भर्खरै :

समाचार नबनेको समाचार ! (‘जमिनमुनिका जराहरू’ मा सलाम !)

समाचार नबनेको समाचार ! (‘जमिनमुनिका जराहरू’ मा सलाम !)

दशमी दसैँको महत्वपूर्ण दिन । चारैतिर दसैँ पर्वको उल्लास छाएको छ । बाजागाजाको आवाजले वातावरणमा रौनक थप्दै छ । जमरा, टीकाले मानिसको मुखाकृतिमा चमक बढाएको अनुभूत हुन्छ । मानिसको आवत–जावत बढ्दो छ ।
मानिस केही भुल्ने र केही भुलाउने चेष्टा गर्दै छन् भन्ने कता कता आभास पनि मिल्छ ।
मङ्गलबार अर्थात् धेरैका निम्ति ‘श्रमिक’ बार ! हरेक मङ्गलबार प्रकाशित हुन्छ, ‘श्रमिक’ साप्ताहिक । ‘मजदुर’ दैनिक हरेक दिन प्रकाशित हुने विज्ञ पाठकमा जानकारी नै छ । नेपालमा प्रकाशित हुने यी दुई नै मात्र यस्ता पत्रिका हुन् जुन दसैँ, तिहार या अन्य कुनै पनि पर्वमा बन्द हुँदैनन् । यो एक या दुई वर्षको कुरा निश्चय पनि होइन । ३ दशकदेखि यो कर्तव्यमा दुईवटै पत्रिका अडिग छन् ।
पाठकहरूको सुसूचित हुने अधिकारको सम्मान तथा रक्षा गर्दै ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले चाडपर्वमा समेत नेपाली जनतालाई शिक्षित बनाउने जुन कार्य निरन्तर गर्दै छ, त्यसको इतिहासले एक दिन अवश्य सही मूल्याङ्कन गर्नेछ ।
निरन्तरताको रेकर्ड यी दुई पत्रिकाले कायम राखेका छन् । यो विशिष्ट परिचयबारे प्रेस काउन्सिल, अन्य सञ्चारमाध्यम चर्चा गर्न आवश्यक नै ठान्दैनन्, प्रशंसाको त परको कुरा ! यस्तै प्रकृतिको कुनै एउटा काम अन्य कसैले गर्दो हो त संसारले सुन्ने गरी झ्याली पिटिसक्ने थियो र पुरस्कारको वर्षा भइसक्ने थियो । सञ्चार जगतमा फासीवादी चरित्रको यो एक प्रमाण हो ।
देशका ‘ठूलठूला’ पत्रिका केही दिनदेखि बन्द छन् । त्यसरी बन्द गर्नुलाई ती स्वाभाविक मान्दछन् । बहादुरी या अधिकार नै ठान्दछन् । त्यसको ती कुनै लेखाजोखा नै गर्दैनन् । जनतालाई निरन्तर सुसूचित गर्ने दायित्वप्रति ती मतलब राख्दैनन् । पत्रिका केही दिन बन्द गर्दा ती प्रायश्चित गर्दैनन् । कमजोरीका रूपमा लिन ती तयार छैनन् । यो तिनको अहङ्कार हो । यो तिनको स्वेच्छारिता हो ।
यही सेरोफेरोमा कुनै अप्रिय घटना घटेमा देशले के बर्बादी भोग्ने होला ! कुनै विदेशी या देशभित्रकै गलत तत्वबाट केही भइहालेको खण्डमा कस्तो परिस्थिति तयार हुने होला ! सरकारबाटै कुनै गलत हुन गए के हुने होला ! सोच्दा मात्र पनि जिउ सिरिङ्ग हुन्छ । यही समयावधिमा शासकहरूबाट विभिन्न राजनीतिक कदमसमेत चालिएको इतिहास साक्षी छ ।
समाचार पत्रिकाहरू बन्द हुँदा यदि कुनै समाचार पत्रिका प्रकाशित हुन्छ भने त्यो आफैँमा ठूलो खबर हो । यस अर्थमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकप्रति हार्दिक आभार ।
दुवै पत्रिकाका परिचित–अपरिचित मित्रहरूलाई दशमीको विशेष शुभकामना ! हार्दिक नमन ! ‘जमिनमुनिका जराहरू’ मा सलाम तथा अटुट साधनाका निम्ति बधाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *