भर्खरै :

राजस्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर

राजस्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, २० कार्तिक । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व दुरूपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।
आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध रु. दुई करोड नौ लाख ३१ हजार छ सय ४७ बिगो दाबी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध रु. एक करोड ४९ लाख ६९ हजार एक सय ४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगानाविरुद्ध रु. ३५ लाख ४५ हजार नौ सय ५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्यालविरुद्ध रु. १६ लाख ८१ हजार छ सय बराबरको बिगो र कैदको माग दाबी गरेको छ ।
यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध रु. दुई लाख ४४ हजार चार सय ६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध रु. एक करोड ४१ लाख ४७ एक सय ७१, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध रु. पाँच करोड ५५ लाख १९ हजार नौ सय ७५ बराबरको बिगो र कैद दाबी गरिएको आयोगले जनाएको छ । आरोपी सबैलाई कारबाहीको माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *