भर्खरै :

दुईदिने नेपालभाषा साहित्य तः मुंज्या आजदेखि सुरु

दुईदिने नेपालभाषा साहित्य तः मुंज्या आजदेखि सुरु

भक्तपुर, ८ कार्तिक । भाषा र जनपक्षीय साहित्यको विकास र विस्तार गर्न, जनताका साहित्यकार तयार गर्न र प्रगतिशील जनपक्षीय साहित्यबाट जनतालाई सुसूचित गर्ने उद्देश्यले नेपालभाषा साहित्य तः मुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम प्रत्येक वर्ष हुँदै आएको हो । यस वर्षको ४३ औँ नेपालभाषा साहित्य तः मुंज्या ‘जनता म्वाःसा भाषा म्वाई’ भन्ने उद्घोषका साथ भनपा वडा नं ५ स्थित ल्यसिंख्यः मा आज बिहीबारदेखि सुरु हुँदै छ । नेपाल संवत् ११४३ कौलाथ्व द्वादशी र त्रयोदशी (कार्तिक ९ र १० गते ) हुने उक्त मुंज्या नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को समुपस्थितिमा हुने आयोजकले जनाएको छ ।
नेपाल संवत् ११०० देखि निरन्तर चल्दै आएको यो तः मुंज्या जनतामाझ स्थापित मञ्च हो । प्रत्यक्ष या अप्रत्यक्षरूपमा यस मञ्चबाट धेरै कलाकार र साहित्यकार तयार भएका छन् । जनताले जनताको निम्ति बहुआयामिक दबुको रूपमा उपयोग भइरहेको नेपालभाषा साहित्य तः मुंज्या तथा सांस्कृतिक कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ । बेलुका ७ बजेदेखि सांस्कृतिक कार्यक्रम हुनेछ । उक्त सम्मेलन सफल पार्न आयोजक समितिले विगतमा झैँ आर्थिक, नैतिक तथा भौतिक सहयोगको निम्ति अपिल वितरण गरिसकेको छ । सम्मेलन प्रचारार्थ गएको असोज २७ गते उपत्यकाका विभिन्न स्थानमा साइकल ¥याली गरिएको थियो । त्यस्तै सम्मेलनलाई व्यवस्थित बनाउन यसअघि नै आर्थिक समिति, प्रचार समिति, अतिथि सत्कार समिति, स्वयंसेवक समिति, स्वास्थ्य समिति, कार्यस्थल व्यवस्थापन समिति, सुकुन्दा ¥याली व्यवस्थापन समितिजस्ता विभिन्न समितिहरू गठन भएको थियो ।
आयोजकबाट प्राप्त जानकारीअनुसार तीन दर्जनभन्दा बढी अतिथिहरूलाई आमन्त्रण गरिएको छ । आमन्त्रित अतिथिहरूमा प्रधानन्यायाधीश, न्यायाधीश, कानुनविद्, संविधानविद्, सीमाविद्, इन्जिनियर, बुद्धिजीवी, वरिष्ठ साहित्यकार तथा पत्रकार आदि रहनुभएको छ ।
नयाँ पुराना साहित्यकारहरूको कविता, कथा, निबन्ध वाचन हुने यो सम्मेलनमा स्थानीय सांस्कृतिक गुरुहरू समाजसेवी, प्रगतिशील गायक, कार्टुनिस्ट, शिक्षासेवीहरूको पनि सम्मान हुने बुझिएको छ ।
साहित्य तः मुंज्यामा कविता, कथा र निबन्ध गरी तीन दर्जनभन्दा बढी साहित्य दर्ता भएका छन् । तः मुंज्यामा गीत, नृत्य, ख्याल र नाटक पनि देखाइनेछ ।
आयोजक समितिले जनाएअनुसार तः मुंज्याको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन सफल पार्न सबैलाई उपस्थितिको लागि अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *