भिडियो छायाङ्कन भइरहेको थियो ।
त्यस आधुनिक भवन–मन्दिरको दायाँ अलि माथिको एउटा अर्को मन्दिरले भने सबैको मथिंगल हल्लायो । भारतीय टीभी च्यानलहरूमा देखिने जस्तो उक्त मन्दिर पञ्चमहालक्ष्मीमा देख्दा यस मन्दिरका योजनाकार, निर्माता र व्यवस्थापक भारतीय होला भन्ने अनुमान ग¥यौँ । इन्टरनेटमा त्यस्तै आकृतिको मन्दिर दक्षिण भारतमा थुप्रै देखियो ।

नेपालको (बायाँ) र कर्णाटक, भारतको
यो नेपाल–भारतबीचको धार्मिक सहिष्णुता र भाइचारा हो कि भारतीय धर्मान्ध हिन्दुवादीहरूको धार्मिक विस्तार ? त्यो भने यकिन भएन ।
त्यहाँ एउटा गजबको सूचनापाटी देखेँ । सबैजसो देव–देवीस्थल वा मन्दिरमा जुत्ता फुकाल्न लगाइन्छ त्यो सामान्य लाग्यो तर छोटो लुगा लगाएर पञ्चमहालक्ष्मी मन्दिरमा प्रवेश नगर्न गरिएको अनुरोध आश्चर्य लाग्यो । लवाइको अनुशासन पालना गराउन खोज्नु भने अन्यथा होइन ।

आशापुरी महादेव
झन्डै छ दशकअघि पुगेको आशापुरीमा भदौ २ गते दोस्रोपल्ट घुम्न गइयो । यो महादेव पनि सूर्यविनायक नपा क्षेत्रमा पर्दछ । पहाडको साँघुरो उकालो–ओरालो बाटो हुँदै खोला किनारको आशापुरीको ‘लोकेसन’ रमाइलो छ । मन्दिर सानो छ, भक्तालुहरूको उपस्थिति सामान्य छ, पाटीहरूमा बाबाहरू बसेको देखिन्छ । चिया पसललगायत अन्य पसलहरू छन् ।
यहाँ पनि पुण्य कमाउन भेटी–दक्षिणा चढाउन सक्ने र नसक्ने हैसियत खोजिँदो रहेछ– सूचना पाटीले यही सङ्केत गर्छ ।
आशापुरीको तस्बिर खिच्न निषेध छ, तर मन्दिरको द्वारमै तस्बिर टाँसी राखेको छ ।
तस्बिर टाँसी राखेपछि फेरि खिच्न निषेध गर्नुको अर्थ सायद घुइँचोको बेला भद्रगोल हुन्छ भनेर हो कि ?

‘साधारण महादेव’
त्यही दिन साँगाको दीपेन्द्र प्रहरी स्कूल पछाडिको नयाँ महादेव मन्दिर जान हामी तयार भयौँ । यो महादेव पनि सूर्यविनायक नपा क्षेत्रमा पर्दछ ।
साँगाका एक परिचितले हामी महादेव मन्दिर जान लागेको भन्दा ‘धनी महादेव कि साधारण महादेव’ भनेर सोध्दा अक्कमक्क प¥यौँ । पछि उनैले स्पष्ट पारे– मारवाडी कमल जैनको महादेव धनी महादेव, हामी जान लागेको चाहिँ साधारण महादेव भन्ने त्यहाँका मानिसहरूमा धारणा बनेको रहेछ ।
अलिकति अप्ठ्यारो कच्ची बाटोबाट मन्दिर परिसर पुग्यौँ, अपराह्नको समय भएकोले कुनै भिड थिएन, भजन गर्ने एक समूह पनि सकाएर सामान बटुल्दै थियो ।
मन्दिरको द्वारमा लेखिएको नाम अलि नौलो लाग्यो– नटारम्भेश्वर महादेव ।
मन्दिर क्षेत्र खालि र सफा थियो, चारैतिर सुविधासाथ अवलोकन ग¥यौँ । मन्दिरको पश्चिम द्वारको दुई छेउमा नयाँ घण्टहरू राखिएका छन्, नियालेर हे¥यौँ– दाताहरूले चढाएको अक्षर कुँदिएका थिए । तर, मन्दिरको द्वारमा लेखिएको नाम र घण्टमा लेखिएको नाम फरक भेटियो । द्वारमा नटारम्भेश्वर महादेव लेखिएको छ भने एउटा घण्टमा ‘लप्टङ्गगेश्वर’ र अर्कोमा ‘लप्टङ्गश्वर’ लेखिएको छ । एउटै महादेवको तीन नाम हो वा गल्ती हो थाहा भएन । त्यस्तै इन्टरनेमा नटारम्भेश्वर, लप्टङ्गेश्वर र लप्टङ्गश्वर खोज्दा ‘लटारम्बेश्वर’ देखाउँछ ।

घण्टमा अङ्कित ‘लप्टङ्गगेश्वर’ (बायाँ) र ‘लप्टङ्गश्वर’
यो महादेव नयाँ अर्थात् ‘साधारण’ भएर हो कि यहाँ भेटी–दक्षिणा र लाइन बस्नु पर्ने–नपर्ने कुनै सूचना देखिएन ।
अग्लो ठाउँमा भएकोले टाढाका ठाउँहरू हेर्न पायक थियो, शान्त थियो, रमणीय नै लाग्यो ।
(चित्र : इनटरनेटबाट पनि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *